शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

भ्रष्टाचारको आरोपमा चार बंगलादेशी क्रिकेटर निलम्बित, सामिनुरमाथि आजीवन प्रतिबन्ध

शुक्रबार, २५ वैशाख २०८३, १० : ४४
शुक्रबार, २५ वैशाख २०८३

सारांश

  • बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) को इन्टिग्रिटी युनिटले भ्रष्टाचार विरोधी संहिता उल्लंघन गरेको आरोपमा चार जनामाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ।
  • सट्टेबाजी सम्बन्धी गतिविधिमा संलग्न भएको पुष्टि भएपछि सामिनुर रहमानलाई आजीवन प्रतिबन्ध लगाइएको छ भने अमित मजुमदार, लबलुर रहमान र रिजवान कबिर सिद्धिकी तथा नोआखाली एक्सप्रेसका सह(मालिक तौहिदुल हकमाथि विभिन्न आरोप लगाइएको छ।
  • बीसीबी इन्टिग्रिटी युनिटले हाल अन्य केही मुद्दाहरूको पनि अनुसन्धान गरिरहेकाले आगामी महिनाहरूमा थप व्यक्तिहरूमाथि पनि कारबाही हुन सक्ने सङ्केत दिएको छ।

ढाका । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) को इन्टिग्रिटी युनिटले भ्रष्टाचार विरोधीसंहिता उल्लंघन गरेको आरोपमा एक घरेलु क्रिकेटरसहित चार जनामाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ।

बिहीबार जारी गरिएको प्रेस विज्ञप्ति अनुसार सट्टेबाजी (बेटिङ) सम्बन्धी गतिविधिमा संलग्न रहेको पुष्टि भएपछि २०२५–२६ को बीपीएलमा चट्टोग्राम रोयल्ससँग आबद्ध सामिनुर रहमानलाई आजीवन प्रतिबन्ध लगाइएको छ।

बोर्डले क्रिकेटर अमित मजुमदार, टोली व्यवस्थापकहरू लबलुर रहमान र रिजवान कबिर सिद्धिकीका साथै नोआखाली एक्सप्रेसका सह(मालिक तौहिदुल हकमाथि विभिन्न भ्रष्टाचारजन्य आरोप लगाएको छ । उनीहरूमाथि सट्टेबाजीमा संलग्न भएको, भ्रष्ट प्रस्ताव राखेको, अनुसन्धानका क्रममा माग गरिएका कागजात र सञ्चार सम्पर्कहरू लुकाएको वा मेटाएको तथा भ्रष्टाचार विरोधी अधिकारीहरूलाई सहयोग नगरेको आरोप छ। 
यी चारै जनालाई बिहीबारदेखि नै लागु हुनेगरी अस्थायी प्रतिबन्ध लगाइएको छ र उनीहरूलाई स्पष्टीकरण पेश गर्न १४ दिनको समय दिइएको छ। इन्टिग्रिटी युनिटका स्वतन्त्र अध्यक्ष एलेक्स मार्शलले यो कदम बंगलादेशी क्रिकेटको शुद्धता जोगाउन एउटा महत्वपूर्ण कोशेढुङ्गा भएको बताएका छन्।

‘चार व्यक्तिमाथि एन्टी(करप्सन कोड उल्लंघनको आरोप लागेको छ र उनीहरूले आफूमाथिको आरोप स्वीकार गरी सजाय भोग्ने वा ट्रिब्युनलमा सुनुवाइका लागि अनुरोध गर्ने विकल्प पाउनेछन्,’ मार्शलले भनेका छन्, ‘एक व्यक्तिलाई ‘एक्स्क्लुडेड पर्सन’ घोषणा गरिएको छ, जसको अर्थ उनी विश्वभरका कुनै पनि क्रिकेटिङ गतिविधिमा सहभागी हुन पाउने छैनन्।’

मार्शलका अनुसार म्याच फिक्सिङ र विदेशी बुकीहरूसँग पैसाको कारोबार भएको अकाट्य प्रमाण भेटिएपछि यस्तो कडा निर्णय लिइएको हो ।

सन् २०२५ नोभेम्बरमा बीसीबीको इन्टिग्रिटी युनिट गठन भएयता टुङ्गिएको यो पहिलो मुद्दा हो। १८ वर्षदेखि घरेलु क्रिकेट खेलिरहेका अमित मजुमदार र सिलेट टाइटन्सका तत्कालीन म्यानेजर रिजवानले बीपीएल र आईपीएलका खेलहरूमा सट्टेबाजी गरेको अनुसन्धानले देखाएको छ। यस्तै, नोआखालीका सह(मालिक तौहिद र रोयल्सका म्यानेजर लबलुरमाथि अनुसन्धानमा असहयोग गरेको र सञ्चारका प्रमाणहरू नष्ट गरेको आरोप छ।

आजीवन प्रतिबन्धमा परेका सामिनुर रहमानले आफूमाथिको आरोप स्वीकार गर्दै बोर्डको एक्स्क्लुडेड पर्सन नीति अन्तर्गतको सजाय मन्जुर गरेका छन् । उनी बीपीएलका पछिल्ला तीन संस्करणमा खेलाडी र एजेन्टहरूलाई भ्रष्ट प्रभावमा पार्ने तथा अन्तर्राष्ट्रिय सट्टेबाजी सञ्जालसँग सम्पर्कमा रहने कार्यमा संलग्न रहेको बीसीबीको दाबी छ।

बीसीबी इन्टिग्रिटी युनिटले हाल अन्य केही मुद्दाहरूको पनि अनुसन्धान गरिरहेकाले आगामी महिनाहरूमा थप व्यक्तिहरूमाथि पनि कारबाही हुन सक्ने सङ्केत दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप