पोर्चुगलको जम्बुजिरामा दूतावासको घुम्ती शिविर: १ सय ७६ नेपाली लाभान्वित
सारांश
- पोर्चुगलको जम्बुजिरामा सञ्चालित राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी घुम्ती सेवा शिविरबाट १ सय ७६ जना नेपाली लाभान्वित भएका छन् ।
- शिविरबाट १ सय १४ जनाको विद्युतीय राहदानी आवेदन सङ्कलन गरिएको र १६ हजार ९६० युरो राजस्व सङ्कलन भएको छ ।
- राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणका लागि टाढा–टाढाबाट दूतावास धाउन नपरोस् भन्ने उद्देश्यले घुम्ती शिविर सञ्चालन गरिएको थियो ।
लिस्बन । पोर्चुगलको ओदिमिरास्थित जम्बुजिरामा सञ्चालित राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी घुम्ती सेवा शिविर सम्पन्न भएको छ ।
लिस्बनस्थित नेपाली दूतावासले हालै सञ्चालन गरेको घुम्ती शिविरबाट सो क्षेत्रका एक सय ७६ जना सेवाग्राही नेपाली लाभान्वित भएका छन् । घुम्ती शिविरबाट १ सय १४ जना नेपालीको विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गरिएको दूतावासले जनाएको छ । तीमध्ये एक सय आठ जनाको नवीकरण, दुई जनाको हराएको र चार जना बालबालिकाको विद्युतीय राहदानीका लागि आवेदन प्राप्त भएका हो ।
शिविरबाट १६ जनाको प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) र ३६ जनाको अन्य कागजात प्रमाणीकरण, एक सय १४ जनाको राहदानी आवेदन, १० जनाको राहदानी वितरणलगायत अन्य सेवा गरी कुल एक सय ७६ नेपालीले सेवा लिएको दूतावासका प्रथम सचिव रामबाबु नेपालले जानकारी दिए । शिविरबाट १६ हजार ९६० युरो अर्थात् झन्डै ३० लाख रुपैयाँ राजस्व सङ्कलन भएको उनले बताए । राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणका लागि टाढा–टाढाबाट दूतावास धाउन नपरोस् भन्ने उद्देश्यका साथ नेपालीहरूको सहजताका लागि सोही स्थानमा घुम्ती शिविर सञ्चालन गरिएको दूतावासले जनाएको छ ।
शिविरमा राहदानीको म्याद सकिएका, राहदानीको म्याद एक वर्षभन्दा कम भएका, क्षति भएका, हराएका र बालबालिकाको विद्युतीय राहदानीका लागि आवेदन सङ्कलन गरिएको थियो । यस्तै, तयार भएर आएका राहदानी वितरण, प्रहरी रिपोर्ट र अन्य कागजात प्रमाणीकरणलगायत ‘कन्सुलर’ सेवा प्रदान गरिएको थियो ।
यसअघि दूतावासले पोर्चुगलको फारो, मदेइरा र पोर्तोमा घुम्ती शिविर सञ्चालन गरेर त्यहाँ रहेका नेपालीलाई सेवा प्रदान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
-
जब म चुँडिएँ...
-
भारी वर्षा र पहिरोको जोखिम : इलाममा बेलुका ८ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक
-
कम्बोडियामा रहेका नेपालीका लागि राहदानी नवीकरण शिविर सञ्चालन हुँदै
-
नर्वेमा नेपालगन्ज म्याराथनलाई प्रतिष्ठित ‘एम्स सोसल अवार्ड २०२६’ प्रदान
-
मुस्ताङमा चक्रपथ निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण