आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

जसप्रित बुमराहको खराब फर्म, विश्राम दिन सुझाव

मङ्गलबार, २२ वैशाख २०८३, १४ : ४०
मङ्गलबार, २२ वैशाख २०८३

सारांश

  • आईपीएल २०२६ मा जसप्रित बुमराहको कमजोर प्रदर्शन, विकेट लिन नसकेको र बलिङको गति खस्किएको छ।
  • पूर्व क्रिकेटर सञ्जय बांगर र वेदा कृष्णामूर्तिले बुमराहलाई विश्राम दिन सुझाव दिएका छन्।
  • बांगरका अनुसार मुम्बई इन्डियन्सले बुमराहको सही प्रयोग गरिरहेको छैन।

मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा मुम्बई इन्डियन्सका प्रमुख तीव्र गतिका बलर जसप्रित बुमराह लगातार चर्चाको केन्द्रमा छन्। तर, यो चर्चा उनको घातक बलिङका लागि नभई विकेट लिन नसकेको, बलिङको गति खस्किएको र मुम्बई इन्डियन्सले उनको सही प्रयोग गर्न नसकेको विषयमा केन्द्रित छ। 

सोमबार राति वांखेडे स्टेडियममा लखनउ सुपर जाइन्ट्सविरुद्धको खेलमा पनि बुमराह विकेटविहीन रहे। चालू सिजनमा बुमराह विकेटविहीन बनेको यो सातौँ खेल हो, जहाँ उनले ४५ रन खर्चिए। बुमराहको यो कमजोर प्रदर्शनपछि पूर्व क्रिकेटर सञ्जय बांगर र भारतीय महिला टोलीकी खेलाडी वेदा कृष्णामूर्तिले मुम्बईको टोली व्यवस्थापनलाई बुमराहसँग कुरा गरेर विश्राम दिनेबारे सोच्न सुझाव दिएका छन्।

वेदा कृष्णामूर्तीले ईएसपीएन क्रिकइन्फोको ‘टाइमआउट’ शोमा बोल्दै टोली व्यवस्थापन, प्रशिक्षक वा कप्तानले बुमराहसँग इमानदार कुराकानी गर्नुपर्ने बताएकी छिन्। टोलीका उपकप्तान सूर्यकुमार यादव र सिनियर खेलाडी रोहित शर्मा बुमराहको निकै नजिक भएकाले उनीहरूले बुमराहलाई ‘के तिमी भित्रैदेखि शतप्रतिशत फिट महसुस गरिरहेका छौ’ वा ‘एक–दुई खेलका लागि विश्राम लिन चाहन्छौँ’ भनेर सोध्नुपर्ने वेदाको भनाइ छ। 

यस्तो संवादले बुमराहलाई मानसिक रूपमा ढुक्क बनाउने र उनले विश्राम अस्वीकार गरेमा मैदानमा अझ बढी बलियो भएर कमब्याक गर्ने प्रयास गर्ने दाबी उनले गरिन्।

चालू सिजनमा बुमराहको खस्कँदो लयसँगै मुम्बई इन्डियन्सको प्रदर्शन पनि निकै निराशाजनक रहेको छ। मुम्बई १० खेलमा मात्र ३ जित निकाल्दै अंक तालिकाको नवौँ स्थानमा छ। पूर्वप्रशिक्षक सञ्जय बांगरले यदि मुम्बई इन्डियन्स अंक तालिकाको पुछारमा रहेर सिजन अन्त्य गर्न तयार छ भने बुमराहलाई बाँकी खेलहरूमा विश्राम दिनु नै उपयुक्त हुने धारणा राखेका छन्।

सोमबारको खेलमा लखनउविरुद्ध मुम्बईले बलिङ रोजेपछि बुमराह दोस्रो ओभर बलिङ गर्न आएका थिए। उक्त ओभरमा उनले १० रन दिएका थिए। तर, चौथो ओभर भने उनका लागि निकै खराब रह्यो। मिचेल मार्सले उनको बलमा लामो छक्का प्रहार गरे भने बुमराहले लगातार वाइड र नो–बल फालेका थिए। आठ बलको उक्त ओभरमा उनले २१ रन खर्चिए।

यद्यपि, सुरुवाती प्रहार ब्यहोरे पनि उनले डेथ ओभरमा उत्कृष्ट पुनरागमन गरे। १४ औँ ओभरमा ९ बल फालेर ७ रन मात्र दिएका बुमराहले एडन मार्करम र हिम्मत सिंहलाई निकै दबाबमा राखेका थिए। सोही ओभरमा उनको नो–बलका कारण हिम्मत सिंह क्याच आउट हुनबाट जोगिएका थिए। १९ औँ ओभरमा पनि बुमराहले सटिक योर्कर र स्लोअर बल फाल्दै ७ रन मात्र खर्चिए।

बुमराहको पुनरागमनलाई तारिफ गर्दै वेदाले सुरुवाती ओभरमा रन ब्यहोरे पनि अन्तिमका दुई ओभरमा उनले गरेको बलिङले आत्मविश्वास बढाउने उल्लेख गरिन्। यता सञ्जय बांगरले भने बुमराहले निकै कडा मिहिनेत गरिरहेको तर उनको गति औसत १३४ किलोमिटर प्रतिघण्टामा झरेको औंल्याएका छन्। 

बांगरका अनुसार मुम्बईले बुमराहको उपयोग सही तरिकाले गरिरहेको छैन। आफ्नो उत्कृष्ट बलरलाई पावरप्लेको पहिलो र तेस्रो ओभरमा प्रयोग गर्नुपर्नेमा दोस्रो र चौथो ओभरमा बलिङ गराउनु गलत रणनीति भएको विश्लेषण बांगरको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप