मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

हल्लाको पछि नलाग्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आग्रह, ‘व्यवसायीलाई थुन्ने कुनै सूची छैन’

शनिबार, २६ वैशाख २०८३, १० : ३५
शनिबार, २६ वैशाख २०८३

सारांश

  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई धरपकड गरिँदै छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।
  • उनले निजी क्षेत्रका व्यवसायीलाई थुन्ने वा धरपकड गर्ने कुनै सूची सरकारले नबनाएको र उनीहरू सरकारको साझेदार रहेको बताए ।
  • अर्थमन्त्री वाग्लेले सुशासन, अर्थतन्त्रको पुनरुत्थान, कनेक्टिभिटी, सामाजिक लगानी र सफ्ट पावर विस्तारलाई सरकारको प्राथमिकतामा राखेको जानकारी दिए ।

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई धरपकड गरिँदै छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।

शुक्रबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘निजी क्षेत्रका व्यवसायीलाई थुन्ने वा धरपकड गर्ने कुनै सूची सरकारले बनाएको छैन । तपाईँहरू हल्लाको पछि नलाग्नुहोस्, तपाईँहरू हाम्रो साझेदार हो ।’

कार्यक्रममा अर्थमन्त्री वाग्लेले १०० बिलियन डलरको अर्थतन्त्र बनाउने सरकारको योजनामा निजी क्षेत्र साझेदार रहेको पनि बताए । उनले सरकारका पाँच प्राथमिकताका बारेमा पनि स्पष्ट पारे । उनका अनुसार सरकारको पहिलो प्राथमिकता सुशासन, दोस्रो अर्थतन्त्रको पुनरुत्थान र तेस्रो मुलुकको आन्तरिक तथा बाह्य कनेक्टिभिटी हो । त्यस्तै चौथो प्राथमिकता सामाजिक लगानी र पाँचौँ पर्यटन, संस्कृति तथा इतिहासमार्फत ‘सफ्ट पावर’ विस्तार गर्नु रहेको उनले जानकारी दिए ।

अर्थतन्त्रको जहाज मोड्ने अवस्थामा मुलुक पुगेको भन्दै उनले त्यसका लागि आगामी बजेटसम्म पर्खिन उद्योगी व्यवसायीलाई आग्रह गरे । राजनीतिक स्थायित्व र इमानदारीपूर्वक देश अघि बढाउँदा छिमेकी मुलुक भारतले गरेको प्रगतिको उदाहरण दिँदै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता सम्हाल्ने समय र अहिले नेपालको अर्थतन्त्रका केही सूचकहरू समान रहेको बताए । ‘सन् २०१४÷१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता सम्हाल्दा भारतको अर्थतन्त्रको केही सूचक नेपालको अहिलेकै हाराहारीमा थियो । तर पछिल्लो १२ वर्षमा त्यहाँ ठुलो फड्को मारिएको छ । हामी पनि अब सोही बाटोमा लाग्ने बेला भएको छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप