आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शाहरुखमाथि अभिजीतको प्रहार : उनको अहङ्कारले सम्बन्ध बिग्रियो, आउने पुस्ताले उनलाई भुल्नेछन्

शनिबार, १९ वैशाख २०८३, १३ : ४३
शनिबार, १९ वैशाख २०८३

सारांश

  • गायक अभिजीत भट्टाचार्यले शाहरुख खानमाथि अहङ्कार र स्वाभिमानका कारण सम्बन्ध बिग्रिएको आरोप लगाएका छन्।
  • अभिजीतले शाहरुखले आफूलाई कहिल्यै सम्मान नदिएको र माफी नमागेको गुनासो गरेका छन्।
  • उनले शाहरुखको फिल्म 'मै हुँ ना' बाट सुरु भएको विवादको जड गायकलाई उचित सम्मान नदिनु रहेको बताए।

मुम्बई । बलिउडका चर्चित गायक अभिजीत भट्टाचार्यले फेरि एकपटक सुपरस्टार शाहरुख खानमाथि निशाना साँधेका छन्। हालै एउटा पडकास्टमा कुराकानी गर्दै अभिजीतले आफू र शाहरुखबिच आएको दुरीको मुख्य कारण शाहरुखको अहङ्कार र आफ्नो स्वाभिमान भएको बताएका हुन्। 

उनले शाहरुखसँगको बिग्रिएको सम्बन्धबारे खुलेर कुरा गर्दै आजसम्म शाहरुखले आफूसँग एकपटक पनि माफी नमागेको गुनासो गरे। पडकास्टमा निधि वासंदानीसँगको कुराकानीका क्रममा अभिजीतले शाहरुख आफूभन्दा उमेरमा सानो भए पनि कहिल्यै सम्मान नदेखाएको आरोप लगाए। 

उनले भने, ‘फराह खानका श्रीमानले गाली गर्दा पनि शाहरुखले उनलाई अँगालो हाले। आमिर खानले त आफ्नो कुकुरको नाम नै शाहरुख राखेका थिए, तैपनि पछि उनीहरू साथी बने। तर मलाई दुःख यस कुरामा छ कि, उनी यति ठुलो मान्छे भएर पनि मलाई एकपटक पनि सरी भनेनन्।’

अभिजीतले सुपरस्टारहरूको तुलना गायकहरूसँग गर्दै आउने पुस्ताले कलाकारलाई नभई गायकलाई मात्र याद राख्ने दाबी गरे। उनले राजेश खन्नाको उदाहरण दिँदै आजका मानिसहरूलाई राजेश खन्ना को थिए भन्ने पनि थाहा नभएको तर उनी आफ्नो समयका निकै ठुला सुपरस्टार रहेको स्मरण गराए। 

मानिसहरू किशोर कुमार र मोहम्मद रफीका गीत सुन्छन्, तर ती गीत राजेश खन्नामाथि छायाङ्कन गरिएका थिए भन्ने उनीहरूलाई थाहै नहुने उनको तर्क छ। यही कुरा शाहरुखको हकमा पनि लागु हुने र आउने पुस्ताले ती चर्चित गीतहरू शाहरुखका हुन् भनेर नचिनि केवल गायकलाई मात्र याद गर्ने अभिजीतले दाबी गरे।

शाहरुख र अभिजीतबीचको विवादको जड सन् २००४ मा रिलिज भएको फिल्म ‘मै हुँ ना’ बाट सुरु भएको हो। उक्त फिल्मको अन्त्यमा देखाइने क्रेडिट्समा गायकहरूलाई उचित सम्मान नदिइएको भन्दै अभिजीतलाई निकै ठेस पुगेको थियो। 

शाहरुखलाई एक विशुद्ध व्यापारिक मान्छेको संज्ञा दिँदै अभिजीतले उनी आफ्नो सफलताको बाटोमा जो कसैलाई पनि हटाउन सक्ने र मानिसहरूको प्रयोग मात्र गर्ने आरोप लगाए। आफूले इगोका कारण नभई आत्मसम्मानमा गहिरो चोट पुगेका कारण शाहरुखका लागि गीत गाउन छाडेको उनले स्पष्ट पारे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप