प्रधानमन्त्री बालेनलाई तीन कक्षाकी सुकुमबासी छात्राले लेखिन् यस्तो पत्र
सारांश
- ११ वर्षीया राधिका महतो थापाथलीको सुकुमबासी बस्तीमा डोजर चलेपछि पढाइबाट वञ्चित भएकी छन्।
- सुकुमबासी भएकै कारण कोठा नपाएपछि उनी बनेपाको रेडक्रस सोसाइटीको तालिम केन्द्रमा अस्थायी बसोबास गरिरहेकी छन्।
- राधिकाले प्रधानमन्त्री बालेनलाई पढ्न स्कुल र बस्ने ठाउँको माग गर्दै चिठी लेखेकी छिन्।
बनेपा । ११ वर्षीया राधिका महतो थापाथलीको सुकुमबासी बस्तीमा बस्थिन् । त्यहीँ नजिकै छ, उनी अध्ययनरत् गुहेश्वरी बाल शिक्षा माध्यमिक विद्यालय । थापाथलीको बस्तीमा डोजर चलेपछि उनको परिवार तितरबितर भयो । कक्षा ३ मा अध्ययनरत राधिकाले अझै स्कुल जान पाएकी छैनन् । घरमा डोजर चलेपछि उनको परिवारलाई १२ दिन गोङ्गबुको होटलमा राखियो । त्यसपछि अस्थायी बसोबासका लागि बनेपाको रेडक्रस सोसाइटीको तालिम केन्द्रमा पुर्याइएको छ ।
राधिका पहिले पढ्दै आएको गुहेश्वरी बाल शिक्षा स्कुलका साथीहरुले उनलाई बोलाइरहेका छन् । ‘यतै कोठा खोज, हामीसँगै पढ भनेर साथीहरु फोन गरिरहेका छन् ।’ उनले दुखेसो पोखिन्, ‘तर सुकुमबासी भनेपछि हामीलाई कोठा नै दिंदैनन् ।’ उनले भविष्यमा डाक्टर बन्ने सपना पालेकी छिन् । अंग्रेजी उनको मनपर्ने विषय भएको बताइन् । कक्षा २ पास गरेर ३ मा उक्लिएकी उनी स्कुल जान पाएकी छैनन् । आफ्नो अन्योल भविष्य सम्झिँदै उनले प्रधानमन्त्रीलाई चिठी लेखिन् ।
यस्तो छ राधिकाको प्रधानमन्त्री बालेनलाई पत्र
बालेन सरकार,
हामीलाई पढ्न स्कुल चाहियो । हामीलाई पढ्न गार्हो भएको छ । हाम्रो लागि रहने ठाउँ दिनु र घर नभत्काउनु । पढ्न स्कुल दिनु । हामी कता जाने ? घर, स्कुल दिनु न हामीलाई । रहने र पढ्न दिनु । तपाईंलाई घण्टीमा भोट दिएको हो । तर तपाईंले घर भत्काउनुभयो । थापाथलीको मानिस कता जाने त ? थापाथलीले यस्तो दुःख पाइरहेको छ । हाम्रो आमा-बुबा काम लाग्दैन ?
हामीहरूसँग पैसा छैन । तपाईंले यो हालत गर्नुभयो ।
धन्यवाद ।
राधिका महतो, कक्षा-३
श्री गुहेश्वरी बाल शिक्षा माध्यमिक विद्यालय, थापाथली
तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी




Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण