मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

एरिकाको नाममा राखेपले साढे ४८ लाख खर्चिएको दाबी, प्रशिक्षक श्रेष्ठको आरोपप्रति ध्यानाकर्षण

मङ्गलबार, २९ वैशाख २०८३, १६ : ००
मङ्गलबार, २९ वैशाख २०८३

सारांश

  • राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कराते खेलाडी एरिका गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठको अन्तर्राष्ट्रिय सहभागिताका लागि ४८ लाख रुपैयाँभन्दा बढी खर्च भएको विवरण सार्वजनिक गरेको छ।
  • प्रशिक्षक श्रेष्ठले राखेपले सहयोग नगरेको भनी लगाएको आरोपको खण्डन गर्दै राखेपले बजेट अभावले तत्काल सहयोग गर्न नसकेकोमा दुःख व्यक्त गरेको छ।
  • राखेपले खेलाडी गुरुङलाई अन्तर्राष्ट्रिय एक्स्पोजर र पुरस्कार दिलाउन सधैँ सहयोग गरिरहेको दाबी गरेको छ।

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कराते खेलाडी एरिका गुरुङ र उनका प्रशिक्षक कुशल श्रेष्ठको अन्तर्राष्ट्रिय सहभागिताका लागि हालसम्म ४८ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको विवरण सार्वजनिक गरेको छ। 

चीनको लेसानमा भएको कराते वान प्रिमियर लिगमा सहभागी हुँदा परिषद्ले सहयोग नगरेको भन्दै प्रशिक्षक श्रेष्ठले सञ्चार माध्यममा लगाएको आरोपप्रति राखेपले मंगलबार एक विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

राखेपका प्रशासन विभाग प्रमुख भोजानन्द राईद्वारा जारी ध्यानाकर्षण पत्रमा एरिका गुरुङको प्रशिक्षण र क्षमता अभिवृद्धिका लागि परिषद्ले पर्याप्त ध्यान दिएको उल्लेख छ। राखेपका अनुसार चालू आर्थिक वर्षमा मात्रै खेलाडी एरिका र प्रशिक्षक कुशल श्रेष्ठको हवाई टिकट, खाना, बसोबास र फुटकर खर्चका लागि २६ लाख ८६ हजार ५ सय ४३ रुपैयाँ भुक्तानी भइसकेको छ। यस्तै, आर्थिक वर्ष २०८०/८१ देखि हालसम्म कुल ४८ लाख ६९ हजार ५२ रुपैयाँ भुक्तानी गरिएको राखेपले जनाएको छ।

परिषद्ले 'मिसन २०२६' अन्तर्गत सीमित स्रोत साधनका बाबजुद खेलाडीहरूलाई नियमित विशेष प्रशिक्षण गराइरहेको भए पनि विगत दुई महिनादेखि बजेट अभावमा सो प्रशिक्षण प्रभावित भएको स्वीकार गरेको छ। 

चीनमा भएको प्रतियोगितामा जान बजेट अभावकै कारण तत्काल आर्थिक सहयोग गर्न नसकिएकोमा परिषद्ले दुःख व्यक्त गरेको छ। एरिकालाई सो प्रतियोगितामा सहभागी हुन सहयोग गर्ने विभिन्न संस्थाहरूलाई परिषद्ले धन्यवाद समेत दिएको छ।

राखेपले खेलाडी गुरुङले कराते वान प्रिमियर लिगमा नेपाललाई रजत पदक दिलाएकोमा खुसी व्यक्त गर्दै उनलाई अन्तर्राष्ट्रिय एक्स्पोजर र पुरस्कार दिलाउन सधैँ सहयोग गरिरहेको दाबी गरेको छ। 

यस्तो अवस्थामा परिषद्का सहायक प्रशिक्षक समेत रहेका कुशल श्रेष्ठले सहयोग नै नभएको भनी लगाएको आरोप तथ्यपरक नभएको राखेपको जिकिर छ। विगत तीन वर्षदेखि उनीहरूको अन्तर्राष्ट्रिय सहभागिताका लागि भएको खर्च विवरण समेत परिषद्ले सार्वजनिक गरेको छ।

press release 1press release 2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप