अमेरिका लैजाने प्रलोभनमा युवतीसँग डेढ करोड ठगी र शोषण : पुतलीबजारका वडाध्यक्ष पक्राउ
सारांश
- अमेरिका पठाउने प्रलोभन देखाएर एक युवतीलाई विभिन्न देशमा पुर्याई बन्धक बनाएर, जबरजस्ती करणी गरी डेढ करोडभन्दा बढी ठगी गरेको आरोपमा स्याङ्जाका एक वडाध्यक्ष पक्राउ परेका छन्।
- पक्राउ परेका वडाध्यक्ष शिवबहादुर थापाले ह्वाट्सएपमार्फत युवतीसँग चिनजान गरी ६० लाखमा अमेरिका पठाउने विश्वास दिलाएका थिए।
- युवतीलाई दुबई, बहराइन, टर्की, ब्राजिल, पेरु र कोलम्बिया पुर्याएर बन्धक बनाइएको र मेक्सिकोको सीमामा अलपत्र छाडिएको थियो।
काठमाडौँ । अमेरिका पठाउने प्रलोभन देखाई एक युवतीलाई विभिन्न देश पुर्याएर बन्धक बनाउने, जबरजस्ती करणी गर्ने र करोडौँ रकम ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा स्याङ्जाका एक वडा अध्यक्ष पक्राउ परेका छन्।
मानव बेचबिखन अनुसन्धान ब्यूरोले पुतलीबजार नगरपालिका वडा नं. ४ का वडाध्यक्ष ४४ वर्षीय शिवबहादुर थापालाई कास्कीको पोखराबाट पक्राउ गरेको हो।
थापाले सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत पीडित युवतीसँग चिनजान गरी ६० लाख रुपैयाँमा अमेरिका पठाइदिने विश्वास दिलाएका थिए। सोही योजनाअनुसार २०७८ वैशाख ११ गते उनले पीडितलाई काठमाडौँबाट दुबई पुर्याएर एक महिनासम्म होटलमा राखेका थिए।
दुबईमा रहँदा भिसा प्रक्रियाका लागि भन्दै एजेन्टमार्फत पीडितको पासपोर्ट, फोटो र ८ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा लिएर भिजिट भिसा तयार गरिएको थियो। त्यसपछि पीडितलाई बहराइन, टर्की, ब्राजिल र पेरु हुँदै कोलम्बिया पुर्याइएको थियो।
कोलम्बियामा एक वर्षसम्म बन्धक बनाएर राख्ने क्रममा पीडितमाथि शारीरिक तथा मानसिक यातना दिनुका साथै जबरजस्ती करणी समेत भएको ब्यूरोले जनाएको छ।
पीडितले आफूलाई नेपाल फर्काइदिन आग्रह गर्दा प्रतिवादी थापाले उल्टै थप रकम माग गरेका थिए। ज्यान जोगाउन पीडितले अमेरिकामा रहेका साथीमार्फत थापाले उपलब्ध गराएका विभिन्न बैंक खाता र वेस्टर्न युनियनमार्फत पटक-पटक गरी ९८ हजार ९०० अमेरिकी डलर बुझाएकी थिइन्।
रकम पाएपछि थापाले आफ्ना एजेन्टमार्फत पीडितलाई कोलम्बियाबाट पानामाको जङ्गल हुँदै मेक्सिकोको बोर्डरसम्म पुर्याउन लगाएका थिए। त्यहाँ पुगेपछि पुनः २० हजार डलर माग गरिएको र सो रकम दिन नसक्दा एजेन्टहरूले पीडितलाई मेक्सिकोमै अलपत्र छाडेर सम्पर्कविहीन भएका थिए।
अलपत्र परेकी पीडितले अमेरिकामा रहेका आफन्त र अमेरिकास्थित नेपाली राजदूतावासको समन्वयमा ट्राभल डकुमेन्ट बनाएर २०८३ वैशाख २ गते नेपाल फर्कन सफल भएकी हुन्। नेपाल आएर दिएको उजुरीका आधारमा ब्यूरोको टोलीले थापालाई २०८३ वैशाख २८ गते पोखराबाट पक्राउ गरेको हो।
काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी उनीमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी उपरीक्षक राजन लिम्बुले जानकारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण