सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

नीति तथा कार्यक्रमले देशको आवश्यकता तथा भविष्यको सम्भावनालाई समेट्ने प्रयास गरेको छ : कार्की

सोमबार, २८ वैशाख २०८३, १९ : ३०
सोमबार, २८ वैशाख २०८३

सारांश

  • अन्तर्राष्ट्रिय मामिलाका जानकार हिक्मतजंग कार्कीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई आशालाग्दो, जनमुखी तथा दूरदर्शी भनेका छन्।
  • कार्कीले विदेशी तथा प्रवासी लगानी आकर्षित गर्न आर्थिक उत्प्रेरणाको पुनर्संरचना, युवाका लागि अवसर सिर्जना, पूर्वाधार विकास, लगानी प्रवर्द्धन तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राखिनु सकारात्मक पक्ष भएको बताए।
  • उनले नीति तथा कार्यक्रमले जनताको अपेक्षा, देशको आवश्यकता तथा भविष्यको सम्भावनालाई समेट्ने प्रयास गरेको र यसको प्रभावकारी कार्यान्वयनले आम नागरिकले सकारात्मक परिवर्तनको अनुभूति गर्न सक्ने अपेक्षा व्यक्त गरे।

काठमाडौँ । अन्तर्राष्ट्रिय मामिलाका जानकार हिक्मतजंग कार्कीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम समग्र रूपमा आशालाग्दो, जनमुखी तथा दूरदर्शी रहेको बताएका छन्।

कार्कीले वर्तमान परिस्थितिमा देशको आर्थिक सुधार, सुशासन, विकास निर्माण तथा जनताको आधारभूत आवश्यकतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम ल्याइएको अनुभूति भएको प्रतिक्रिया दिए ।

उनले विदेशी तथा प्रवासी लगानी आकर्षित गर्न आर्थिक उत्प्रेरणाको आधारभूत पुनर्संरचना, युवाका लागि अवसर सिर्जना, पूर्वाधार विकास, लगानी प्रवर्द्धन तथा सामाजिक सुरक्षासम्बन्धी विषयलाई प्राथमिकतामा राखिनु सकारात्मक पक्ष भएको उल्लेख गरे।

कार्कीले काठमाडौँ–केरुङ तथा काठमाडौँ–रक्सौल रेलमार्गजस्ता राष्ट्रिय गौरवका पूर्वाधार आयोजनालाई प्राथमिकतामा राखिनु स्वागतयोग्य भएको समेत बताए। यस्ता परियोजनाले नेपालको आर्थिक विकास, व्यापार विस्तार, पर्यटन प्रवर्द्धन तथा क्षेत्रीय कनेक्टिभिटीलाई नयाँ उचाइमा पुर्‍याउने उनको विश्वास छ ।

सुकुम्बासी समस्याबारे टिप्पणी गर्दै उनले वास्तविक भूमिहीन तथा सुकुम्बासी नागरिकको समस्या समाधान गर्नु राज्यको दायित्व भएको बताए। केही पक्षले यस विषयलाई समाधानको दृष्टिकोणभन्दा राजनीतिक लाभका लागि प्रयोग गर्न खोजेको जस्तो देखिएको उनको भनाइ छ।
 नीति तथा कार्यक्रमले जनताको अपेक्षा, देशको आवश्यकता तथा भविष्यको सम्भावनालाई समेट्ने प्रयास गरेको भन्दै उनले यसको प्रभावकारी कार्यान्वयनमार्फत आम नागरिकले प्रत्यक्ष रूपमा सकारात्मक परिवर्तनको अनुभूति गर्न सक्ने अपेक्षा व्यक्त गरे । 
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सरकारको आगामी आर्थिक वर्षकको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप