देशभर भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु, ११ जना घाइते
सारांश
- देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ।
- काठमाडौँ, सर्लाही, धनुषा र सप्तरीमा भएका यी दुर्घटनामा अन्य ११ जना घाइते भएका हुन्।
- प्रहरीले सबै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ।
काठमाडौँ, सर्लाही, धनुषा र सप्तरीमा भएका यी दुर्घटनामा अन्य ११ जना घाइते भएका हुन्।
काठमाडौंको जडिबुटीस्थित मनोहरा पुल नजिक रोकी राखेको बा.प्र ०६-००१ ख ०५७३ नम्बरको ट्रकमा प्र.३-०१-०२३ च ०३१० नम्बरको हात्ती गाडी ठोक्किँदा सिन्धुपाल्चोक घर भई ठिमी बस्ने ५० वर्षीय सीताराम ढुङ्गानाको मृत्यु भएको छ। बिहीबार बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका अन्य दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सर्लाहीको हरिवन नगरपालिका-११ कडरिया चोकमा बुधबार राति बसको ठक्करबाट एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ। बा.प्र-०१-००६ ख ९६७० नम्बरको बसले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुषको ज्यान गएको हो, जसको हालसम्म पहिचान खुल्न सकेको छैन। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ।
यसैगरी, धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१८ मा मोटरसाइकलको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। मधेस प्रदेश-०२-००६ प ९४४० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका अन्दाजी ५५ वर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको हो।
धनुषाकै मिथिला नगरपालिका-१० लालगढमा ईभी हायस गाडी अनियन्त्रित भई दुर्घटना हुँदा सप्तरीका ७५ वर्षीय बिजुली चौधरीको ज्यान गएको छ। बाराबाट लहानतर्फ जाँदै गरेको म.प्र ०१-००१ ज ०१५४ नम्बरको हायस बिहीबार बिहान दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा हायसमा सवार अन्य ९ जना घाइते भएका छन्, जसको मोडल अस्पताल लालगढमा उपचार भइरहेको छ। प्रहरीले हाल फरार रहेका हायस चालकको खोजी गरिरहेको छ।
उता सप्तरीको कञ्चनरूप नगरपालिका-८ मा ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा ५५ वर्षीय हनिफ मियाको मृत्यु भएको छ। बुधबार राति प्र.२-०१-००१ त १७१३ नम्बरको ट्याक्टरमा मोटरसाइकल ठक्कर खाँदा गम्भीर घाइते भएका मियाको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
मोटरसाइकलमा सवार अर्का एक जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ। फरार ट्याक्टर चालकको खोजी भइरहेको र सबै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण