इन्टर मिलानलाई २१ औँ पटक सिरी-एको उपाधि
सारांश
- इन्टर मिलानले पार्मालाई २-० ले हराउँदै २१ औँ पटक इटालियन सिरी-ए को उपाधि जितेको छ।
- मार्क्स थुराम र हेन्रिख म्खितार्यानले गरेको गोल मद्दतले इन्टरले लिग सकिन तीन खेल बाँकी छँदै च्याम्पियन बनेको हो।
- यो जित इन्टरका प्रशिक्षक क्रिस्टियन चिभुका लागि खेलाडीका रूपमा तीन पटक सिरी-ए जितेपछि प्रशिक्षकको रूपमा पहिलो ठुलो ट्रफी हो।
मिलान । इन्टर मिलानले पार्मामाथि २-० को सानदार जित निकाल्दै २१ औँ पटक इटालियन सिरी-ए को उपाधि (स्कुडेटो) जितेको छ।
घरेलु मैदान सान सिरोमा भएको खेलमा मार्कस थुराम र हेन्रिख म्खितार्यानको गोलको मद्दतले इन्टरले लिग सकिन तीन खेल बाँकी छँदै च्याम्पियन बन्ने सफलता प्राप्त गरेको हो।
सन् २०२४ मा अन्तिम पटक उपाधि जितेको इन्टरले यो जितसँगै साविक विजेता नापोलीभन्दा १२ अङ्कको स्पष्ट अग्रता कायम गरेको छ। खेलको पहिलो हाफको इन्जुरी समयमा मार्कस थुरामले उत्कृष्ट गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए। उनले पार्माका गोलकिपर जायोन सुजुकीलाई जिल्लाउँदै बललाई जाली चुमाएका थिए।

दोस्रो गोलका लागि भने इन्टरले ८० औँ मिनेटसम्म कुर्नुपर्यो। वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका लाउटारो मार्टिनेजको पासमा ३७ वर्षीय अनुभवी खेलाडी म्खीतार्यानले गोल गर्दै टोलीको जित र उपाधि पक्का गरे।
यो जित इन्टरका प्रशिक्षक क्रिस्टियन चिभुका लागि विशेष रह्यो। खेलाडीका रूपमा इन्टरबाट तीन पटक सिरी-ए जितेका चिभुले प्रशिक्षकको रूपमा आफ्नो पहिलो ठुलो ट्रफी उचालेका छन्।
खेलअघि नै उनले उपाधिको होड जतिसक्दो चाँडो टुङ्ग्याउन चाहेको बताएका थिए। खेल अवधिभर ५९ प्रतिशत बल पोजेसन राखेको इन्टरले पाहुना टोली पार्मालाई एउटै पनि सट अन टारगेट प्रहार गर्ने मौका दिएन।
यस सिजन ३५ खेलमध्ये २६ मा जित निकालेको इन्टरले पछिल्ला ६ खेलमा मात्र १९ गोल गर्दै आफ्नो आक्रामक लय प्रमाणित गरेको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण