शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

टेबलटेनिस पदक विजेता निश्चललाई आरम्भको सम्मान, प्राज्नाको बिदाइ

शुक्रबार, ०१ जेठ २०८३, १७ : ३३
शुक्रबार, ०१ जेठ २०८३

सारांश

  • आरम्भ संस्कार विद्यालयले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपका पदक विजेता निश्चल थापा क्षेत्रीलाई सम्मान गरेको छ।
  • निश्चलले भारतमा भएको प्रतियोगितामा यु-१५ ब्वाइज डबल्समा रजत र टिम इभेन्टमा कांस्य पदक जितेका थिए।
  • विद्यालयले दक्षिण कोरियामा हुने प्रतियोगितामा सहभागी हुन जाने प्राज्ना महर्जनलाई बिदाइ गरेको छ।

काठमाडौँ । काठमाडौँको गोल्कुपाखास्थित आरम्भ संस्कार विद्यालयले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपका पदक विजेता निश्चल थापा क्षेत्रीलाई शुक्रबार सम्मान गरेको छ। 

भारतको सिम्लामा अप्रिल ८ देखि ११ तारिखसम्म भएको उक्त प्रतियोगितामा निश्चलले यु–१५ ब्वाइज डबल्समा रजत र टिम इभेन्टमा कांस्य पदक जितेका थिए।

विद्यालयका प्रिन्सिपल नरेशप्रसाद श्रेष्ठ र भाइस प्रिन्सिपल दिनेश श्रेष्ठले निश्चललाई प्रशंसा पत्र र मायाको चिनो प्रदान गरी सम्मान गरे। सोही अवसरमा दक्षिण कोरियाको इन्चोनमा हुने इन्टरनेसनल क्रिस्टियन टेबलटेनिस प्रतियोगितामा सहभागी हुन जाने प्राज्ना महर्जनलाई बिदाइ गरिएको छ। 

निश्चल कक्षा ९ र प्राज्ना कक्षा ७ मा सोही विद्यालयमा अध्ययनरत छन्। विद्यालयले यी दुवै प्रतिभावन खेलाडीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको छ।

मे २७ तारिखमा हुने प्रतियोगितामा नेपालबाट प्राज्नासहित ६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। टोलीमा हिमाल विष्ट, योङगी पौडेल, सुरम्य शाक्य, रिजन शाक्य र रिभानमुनि वज्राचार्य रहेका छन्। प्रतियोगिताअघि खेलाडीहरूले इन्चोनमा मे १६ देखि २६ तारिखसम्म चल्ने विशेष प्रशिक्षण क्याम्पमा सहभागिता जनाउनेछन्। नेपाली टोली शनिबार त्यसतर्फ प्रस्थान गर्नेछ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल श्रेष्ठले निश्चलको सफलताले विद्यालय र सिंगो राष्ट्रको प्रतिष्ठा बढाएको बताए। उनले प्रतिभावान खेलाडीलाई प्रोत्साहन गर्न छात्रवृत्ति दिँदै आएको उल्लेख गर्दै प्राज्नालाई पनि सफलताको शुभकामना दिए। भाइस प्रिन्सिपल दिनेश श्रेष्ठले विद्यालयले शिक्षाका साथै खेलकुद र विद्यार्थीको चौतर्फी विकासमा जोड दिइरहेको बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप