मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
अर्थ

९ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक स्थिति सार्वजनिक (पूर्णपाठ)

सोमबार, २८ वैशाख २०८३, १७ : ५१
सोमबार, २८ वैशाख २०८३

सारांश

  • चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा रेमिटेन्स ३९.१ प्रतिशतले वृद्धि भई १६ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ।
  • रेमिटेन्सको बढोत्तरीले कुल विदेशी विनिमय सञ्चिति ३०.५ प्रतिशतले बढेर ३४ खर्ब ९४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ, जसले १८.४ महिनाको आयात धान्न पुग्छ।
  • आयात र निर्यात दुवै बढे पनि रेमिटेन्सको बलियो सहाराले शोधनान्तर स्थिति र चालु खाता बचतमा रहेको छ, तर सरकारी राजस्व सङ्कलन खर्चको तुलनामा कम छ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनाको तथ्याङ्क सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक तथ्याङ्क अनुसार समीक्षा अवधिमा रेमिटेन्स ३९.१ प्रतिशतले वृद्धि भई १६ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। 

अमेरिकी डलरमा समेत रेमिटेन्स ३१.९ प्रतिशतले बढेको देखिन्छ। रेमिटेन्सको यही बढोत्तरीका कारण मुलुकको कुल विदेशी विनिमय सञ्चिति ३०.५ प्रतिशतले बढेर ३४ खर्ब ९४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। यो सञ्चितिले १८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

वैदेशिक व्यापारतर्फ निर्यात १८.५ प्रतिशत र आयात १३.८ प्रतिशतले बढेको छ। आयात र निर्यात दुवै बढे पनि रेमिटेन्सको बलियो सहाराले शोधनान्तर स्थिति ७ खर्ब ३१ अर्ब १६ करोड रुपैयाँले बचतमा रहेको छ। यस्तै, मुलुकको चालु खाता समेत ६ खर्ब १८ अर्ब ६८ करोड रुपैयाँले बचतमा छ।

महँगीतर्फ भने चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४७ प्रतिशत कायम भएको छ, जुन अघिल्लो वर्षको सोही महिनामा ३.३९ प्रतिशत मात्र थियो। बैंकिङ क्षेत्रमा ब्याजदर भने निरन्तर ओरालो लागेको छ। वाणिज्य बैंकहरूको निक्षेपको औसत ब्याजदर ३.४० प्रतिशत र कर्जाको औसत ब्याजदर ६.७७ प्रतिशतमा झरेको छ ।

सरकारी वित्ततर्फ भने राजस्व सङ्कलनको तुलनामा खर्चको चाप बढी देखिएको छ। चैत मसान्तसम्म सरकारले १० खर्ब ५९ अर्ब ९५ करोड खर्च गर्दा ८ खर्ब ८६ अर्ब २८ करोड मात्र राजस्व परिचालन गर्न सकेको छ ।

यस्तै, पुँजी बजारमा नेप्से सूचकाङ्क २८३३.६० विन्दुमा पुगेको छ भने बजार पुँजीकरण ४८ खर्ब ३२ अर्बभन्दा माथि पुगेको राष्ट्र बैंकले जनाएको छ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप