बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री बाहिरिएको विषयमा कांग्रेसको आपत्ति, संसद्‍मा स्पष्टीकरण माग

मङ्गलबार, २९ वैशाख २०८३, १३ : ३०
मङ्गलबार, २९ वैशाख २०८३

सारांश

  • प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेकै समयमा प्रधानमन्त्री बैठक छाडेर हिँडेको विषयमा संसद्मा विरोध जनाएको छ।
  • कांग्रेस प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्रीको यो कार्य संवैधानिक संस्कार, संसदीय परम्परा र राज्यको उत्तरदायित्व विपरीत भएको बताइन्।
  • यस विषयमा प्रधानमन्त्रीले सदनमा आएर स्पष्ट जवाफ दिनुपर्ने र संसदीय गरिमामा आँच पुर्‍याउने घटनाप्रति आधिकारिक धारणा माग गरिएको छ।

काठमाडौँ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेकै समयमा प्रधानमन्त्री बैठक छाडेर हिँडेको विषयलाई लिएर संसद्मा विरोध जनाएको छ।

मंगलबारको प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले प्रमुख सचेतक बासना थापालाई बोल्न समय दिएका थिए।

प्रमुख सचेतक थापाले सोमबारको बैठकमा देखिएको दृश्य लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा विरलै देखिने र गम्भीर प्रकृतिको भएको बताइन्। आफ्नै सरकारको नीति तथा कार्यक्रम वाचन भइरहँदा प्रधानमन्त्री सदनबाट बाहिरिनु केवल सामान्य घटना मात्र नभई संवैधानिक संस्कार, संसदीय परम्परा र राज्यको उत्तरदायित्व विपरित भएको उनको ठहर छ। पदभन्दा ठूलो मर्यादा र मर्यादाभन्दा ठूलो जनविश्वास हुने भन्दै उनले यस विषयमा प्रधानमन्त्रीले सदनमा आएर स्पष्ट जवाफ दिनुपर्ने माग गरिन्।

आफ्नो धारणा राख्दै थापाले भनिन्, ‘राष्ट्रपतिबाट सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री सदनबाट बाहिरिनु केवल एउटा सामान्य दृश्य नभई संवैधानिक संस्कार, संसदीय परम्परा र राज्यको उत्तरदायित्व विपरीत हो। यस विषयमा प्रधानमन्त्रीको स्पष्ट जवाफ आवश्यक छ।’

उनले संवैधानिक पदको सम्मान गर्न र स्थापित संसदीय परम्परालाई कमजोर नबनाउन सरकारको गम्भीर ध्यानाकर्षण समेत गराएकी छन्। प्रधानमन्त्रीको यस्तो व्यवहारले संसदीय गरिमामा आँच पुगेको भन्दै कांग्रेसले सो घटनाप्रति आधिकारिक धारणा माग गरेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप