‘मसाल र चौममा विभाजन: हाम्रो पार्टी इतिहासकै अप्रिय घटना थियो’
सारांश
- नेकपा (मसाल)ले कामरेड निर्मल लामाको २६औँ स्मृति दिवसको अवसरमा उहाँप्रति सम्मान व्यक्त गरेको छ ।
- निर्मल लामा र वक्ताको नेपालको कम्युनिस्ट आन्दोलनमा सँगै काम गर्दाका अनुभव र मतभेदका बारेमा चर्चा गरिएको छ ।
- पार्टी विभाजन र एकताका प्रयासहरू तथा निर्मल लामाको पार्टी एकताको सपना पूरा गर्ने प्रयत्नबारे उल्लेख गरिएको छ ।
कामरेड निर्मल लामाको २६औँ स्मृति दिवसको अवसरमा नेकपा (मसाल)ले कामरेड निर्मल लामाप्रति उच्च सम्मान प्रकट गर्दै उहाँलाई क्रान्तिकारी अभिनन्दन गर्दछ ।
नेपालको प्रजातान्त्रिक र वामपन्थी आन्दोलनमा उहाँको ठुलो योगदान रहेको छ । यो खुसीको कुरा हो कि उहाँले र मैले नेपालको कम्युनिस्ट आन्दोलनमा सँगै काम गर्दै आएका थियौँ । त्यस सिलसिलामा उहाँसित मेरो पनि धेरै नै घनिष्ठ र निकट सम्बन्ध रहेको थियो ।
काठमाडौँमा २०११ सालमा आयोजित जिल्ला पार्टीका सेक्रेटरीहरूको प्रशिक्षण कार्यक्रममा हामीहरू दुवै जनाले सँगै भाग लिएका थियौँ । त्यो बेला उहाँ काठमाडौँ जिल्ला कमिटीको सेक्रेटरी हुनुहुन्थ्यो भने म प्युठान जिल्ला कमिटीको सेक्रेटरीको हैसियतले त्यो प्रशिक्षण कार्यक्रममा भाग लिन आएको थिएँ । त्यही प्रकारले दरभङ्गा प्लेनममा पनि हामीले सँगै काम गरेका थियौँ । त्यो प्लेनममा संविधानसभाको पक्षमा जुन बहुमत प्राप्त भयो, त्यसमा उहाँको पनि महत्त्वपूर्ण योगदान रहेको थियो ।
काठमाडौंको भद्रगोल जेलमा २०२६ सालमा एक महिनासम्म एक प्रकारको भेला जस्तो गरेर त्यो बेला विभाजित पार्टीलाई एकताबद्ध गर्नका लागि हामीले सँगै तीनवटा प्रस्तावहरू पास गरेका थियौँ । ती प्रस्तावहरूले पछि केन्द्रीय न्यूक्लियस बनाएर पार्टीलाई एकताबद्ध गर्नका लागि धेरै नै मद्दत पुर्याएका थिए ।
पछि केन्द्रीय न्यूक्लियसको निर्माण गरेर हामीहरू बेग्लाबेग्लै टुक्रामा बाँडिएको पार्टीलाई एकताबद्ध गर्ने काममा सँगसँगै जुटेका थियौँ र त्यस प्रकारको प्रयत्नको परिणाम स्वरूप नै बनारसमा २०३१ सालको असारमा पार्टीको चौथो महाधिवेशन सम्पन्न भएको थियो । त्यसले जुन पार्टीको निर्माण गयो, त्यो त्यस बेलाको नेपालको सबैभन्दा ठुलो कम्युनिस्ट पार्टी थियो ।
पछि त्यो बेला भारतमा देखापरेको नक्सलवादी आन्दोलनको हाम्रो पार्टीमा परेको असरका कारणले हाम्रो पार्टीमा पनि उग्र ‘वामपन्थी’ प्रवृत्तिहरू देखापरे र हाम्रो पार्टीमा फुट भयो । त्यो उग्र ‘वामपन्थी’ भड्कावका विरुद्ध पनि कामरेड लामा र हामीले सँगसँगै कडा सैद्धान्तिक, राजनीतिक र सङ्गठनात्मक सङ्घर्ष गरेका थियौँ । त्यसरी पार्टीभित्र लामाजी र हाम्रा बिचमा सहकार्यका कैयौं महत्त्वपूर्ण र गौरवपूर्ण पानाहरू रहेका छन् ।
यहाँ यो कुराको उल्लेख गर्नु पनि सायद अप्रासङ्गिक हुने छैन वा ती कुराहरूको उल्लेख नगर्नु इतिहासलाई गलत प्रकारले प्रस्तुत गर्नु वा ढाकछोप गर्नु नै हुनेछ कि पार्टीमा कामगर्ने सिलसिलामा हाम्रा बिचमा कैयौँ मतभेद पनि देखापर्ने गरेका थिए । भद्रगोल जेलमा तीनवटा दस्तावेजहरू तयार पार्दा उहाँ र हाम्रा बिचमा केही मतभेदहरू पनि थिए । त्यो बेला हामीले नेपाली काङ्ग्रेसलाई राष्ट्रिय पुँजीपति वर्गको पार्टी ।
र, नयाँ जनवादी क्रान्तिको मित्रशक्ति मान्ने विश्लेषणलाई बदलेर त्यसलाई पनि राजा सरह सामन्त, दलाल र नोकरशाही पुँजीपति वर्गको पार्टी भएको विश्लेषण गर्दै त्यसलाई दुस्मन शक्ति भएको विश्लेषण गरेका थियौँ । हाम्रो त्यो विश्लेषणसित उहाँले मतभेद राख्नु भएको थियो । तर जेलबाट बाहिर आएपछि उहाँ त्यो बेला भद्रगोल जेलको भेलाले गरेको हाम्रो विश्लेषणसित सहमत हुनुभएको थियो । उहाँले आफ्नो संस्मरणमा त्यो कुराको उल्लेख पनि गर्नुभएको छ । त्यसरी उहाँको र हाम्रा बिचको सम्बन्धमा एकतामा विरोध र विरोधमा एकता अन्तर्निहित थियो । त्यसरी एक वा अर्को अर्थमा उहाँ र हाम्रा बिचको सम्बन्धको प्रकृति द्वन्द्वात्मक प्रकारको थियो । पछि पनि हाम्रा बिचको सम्बन्ध त्यही प्रकारले द्वन्द्वात्मक रूपमा अगाडि बढ्दै गएको थियो ।
पञ्चायती चुनावलाई उपयोगको प्रश्नमा हाम्रा बिचमा गम्भीर प्रकारको मतभेद देखापर्यो । पार्टीका कैयौँ केन्द्रीय समितिका बैठक, भेला वा सम्मेलनहरूमा हाम्रा र उहाँका बिचमा गम्भीर प्रकारका मतभेदहरू देखापरे । पछि लामाजी र म दुवै जना केन्द्रीय कमिटीमा नभएको बेलामा पार्टीभित्र गम्भीर प्रकारको मतभेद देखापयो । त्यो मतभेदका सिलसिलामा केन्द्रीय कमिटीका ६ जना साथीहरूले केन्द्रीय कमिटीबाट राजीनामा दिनुभयो र त्यो राजीनामालाई सार्वजनिक पनि गर्नुभयो । त्यो घटनाबारे विचार गर्न २०४० सालमा गोरखपुरमा पार्टीको एउटा सम्मेलन भयो ।
६ जना साथीहरूले दिएको राजीनामा र उहाँहरूले त्यसलाई सार्वजनिक गरेको विषयमा लामाजी र हाम्रा बिचमा गम्भीर प्रकारको मतभेद देखापयो र त्यही कारणले पार्टी विभाजित पनि भयो । त्यसपछि पार्टी ने.क.पा. (मसाल) र नेकपा चौथो महाधिवेशनका बिचमा विभाजित पनि भयो । त्यो हाम्रो पार्टीको इतिहासको अत्यन्त दुःखद र अप्रिय घटना थियो । त्यसले पार्टीलाई धेरै नै क्षति पुर्याइयो । हामीलाई के लाग्दछ भने गोरखपुरको सम्मेलनमा हाम्रा बिचमा केही समझदारी बन्न सकेको भए त्यो दुःखद घटनालाई रोक्न सकिन्थ्यो र रोक्नु पनि पर्दथ्यो । त्यसो हुन सकेको भए पार्टी पछिल्ला दिनहरूका धेरै क्षतिबाट बच्न सक्दथ्यो । त्यसरी त्यो बेला पार्टीमा जुन फुट भयो, त्यो गम्भीर प्रकारको गल्ती थियो । त्यसको लागि को कति जिम्मेवार थियो ? त्यसको मूल्याङ्कन हुनु आवश्यक छ वा इतिहासले त्यसको मूल्याङ्कन गर्ने छ
पाँचौं महाधिवेशनपछि पार्टी ’पातलो’ र ’मोटो’ मसाल / मशालको रूपमा विभाजन भयो । त्यसपछि हाम्रो पार्टी ने.क.पा. (मसाल), नेकपा (चौथो महाधिवेशन), नेकपा (मशाल) र सर्वहारावादी श्रमिक सङ्गठनका बिचमा पार्टी एकताको कुरा चल्यो । तर अन्य पक्षहरूको जोड पहिलो दिन भेट भएको बेलामा नै पार्टी एकता गर्ने कुरामा थियो । तर हामीले पहिले हाम्रा बिचमा भएका सबै मतभेदहरूबारे विस्तृत रूपले छलफल गरेर मात्र पार्टी एकता गर्नुपर्ने कुरामा जोड दियौँ । फलतः हाम्रा बिचमा पार्टी एकताबारे सहमति हुन सकेन । त्यसपछि अन्य पक्षहरूका बिचमा पार्टी एकता भयो र नेकपा (एकता केन्द्र) को गठन भयो । लामाजीको नेतृत्वको ‘चौथों महाधिवेशन’ पनि त्यसमा सामेल भयो र हामीहरू त्यसबाट अलग रह्यौँ । पछि चौथो महाधिवेशन पनि त्यसबाट अलग भयो र लामाजीको नेतृत्वमा नेकपा (एकता केन्द्र को रूपमा त्यसको बेग्लै अस्तित्व रहिरह्यो ।
त्यसपछि लामाजी तथा कामरेड चित्रबहादुर केसी र मेरा बिचमा कैयौँ गोप्य बैठकहरू भए । ती सबै बैठकहरू लामाजीको घर भएको स्थान म्हेपीमा नै हुने गरेका थिए । तर लामाजी एकता केन्द्रको नेतृत्वबाट हटेकाले र त्यसपछि छिट्टै उहाँको मृत्यु भएको हुनाले उहाँसितको एकताको वार्ताको सार्थक परिणाम निस्केन । लामाजीको मृत्यु भएपछि पनि उहाँसित भएको कुराकानीको सिलसिला अगाडि बढेर एकता केन्द्रसित हाम्रो पार्टी एकता पनि भयो । तर त्यो एकता दिगो रहन सकेन । हामीलाई लाग्छ लामाजी जीवित भएको भए र उहाँ एकता केन्द्रको नेतृत्वमा पनि रहिरहेको भए चौथो महाधिवेशनको कालमा जस्तै हाम्रा बिचको एकता सुदृढ हुन्थ्यो । त्यो एकतामा स्थायित्व पनि आउने थियो र त्यसले नेपालको कम्युनिस्ट आन्दोलनमा पनि धेरै योगदान दिने थियो ।
माथिको सङ्क्षिप्त विवरणबाट प्रस्ट हुन्छ कि लामाजी र हाम्रा बिचमा अत्यन्त घनिष्ठ प्रकारको सम्बन्ध थियो । बिचबिचमा हाम्रा बिचमा मतभेदहरू देखापरे पनि वा कुनै बेला ती मतभेदहरू फुटको रूपमासम्म विकसित भए पनि त्यस बेलाका मतभेद र फुटहरूका बिचमा पनि हाम्रा बिचमा अत्यन्त घनिष्ठ र मैत्रीपूर्ण सम्बन्ध रहिरह्यो । त्यसले उहाँ र हाम्रा बिचको एकता र विरोधको द्वन्द्वात्मक प्रकृक्तिलाई नै बताउँछ । उहाँको जीवनको अन्त्य कालमा त्यस प्रकारको मैत्री सम्बन्धले अत्यन्त घनिष्ठ र गाढा रूप लिएको थियो । तर उहाँको स्वास्थ्य र मृत्युका कारणले त्यो सम्बन्ध ठोस रूपमा अगाडि बढ्न सकेन । त्यसका लागि हामीलाई धेरै नै दुःख छ ।
कामरेड लामाको निधनपछि तुरुन्तै लेखेको एउटा लेखमा उहाँसितको एकता र विरोधको सम्बन्धलाई मैले आफ्नो पिताजी खिम विक्रमसित पनि तुलना गरेको थिएँ । उहाँसित मेरो अत्यन्त आत्मिय सम्बन्ध थियो । उहाँले प्युठानमा पार्टीको निर्माण र किसान आन्दोलनमा पनि महत्त्वपूर्ण योगदान दिनुभएको थियो । २०१० सालमा प्युठानमा तीन महिनासम्म चलेको आवासिय शिक्षण शिविर नेपालको कम्युनिस्ट आन्दोलन मात्र होइन, नेपालको सम्पूर्ण राजनीतिक इतिहासको नै अद्वितीय उदाहरण थियो । त्यसभन्दा पहिले र त्यसपछि पनि त्यस प्रकारको लामो आवासिय शिविर नेपालमा चलेको छैन । त्यो शिविरको सञ्चालनमा पिताजी खिम विक्रमको महत्त्वपूर्ण योगदान रहेको थियो । त्यो शिविरको बेलामा नै प्यूठानमा कम्युनिस्ट पार्टीको गठन भएको थियो । प्युठानमा चलेका कैयौँ किसान आन्दोलन वा राजनीतिक आन्दोलनहरूमा पनि उहाँको सक्रिय र महत्त्वपूर्ण योगदान रहेको थियो । तर उहाँसित सम्बन्धित किसान सङ्घर्षको बेलामा हाम्रो उहाँसित तीव्र सङ्घर्ष चलेको थियो । त्यस प्रकारको सङ्घर्षका बाबजुद हामी दुवै बाबुछोराका बिचमा अत्यन्त आत्मिय सम्बन्ध पनि थियो र जीवनभरि नै हामीहरू दुवै बाबुछोराले एक अर्कालाई धेरै माया गरेका थियौँ । हामी दुवैजना आपसमा लड्दथ्यौँ तर लड्दालड्दै पनि हामीहरू दुवैजनाले एकअर्कालाई धेरै नै माया गरिरहेका हुन्थ्यौँ । त्यही प्रकारको सम्बन्ध कामरेड निर्मल लामा र मेरा बिचको पनि थियो ।
त्यही प्रकारको मेरो सम्बन्ध कामरेड कमलराज रेग्मीसित पनि रहेको थियो । २०१० सालमा मैले उहाँलाई नै पार्टीको सदस्यताका लागि दरखास्त दिएको थिएँ। हामीले कैयौं किसान सङ्घर्षहरू र पार्टीका कार्यक्रमहरूमा सँगसँगै भाग लिएका थियौँ । तर पछि उहाँ पञ्चायती व्यवस्थामा सामेल हुनुभयो र हाम्रा बिचमा अन्तर्विरोध पैदा भयो । तर त्यस प्रकारको अन्तर्विरोधको बेलामा पनि हाम्रा बिचमा व्यक्तिगत रूपमा मैत्री सम्बन्ध रहिरहेको थियो ।
२०७२ सालमा उहाँले पुनः पार्टी सदस्यताका लागि दरखास्त दिनुभयो । त्यो दरखास्त दिने बेलामा उहाँले भन्नुभएको थियो ‘पहिले मैले तपाईंबाट पार्टीको सदस्यताका लागि दरखास्त लिएको थिएँ । अब मैले पार्टीको सदस्यताका लागि तपाईंलाई दरखास्त दिदैछु ।’ तर अफसोचको कुरा छ कि त्यसपछि उहाँ धेरै समय बाँच्नु भएन । यस सन्दर्भमा कामरेड चित्रबहादुर केसीको उल्लेख गर्नु पनि सायद अप्रासागिक हुने छैन । यो आम रूपमा थाहा भएको कुरा हो कि पार्टीमा लामो समयदेखि उहाँ र मेरो विचमा घनिष्ठ सम्बन्ध रहँदै आएको छ। तर त्यो सम्बन्धमा पारस्परिक विरोधका कैयौँ प्रसङ्ग पनि रहने गरेका छन् ।
२०४८ सालमा संसदीय चुनावको उपयोगको सन्दर्भमा उहाँ र हामीहरूका बिचमा तीव्र मतभेद देखापरेको थियो । उहाँ चुनावको उपयोगको पक्षमा हुनुहुन्थ्यो भने हामीहरू त्यसको बहिष्कारको पक्षमा । केन्द्रीय कमिटीमा उहाँको मत बहुमतमा आयो । तर सम्मेलनमा बहिष्कारको पक्ष बहुमतमा आयो । तर सम्मेलनमा उहाँको मत अल्पमतमा परे पनि उहाँ बिनाहिचकिचाहट बहुमतको निर्णयको पक्षमा दृढतापूर्वक उभिनु भयो । उहाँको त्यो स्प्रिटले त्यो बेला मात्र होइन, पछि सधैँ पार्टीको एकता र अनुशासनलाई धेरै नै मद्दत पुर्यायो ।
पछि कैयौँ प्रसङ्गमा पनि उहाँ र हाम्रा विचमा कैयौँ मतभेद देखापरेका थिए । तर ती सबै मतभेदहरूलाई हामीले द्वन्द्वात्मक प्रकारले नै ग्रहण गर्यो, त्यसले गर्दा हाम्रा बिचमा सधैँ बलियो एकता कायम रहिरह्यो । त्यही प्रकारले लामाजीसितका मतभेदहरूका कारणले हाम्रा बिचमा फुट भए पनि त्यो फुटका बाबजुद हामीहरू पुनः एकतावद्ध हुनका लागि अग्रसर भएका थियौँ । अफसोचको कुरा हो कि उहाँको असामयिक निधनको कारणले त्यस प्रकारको एकताले साकार रूप लिन सकेन ।
कामरेड लामा अब हाम्रा बिचमा हुनुहुन्न । त्यही पनि उहाँले पार्टी र क्रान्तिका लागि दिएका अमूल्य देनहरू हाम्रा अगाडि छन् । र, तिनीहरूले पार्टी र क्रान्तिका अधुरा रहेका कामहरूलाई अगाडि बढाउन लगातार शिक्षा र प्रेरणा दिइरहने छन् भन्ने हामीलाई विश्वास छ । उहाँले देखेको एउटा महत्त्वपूर्ण सपना पार्टी एकताको थियो ।
हामीले उहाँको त्यो सपनालाई पूरा गर्ने प्रयत्न पनि गर्यो। तर त्यो सफल हुन सकेन । वास्तवमा माक्र्सवादी–लेनिनवादी सिद्धान्त, क्रान्तिकारी राजनीतिक लाइन, लेनिनवादी सङ्गठन प्रणाली र सर्वहारा स्प्रिटको आधारमा नै त्यस प्रकारको एकता अगाडि बढ्न सक्दछ । त्यस प्रकारको एकता नै पार्टीको हितमा हुने छ । त्यस प्रकारको पार्टी एकताका लागि हामीले अहिले पनि प्रयत्न गर्दै जानुपर्दछ । र, त्यस प्रकारको सिद्धान्तनिष्ट एकताले नै पार्टी र क्रान्तिलाई अगाडि बढाउन मद्दत गर्ने छ ।
(आइतबार वामपन्थी नेता निर्मल लामाको २६औँ स्मृति दिवसमा सिंहले राखेको मन्तव्य)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण