सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

गण्डकीका प्रमुख सचिव घिमिरेलाई पनि पोखरा विमानस्थल भ्रष्टाचारमा मुद्दा

बिहीबार, २४ वैशाख २०८३, १७ : ४४
बिहीबार, २४ वैशाख २०८३

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा घोटाला गरेको आरोपमा गण्डकीका प्रमुख सचिव डण्डुराज घिमिरे पनि मुछिएका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार घिमिरेसहित पदाधिकारी र कर्मचारीलाई ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

गण्डकीका प्रमुख सचिव घिमिरे तत्कालीन समयमा नागरिक उड्डयन प्राधिकरणमा सहसचिव थिए। सोही समयमा भ्रष्टाचार भएको भन्दै उनी सहित २३ जना उच्च सरकारी अधिकारी र चिनियाँ निर्माण कम्पनीका पदाधिकारीविरुद्ध मुद्दा दायर भएको हो।

आयोगले तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, तत्कालीन सचिव शंकरप्रसाद अधिकारी र महेश्वर न्यौपाने, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतमसहित विभिन्न मन्त्रालयका तत्कालीन सहसचिव, उपसचिव, आयोजना निर्देशक र शाखा अधिकृतमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम बिगो, जरिवाना, कैद र थप सजायको माग गरेको छ।

विमानस्थल निर्माणको मूल सम्झौताको प्रावधान विपरीत ठेकेदार कम्पनीलाई कर छुट दिएर आर्थिक अनियमितता भएको भन्दै उजुरी परेको थियो। त्यसकै आधारमा अनुसन्धान गर्दा उनीहरुले बदनियत राखी प्रावधान विपरीत हुने गरी ठेकेदार कम्पनीलाई कर, महसुल तथा अन्य शुल्कहरू छुट दिने सम्झौता गराएको खुलेको हो।

ठेकेदार कम्पनीलाई दोहोरो लाभ दिलाई नेपाल सरकारलाई ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ हानिनोक्सानी पुर्‍याइएको अख्तियारको ठहर छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप