बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

उपराष्ट्रपति यादवसँग इजरायली राजदूतको भेटवार्ता

शुक्रबार, ०१ जेठ २०८३, १८ : ३३
शुक्रबार, ०१ जेठ २०८३

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । 

भेटका क्रममा दुई देशबिचको द्विपक्षीय सम्बन्ध, आर्थिक सहयोग, श्रम आप्रवासन, शिक्षा तथा तालिम लगायतका विषयमा संवाद भएको हो ।

भेटका क्रममा उपराष्ट्रपति यादवले सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र इजरायलबिच मित्रता, सद्भाव र पारस्परिक समझदारी रहेको बताए। उनले अर्थतन्त्र, व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहयोग विस्तार गर्ने प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै त्यसबाट दुवै मुलुकले लाभ लिनुपर्नेमा जोड दिए । 

यादवले नेपाली श्रमिकलाई रोजगारीको अवसर दिएकोमा इजरायल सरकारलाई धन्यवाद दिँदै कृषि प्रविधि र अनुसन्धानमा हुने सहकार्यले नेपालको कृषि क्षेत्रको आधुनिकीकरणमा ठुलो भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

‘शिक्षा, कृषि, सहकारी विकास, प्रहरी तथा सैनिक तालिम लगायतका क्षेत्रमा इजरायलले पुर्‍याउँदै आएको सहयोग प्रशंसनीय छ,’ उपराष्ट्रपति यादवले भने। उनले पश्चिम एसियाको विकसित परिस्थितिलाई नेपालले नजिकबाट अवलोकन गरिरहेको र नेपाल शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तप्रति दृढ रहेको समेत स्पष्ट पारे। सोही अवसरमा उनले इजरायलको ७८औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा इजरायली सरकार र जनतालाई शुभकामना समेत दिएका छन् ।

इजरायली राजदूत बासले नेपाललाई कृषि, माहुरी पालन र माछापालन जस्ता क्षेत्रमा सहयोग गर्न इजरायल इच्छुक रहेको बताए। उनले ‘लर्न एण्ड अर्न’ कार्यक्रममार्फत धेरै नेपालीले सीप सिकेर स्वदेशमा काम गरिरहेको चर्चा गर्दै भविष्यमा पनि नेपालीहरूका लागि थप रोजगारीका अवसर (वर्क अपर्चुनिटी) प्रदान गर्न इजरायल सकारात्मक रहेको स्पष्ट पारे। राजदूत बासले नेपाललाई विभिन्न प्राविधिक क्षेत्रमा सहयोग गर्ने इजरायलको चाहना रहेको जानकारी समेत गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप