सुदूरपश्चिमलाई हराउँदै दोस्रो राष्ट्रिय बेसबल फाइभको उपाधि बागमतीलाई
सारांश
- दोस्रो राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपको उपाधि बागमती प्रदेशले जितेको छ।
- रोमाञ्चक फाइनलमा बागमतीले सुदूरपश्चिमलाई १४-८ स्कोरले पराजित गर्यो।
- बागमतीका दीपेश माझी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए।
काठमाडौँ । राजधानीमा सम्पन्न दोस्रो राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपको उपाधि बागमती प्रदेशले जितेको छ। आइतबार भएको रोमाञ्चक फाइनल भिडन्तमा सुदूरपश्चिम प्रदेशलाई १४–८ को फराकिलो स्कोरले पन्छाउँदै बागमतीले स्वर्ण पदकमाथि कब्जा जमाएको हो।
प्रतियोगितामा सुदूरपश्चिम उपविजेतामा सीमित हुँदा लुम्बिनी प्रदेशले तेस्रो स्थान सुरक्षित गर्यो। उपाधिसँगै बागमतीले नगद ३० हजार रुपैयाँ र ट्रफी हात पारेको छ। त्यस्तै दोस्रो हुने सुदूरपश्चिमले २० हजार र तेस्रो स्थानको लुम्बिनीले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। चौथो भएको कोशी प्रदेशले १० हजार रुपैयाँ सान्त्वना पुरस्कार पायो, जुन पुरस्कार संघकी सदस्य सुनिता थापाले व्यक्तिगत रूपमा प्रायोजन गरेकी थिइन्।
बागमती प्रदेशलाई च्याम्पियन बनाउन निर्णायक भूमिका खेलेका दीपेश माझी प्रतियोगिताको 'उत्कृष्ट खेलाडी' घोषित भए। उनले खेल अवधिभर सन्तुलित र आक्रामक प्रदर्शन गर्दै सबैको ध्यान खिचेका थिए।
नेपाल बेसबल तथा सफ्टबल सङ्घका उपाध्यक्ष एवं आयोजक कमिटीका संयोजक सुरेन्द्र थपलियाका अनुसार यसपटकको च्याम्पियनसिपमा सात प्रदेश र एक विश्वविद्यालय गरी कुल ८ टोलीले प्रतिस्पर्धा गरेका थिए।
विजेता टोली तथा खेलाडीहरूलाई नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठले पुरस्कार वितरण गरे। कार्यक्रममा नेपाल बास्केटबल सङ्घका अध्यक्ष भीमसिंह गुरुङ र बेसबल सफ्टबल सङ्घका अध्यक्ष दीपक न्यौपाने लगायतको उपस्थिति थियो।
खेल अवलोकनका लागि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिवालय प्रमुख निसन महर्जनसहितका विशिष्ट व्यक्तिहरू मैदान पुगेर खेलाडीहरूको हौसला बढाएका थिए।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण