सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

पोखराका ६४ विद्यार्थीले ल्याए ४ जीपीए, सरकारी स्कूलका ५ जना

मङ्गलबार, २९ वैशाख २०८३, २० : ४७
मङ्गलबार, २९ वैशाख २०८३

सारांश

  • पोखरा महानगरपालिकाका ६४ जना विद्यार्थीले एसइई परीक्षामा ४ जीपीए ल्याएका छन्, जसमध्ये ५९ जना निजी विद्यालयका र ५ जना सरकारी विद्यालयका छन् ।
  • यस वर्ष पोखरा महानगरका २३८ विद्यालयका ९ हजार १४ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए, जसमध्ये ७९.३१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् ।
  • पोखरा महानगरपालिका शिक्षा महाशाखाले अघिल्ला वर्षहरूको तुलनामा समग्र शैक्षिक नतिजामा सुधार आएको जनाएको छ ।

पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पोखरा महानगरपालिकाका ६४ विद्यार्थीले ४ जीपीए ल्याएका छन् । 

त्यसमध्ये अधिकांश निजी विद्यालयका विद्यार्थी छन् भने सरकारी विद्यालयको अधिक न्यून देखिन्छ । महानगरका २२ वटा विद्यालयका ६४ जना विद्यार्थीले ४.० जिपिए हासिल गर्दा निजी विद्यालयबाट ५९ जना र सरकारी विद्यालयबाट जम्मा ५ जना विद्यार्थी मात्र छन् ।

सरकारी विद्यालयतर्फ छोरेपाटन माविका ३ जना तथा बाराही मावि र त्रिभुवन शान्ति माविका १/१ जना विद्यार्थीले मात्र ४.० जिपिए ल्याएका हुन् । बाँकी १९ वटा निजी तथा संस्थागत विद्यालयका ५९ जना ४.० जिपिए ल्याएका हुन् । जसमा मदरल्याण्ड सेकेन्डरी स्कुलबाट सबैभन्दा धेरै १२ जना विद्यार्थीले ४.० जिपिए ल्याएका छन् ।
गण्डकी बोर्डिङ स्कुल र प्रतिभा आवासीय माविका ५/५ जना, ग्लोबल कलिजियट र शान्ति निकेतनका ३/३ जना विद्यार्थीले ४.० जिपिए प्राप्त गरेका छन् भने पोखरा पब्लिक, सिर्जना सेकेन्डरी, शिशु निकेतन र त्रिवेणी पब्लिक माविका २/२ जना तथा अन्य विभिन्न ११ वटा निजी विद्यालयका १/१ जना विद्यार्थीले यो नतिजा निकालेका छन् ।

यो वर्ष पोखरा महानगरका २ सय ३८ विद्यालयबाट ९ हजार १४ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । तीमध्ये ७ हजार ३ सय ८६ जना अर्थात् ७९.३१ प्रतिशत विद्यार्थी ग्रेडेड हुन सफल भएका छन् । १ हजार ६ सय २८ जना विद्यार्थी भने ननग्रेडेड (एनजी) को सूचीमा परेका छन् । पोखरामा ३.६ देखि ४.० जिपिए ल्याउने विद्यार्थीको संख्या १ हजार ६ सय ९६ छ ।

त्यस्तै ३.२ देखि ३.६ जिपिए ल्याउने २ हजार ५ सय ९३ जना, २.८ देखि ३.२ जिपिए ल्याउने २ हजार ३ सय १९ जना, २.४ देखि २.८ जिपिए ल्याउने ६९५ जना र २.४ जिपिएभन्दा कम ल्याउने १९ जना विद्यार्थी छन् । 

महानगरका ५ वटा विद्यालयको नतिजा भने निकै निराशाजनक देखिएको छ । अमरसिंह माविको खुला विद्यालयतर्फ परीक्षा दिएका ८ जनामध्ये कोही पनि ग्रेडेड हुन सकेनन् ।

त्यस्तै, शुक्रराज बलभद्र माविको नतिजा जम्मा ५ प्रतिशत पास भएका छन् । विष्णु पादुका मावि हेमजाबाट १७.८६ प्रतिशत, माउन्ट हेभन इङ्लिस स्कुलबाट २१.४३ प्रतिशत र मैत्रेय पाठशालाबाट २२.२२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् ।

पोखरा महानगरपालिका शिक्षा महाशाखाले भने अघिल्ला वर्षहरूको तुलनामा पोखराको समग्र शैक्षिक नतिजामा क्रमिक सुधार आएको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप