शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

रेमिट्यान्सको भरमा मात्रै नबाँचौँ, विश्वलाई ‘वर्क फ्रम नेपाल’ का लागि निम्तो दिऔँ : सांसद अधिकारी

बुधबार, ३० वैशाख २०८३, १२ : ११
बुधबार, ३० वैशाख २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले रेमिट्यान्समा मात्र निर्भर अर्थतन्त्रलाई नयाँ दिशा दिनुपर्ने बताएकी छन्।
  • उनले नेपालको भौगोलिक, सांस्कृतिक विविधता र शान्तिलाई अर्थतन्त्रको आधार बनाउनुपर्ने र विश्वलाई 'वर्क फ्रम नेपाल' का लागि निम्तो दिनुपर्ने प्रस्ताव गरेकी छन्।
  • सांसद अधिकारीले प्रविधि विज्ञहरूलाई नेपालमा बसेर काम गर्न सहज हुने गरी 'डिजिटल नोम्याड भिसा' को व्यवस्था गर्न सरकारलाई सुझाव दिएकी छन्।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको शीतलता र नेपालको शान्तिलाई मुलुकको अर्थतन्त्रको बलियो आधार बनाउनुपर्ने प्रस्ताव गरेकी छन्। 

बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद अधिकारीले वर्षौँदेखि रेमिट्यान्सको भरमा चलेको मुलुकको अर्थतन्त्रलाई अब नयाँ दिशा दिनुपर्नेमा जोड दिएकी हुन्।

सांसद अधिकारीले नेपालको भौगोलिक तथा सांस्कृतिक विविधता विश्वका जुनसुकै मुलुकका मानिसका लागि आकर्षक रहेको उल्लेख गर्दै प्रविधिको यो युगमा विश्वका विज्ञहरूलाई नेपालमै बसेर काम गर्ने वातावरण निर्माण गर्न सरकारसँग माग गरिन्। 

उनले अब ‘वर्किङ नेपाल’ मात्र नभई विश्वलाई नै ‘वर्क फ्रम नेपाल’ का लागि आह्वान गर्नुपर्ने धारणा राखिन्। नेपालको हिमाल, पहाड र तराईको विविधतामा रमाउँदै प्रविधि क्षेत्रका प्रखर मस्तिष्कहरूले काम गर्न सक्ने गरी नीतिगत सुधार आवश्यक रहेको उनको तर्क छ।

सदनमा बोल्दै उनले भनिन्, ‘यो धर्तीको शान्ति र सगरमाथाको शीतलतालाई अर्थतन्त्रको बलियो आधार बनाउने कि? वर्षौँवर्ष रेमिट्यान्सकै भरमा यसरी बाँचिरहने? अब हामीले वर्किङ नेपाल मात्रै होइन, विश्वलाई नै वर्क फ्रम नेपालको निम्ति निम्तो दिनुपर्छ। प्रविधिको यो युगमा विश्वका प्रखर मस्तिष्कहरूलाई डिजिटल नोम्याड भिसा दिएर हाम्रो कला, संस्कृति, चाडपर्वले समृद्ध तराई, मधेस र हिमालको विविधतामा रमाई काम गर्न आकर्षित गरौँ।’

सांसद अधिकारीले नेपालको कला, संस्कृति र प्राकृतिक सुन्दरताले विश्वका जोकोहीलाई लोभ्याउने भएकाले विश्वका प्रविधि विज्ञहरूलाई नेपालमा बसेर काम गर्न सहज हुने गरी ‘डिजिटल नोम्याड भिसा’ को व्यवस्था मिलाउन सरकारलाई सुझाव दिएकी छन्। यस्तो व्यवस्थाले मुलुकको अर्थतन्त्रमा नयाँ आयाम थपिने र विदेशी मुद्रा आर्जनको भरपर्दो स्रोत बन्न सक्ने उनको विश्वास छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप