रूखले सहरी क्षेत्रको तातोपन आधा घटाउँछ, तर चाहिएको ठाउँमा होइन
सारांश
- रूखहरूले विश्वका सहरहरूको औसत तापक्रम शून्य दशमलव १५ डिग्री सेल्सियसले घटाउँछ, जुन सहरी ताप द्वीप प्रभावको लगभग आधा हो ।
- धनी सहरहरूमा रूखको घनत्व बढी हुँदा तापक्रममा उल्लेखनीय कमी आएको छ, तर गरिब सहरहरूमा रूखको कमीले मानिसहरूले प्राकृतिक शीतलता पाउन सकेका छैनन् ।
- रूख रोप्नु जलवायु परिवर्तनको असर कम गर्न महत्त्वपूर्ण भए पनि यो पर्याप्त नभएको र नवीकरणीय ऊर्जाजस्ता दीर्घकालीन समाधान आवश्यक रहेको अध्ययनले औंल्याएको छ ।
काठमाडौँ । विश्वका सहरहरूमा बढ्दो तापक्रम नियन्त्रण गर्न रूखहरूले महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् । तर रूखले सबै ठाउँमा समान रूपमा प्राकृतिक शितलता दिई नरहेको नयाँ वैज्ञानिक अध्ययनले देखाएको छ ।
विश्व्यापी तापमान वृद्धिको चपेटामा विशेषगरी गरिब सहरहरूमा आइरहेको अवस्थामा रूखले तातोलाई पर्याप्त शितल बनाउन नसकेको पाइएको हो ।
बुधबार नेचर कम्युनिकेसन्समा प्रकाशित अध्ययनका अनुसार विश्वका करिब ९ हजार ठुला सहरहरूको अवस्था विश्लेषणका क्रममा रूखहरूले औसतमा सहरको तापक्रम शून्य दशमलव १५ डिग्री सेल्सियसले घटाउने देखिएको छ । यो 'सहरी ताप द्वीप प्रभा'को लगभग आधा हिस्सा हो, जुन सडक, भवन र कङ्क्रिट सतहहरूले गर्मी सोस्दा उत्पन्न हुन्छ । रूखहरूको प्रभाव सबै सहरमा समान नभएको पनि तर अध्ययनले स्पष्ट रूपमा भनेको छ । जहाँ हरियाली बढी छ, त्यहाँ मानिसहरूले स्पष्ट राहत पाउँछन्, तर रूख न्यून भएको ठाउँमा यसको प्रभाव लगभग नगण्य छ ।
अध्ययनका प्रमुख वैज्ञानिक रोब म्याकडोनाल्डका अनुसार धनी र गरिब सहरबिच ठुलो असमानता देखिएको छ । उनले भने, 'धेरजसोै विकासोन्मुख देशका सहरहरूमा रूखको घनत्व अत्यन्त कम छ, जसले गर्दा तापक्रम घटाउने क्षमता पनि कमजोर छ ।'
सेनेगलको डकार, साउदी अरबको जेद्दाह, कुवेत सिटी र जोर्डनको अमानजस्ता सहरहरूमा लाखौँ मानिस बस्ने तर रूखको कमीका कारण उनीहरूले लगभग कुनै प्राकृतिक शीतलता पाएनन् । अध्ययनका अनुसार ठुला २० सहरमध्ये कतिपयमा रूखबाट हुने ताप घटाउने प्रभाव शून्य दशमलव शून्य ५ डिग्री सेल्सियससभन्दा पनि कम छ, जुन लगभग महसुस गर्नै नसकिने स्तर हो ।
यसको विपरीत, धनी देशका सहरहरूमा रूखको घना उपस्थितिले उल्लेखनीय राहत दिएको देखिएको छ । जर्मनीको राजधानी बर्लिनजस्ता सहरहरूमा हरियाली उच्च भएकाले तापक्रम उल्लेखनीय रूपमा घट्ने गरेको छ । त्यस्तै एट्लान्टामा करिब ६४ प्रतिशत भूभाग रूखले ढाकिएको अध्ययनले देखाएको छ, जसले सहरलाई तुलनात्मक रूपमा चिसो राख्न मद्दत गर्छ । सियाटल र सिड्नीजस्ता सहरहरू पनि यस सूचीमा पर्छन्, जहाँ हरियालीले गर्मीको असर कम गर्न ठुलो योगदान दिएको छ ।
वैज्ञानिकहरूका अनुसार सहरी ताप द्वीप प्रभाव भनेको सहरका कङ्क्रिट संरचना, कालो सडक र भवनहरूले सूर्यको ताप सोसेर वरिपरिका ग्रामीण क्षेत्रभन्दा सहरलाई बढी तातो बनाउने प्रक्रिया हो । छाया दिने र पातबाट पानी वाष्पीकरण गर्ने भएकाले रूखहरूले यो प्रभाव कम गर्न मद्दत गर्छन् ।
अध्ययनमा मौसम स्टेसन, उपग्रह डेटा र कम्प्युटर मोडेल प्रयोग गरेर सहर–सहरका सूक्ष्म तापक्रम भिन्नता मापन गरिएको थियो, जसले पहिलेभन्दा बढी विस्तृत नतिजा दिएको वैज्ञानिकहरू बताउँछन् ।
'रूख रोप्दैमा जलवायु परिवर्तनको असरबाट बचिन्न'
अध्ययनले रूख रोपाइँलाई समाधानको महत्त्वपूर्ण भाग भने पनि सीमित मात्र प्रभावकारी हुने स्पष्ट पारेको छ । अनुसन्धानकर्ताका अनुसार भविष्यमा सहरी तापक्रम वृद्धि कम गर्न अधिकतम २० प्रतिशतसम्म मात्र रूखले योगदान दिन सक्छ । 'जलवायु परिवर्तनको असर कम गर्न सहरी हरियाली महत्त्वपूर्ण छ, तर यो पर्याप्त होइन । बढ्दो तापक्रम सामना गर्न विश्वव्यापी स्तरमा तयारी आवश्यक छ,' साउदी अरेबियाको किङ अब्दुल्लाह विज्ञान तथा प्रविधि विश्वविद्यालयका पर्यावरणविद् थोमस क्रोथरले भने ।
त्यस्तै, मिसिगन विश्वविद्यालयका वातावरण डीन जोनाथन ओभरपेकका अनुसार दीर्घकालीन समाधान भनेको जीवाश्म इन्धन घटाएर नवीकरणीय ऊर्जा र ब्याट्री भण्डारण प्रणालीतर्फ सर्नु हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण