सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

२ हजार ९७५ महिलाले गराए स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण, ६० जनामा एचपीभी पोजेटिभ

सोमबार, २८ वैशाख २०८३, २१ : ०४
सोमबार, २८ वैशाख २०८३

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा सञ्चालन गरेको निःशुल्क स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण कार्यक्रममा २ हजार ९७५ जना महिलाले स्वास्थ्य परीक्षण गराएका छन् । परीक्षणका क्रममा १ हजार ७ सय महिलाको रिपोर्ट प्राप्त हुँदा ६० जनामा एचपीभी ९ह्युमन प्यापिलोमा भाइरस० पोजेटिभ देखिएको छ ।

महानगरपालिकाका अनुसार २०८२ चैत १६ गतेदेखि २०८३ वैशाख २१ गतेसम्म सञ्चालन गरिएको कार्यक्रममा २ हजार ७७९ महिलाको एचपीभी परीक्षण गरिएको थियो । हालसम्म आएको रिपोर्टका आधारमा पोजेटिभ देखिएका महिलामध्ये १८ जनाको कल्पोस्कोपी गरिएको छ । पोजेटिभ देखिएका महिलाहरूलाई हरेक बुधबार र शुक्रबार वीर अस्पतालमा थप परीक्षणका लागि बोलाइने गरिएको छ ।

महानगरपालिकाले स्तन, पाठेघरको भिडियो एक्सरे तथा स्तनको मेमोग्राम परीक्षणसमेत निःशुल्क रूपमा गराउँदै आएको जनाएको छ । यस कार्यक्रमअन्तर्गत उपचार र प्रारम्भिक परीक्षणको सम्पूर्ण खर्च महानगरपालिकाले व्यहोरेको छ ।

कार्यक्रमकी फोकल पर्सन चन्द्रा भट्टका अनुसार क्यान्सर परीक्षणका लागि ३ हजार ४९४ जनाले स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट रिफरल स्लिप लिएका थिए । तर, तीमध्ये २ हजार ९७५ जना मात्रै अस्पताल पुगेर सेवा लिएका छन् । सेवा लिन प्रक्रिया थालेका ५१९ जना अस्पताल नपुग्नुको कारणबारे खोजी भइरहेको उनले बताइन् ।

परीक्षणका क्रममा २ हजार ९६४ महिलाको स्तन क्यान्सर परीक्षण गरिएको थियो । तीमध्ये ४११ जनाको मेमोग्राम गरिएको छ भने ४९४ जनाको भिडियो एक्सरे गरिएको छ । साथै ४५ जनामा पाठेघरको मुखमा मासु पलाएको ९सर्भाइकल पोलिप० देखिएको छ । दुई जनाको पाठेघरको मासु निकालिएको छ भने तीन जनामा आङ खस्ने समस्या र आठ जनामा पीआइडी संक्रमण देखिएको छ ।

चिकित्सकहरूका अनुसार एचपीभी संक्रमण ५ देखि १० वर्षसम्म रहिरहेमा पाठेघरको मुखको क्यान्सर हुने जोखिम बढ्न सक्छ । विशेषगरी ३० देखि ६० वर्ष उमेर समूहका महिलाले प्रत्येक पाँच वर्षमा कम्तीमा एक पटक परीक्षण गराउनुपर्ने सुझाव दिइएको छ ।

यस्तै, स्तन वा काखीमुनि गाँठो देखिनु, स्तनको आकार परिवर्तन हुनु, निप्पल भित्र धसिनु वा स्तनबाट तरल पदार्थ बग्नु स्तन क्यान्सरका प्रमुख लक्षण मानिन्छन् । चिकित्सकहरूले समयमै परीक्षण गराएमा क्यान्सरको जोखिम घटाउन तथा प्रारम्भिक अवस्थामै उपचार सम्भव हुने बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप