शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
चीन–अमेरिका सम्बन्ध

ट्रम्प–सी बेइजिङ शिखर सम्मेलनः सीमित सफलता पनि किन असाधारण ?

शुक्रबार, ०१ जेठ २०८३, २१ : २८
शुक्रबार, ०१ जेठ २०८३

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच बेइजिङमा सम्पन्न दुईदिने शिखर सम्मेलनबाट कुनै ठूलो सम्झौता नभए पनि यसलाई सीमित तर महत्त्वपूर्ण सफलताका रूपमा व्याख्या गरिएको छ ।
  • चीनले ट्रम्पको असाधारण स्वागत गरी आफ्नो कूटनीतिक क्षमता प्रदर्शन गर्‍यो, जसले ट्रम्पलाई प्रभावित पारेको देखिन्थ्यो ।
  • यस शिखर सम्मेलनको मुख्य केन्द्र व्यापार र व्यवसाय रह्यो, जसमा अमेरिकी उद्योगपतिहरूको उपस्थिति र चीनद्वारा अमेरिकी कृषि तथा ऊर्जा उत्पादन खरिद गर्ने सहमतिले दुई देशको गहिरो आर्थिक सम्बन्धलाई उजागर गर्‍यो ।

बेइजिङ । विश्व राजनीतिमा केही यस्ता भेटवार्ता हुन्छन्, जसले केवल दुई देशबिचको सम्बन्धलाई मात्र होइन, सम्पूर्ण विश्वको शक्ति सन्तुलन, अर्थतन्त्र र भविष्यको दिशा प्रभावित गर्न सक्छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच बेइजिङमा भर्खरै सम्पन्न दुईदिने शिखर सम्मेलन त्यस्तै दुर्लभ घटनामध्ये एक बनेको छ ।

मे १४–१५ मा भएको यो शिखर सम्मेलनलाई विश्वभरका सञ्चारमाध्यम, नीति विश्लेषक, लगानीकर्ता र सरकारहरूले अत्यन्त चासोका साथ हेरे । कारण स्पष्ट थियो– अमेरिका र चीन अहिले केवल व्यापारिक साझेदारमात्र होइनन्, उनीहरू विश्व नेतृत्व, प्रविधि, सैन्य प्रभाव, ऊर्जा, कृत्रिम बौद्धिकता (एआई) र भू–राजनीतिक प्रभुत्वका प्रतिस्पर्धी पनि हुन् ।

यही कारणले यो शिखर सम्मेलनबाट ठुलो ऐतिहासिक सम्झौताको अपेक्षा गरिएको थियो, तर अन्त्यमा कुनै ‘महासम्झौता’ भएन । विशाल व्यापारिक प्याकेज घोषणा भएन । न त युद्ध अन्त्य भयो । ताइवान विवाद ज्यूँका त्यूँ छ । यद्यपि धेरै विश्लेषकले यस भ्रमणलाई ‘सीमित भए पनि महत्त्वपूर्ण सफलता’का रूपमा व्याख्या गरेका छन् । यस्तो किन ? किनभने आजको अमेरिका–चीन सम्बन्ध यति धेरै अविश्वास, प्रतिस्पर्धा र रणनीतिक तनावले भरिएको छ कि सामान्य संवाद कायम रहनुमात्र पनि ठुलो उपलब्धि मान्नु पर्ने अवस्था छ ।

भव्य स्वागतः चीनको कूटनीतिक शक्ति प्रदर्शन

चीन विश्व राजनीतिमा केवल आर्थिक वा सैन्य शक्तिका रूपमा मात्र होइन, अत्यन्तै योजनाबद्ध कूटनीतिक आतिथ्यका लागि पनि परिचित छ । ट्रम्पको भ्रमणमा बेइजिङले यही क्षमता फेरि प्रदर्शन गर्‍यो । सी जिनपिङले ट्रम्पको असाधारण स्तरको स्वागत गरे । विमानस्थलमा उपराष्ट्रपति हान झेङको स्वागतदेखि लिएर विशाल औपचारिक समारोह, ऐतिहासिक स्थल भ्रमण, सांस्कृतिक कार्यक्रम र सरकारी भोजसम्म सबै कार्यक्रम सूक्ष्म रूपमा योजनाबद्ध देखिन्थे ।

ट्रम्प भ्रमणअघि नै ‘सी जिनपिङले मलाई ठुलो अँगालो हाल्नेछन्’ भनेर ठट्टा गरेका थिए । यद्यपि चिनियाँ राजनीतिक संस्कृतिमा सार्वजनिक अँगालो सामान्य होइन, तर बेइजिङले दिएको आतिथ्यले ट्रम्पलाई स्पष्ट रूपमा प्रभावित गरेको देखिन्थ्यो । विशेषगरी स्वर्गको मन्दिर (टेम्पल अफ हेभन ) भ्रमणमा सी जिनपिङ स्वयं सहभागी हुनु सकारात्मक कूटनीतिक सङ्केतका रूपमा हेरिएको थियो । ट्रम्पले त्यसपछि सार्वजनिक रूपमा सीलाई ‘मेरो साथी’ भन्दै प्रशंसा गरेका थिए ।

ट्रम्पले पहिलो कार्यकालमा २०१७ मा पनि चीन भ्रमण गरेका थिए, तर त्यसबेला र अहिलेको विश्व परिस्थिति पूर्ण रूपमा फरक छ । त्यसयता चीनले विद्युतीय सवारी (ईभी), रोबोटिक्स, कृत्रिम बौद्धिकता, हरित प्रविधि, सेमिकन्डक्टर विकास जस्ता क्षेत्रमा तीव्र प्रगति गरेको छ । उदाहरणका लागि, अहिले चीनको ईभी फ्लीट संसारका बाँकी सबै देशको संयुक्त ईभी संख्यासँग लगभग बराबर पुगेको बताइन्छ ।

अर्कोतर्फ अमेरिका–चीन सम्बन्ध पछिल्ला वर्षहरूमा लगातार तनावग्रस्त बन्दै गएको छ । व्यापार युद्ध, प्रविधि प्रतिबन्ध, ताइवान, दक्षिण चीन सागर, मानवअधिकार र भू–राजनीतिक प्रतिस्पर्धाले सम्बन्धलाई गहिरो रूपमा प्रभावित गरेको छ, तर ट्रम्प पुनः ह्वाइट हाउस फर्किएपछि उनले चीनप्रति तुलनात्मक रूपमा व्यावहारिक दृष्टिकोण अपनाएका छन् । उनले अमेरिका र चीन मिलेर विश्वका समस्याहरू समाधान गर्न सक्ने ‘जीटू’ अवधारणासमेत उल्लेख गरेका थिए ।

भ्रमणको मुख्य केन्द्र, व्यापार र व्यवसाय

यस शिखर सम्मेलनको सबैभन्दा महत्त्वपूर्ण पक्ष व्यापार र अर्थतन्त्र नै थियो । ट्रम्प चीन पुग्दा उनको प्राथमिक चासो इरान सङ्कट अन्त्य गर्ने र स्टे«ेट अफ होर्मुज पुनः पूर्ण रूपमा खुलाउने विषय रहेको बताइएको थियो । उता चीनले ताइवानबारे अमेरिकाले ‘सद्भाव’ देखाउनुपर्ने सन्देश दिएको थियो । तर अन्ततः वार्ताको केन्द्र यी संवेदनशील सुरक्षा विषय नभएर व्यापार र व्यवसाय बने । यसको सबैभन्दा ठुलो संकेत ट्रम्पसँगै चीन पुगेका अमेरिकी उद्योगपतिहरूको उपस्थिति थियो ।

प्रतिनिधिमण्डलमा विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्क, चिप निर्माता कम्पनी एनभिडियाका जेन्सेन हुआङ, एप्पलका सीईओ टिम कुकजस्ता विश्व चर्चित उद्योगपति सहभागी थिए । यसले अहिले अमेरिका–चीन सम्बन्धको केन्द्रमा व्यापार मात्र होइन, एआई, ईभी सेमिकन्डक्टर प्रविधि पनि पुगेको प्रस्ट देखाएको छ ।

भ्रमणमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रक्षा मन्त्रीपिट हेग्सेथ सहभागी भए पनि वास्तविक वार्ता संयोजनमा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टको भूमिका अत्यन्त महत्त्वपूर्ण मानिएको थियो । रिपोर्टअनुसार ट्रम्प बेइजिङ पुग्नुअघि दक्षिण कोरियाको इन्चोन विमानस्थलमा स्कट बेसेन्ट र चिनियाँ उपप्रधानमन्त्री हे लिफेङ अन्तिम सहमतिका विवरण मिलाइरहेका थिए । यसले भ्रमणको वास्तविक प्राथमिकता ‘व्यापारिक डिलिवरेबल्स’ रहेको स्पष्ट देखाउँछ ।

मार्को रुबियोः प्रतिबन्धित नेतादेखि स्वागत गरिएका पाहुनासम्म

भ्रमणको अर्को रोचक पक्ष मार्को रुबियोसँग सम्बन्धित थियो । रुबियोलाई चीनले पहिले सिनेटर हुँदा चीनविरोधी धारणा राखेको आरोपमा प्रतिबन्ध लगाएको थियो । तर यस भ्रमणमा उनलाई निकै सम्मानपूर्वक व्यवहार गरियो । विश्लेषकहरूका अनुसार चीनले अहिले रुबियोलाई भविष्यको सम्भावित अमेरिकी राष्ट्रपति उम्मेदवारका रूपमा पनि हेरिरहेको छ ।

रुबियो पहिलोपटक चीन पुगेका थिए । ग्रेट हल अफ द पिपुलको भित्री सजावट हेरेर उनी प्रभावित भएको तस्बिर सामाजिक सञ्जालमा भाइरलसमेत भएको थियो ।

पछिल्ला वर्षमा अमेरिका र चीनबिच ‘डिकपलिङ’ अर्थात् आर्थिक अलगावको चर्चा व्यापक थियो । अमेरिका चीनमाथिको निर्भरता घटाउन चाहन्थ्यो भने चीनले पनि वैकल्पिक आपूर्ति प्रणाली निर्माण गरिरहेको थियो, तर व्यवहारमा दुवै अर्थतन्त्र अझै अत्यन्त गहिरो रूपमा जोडिएका छन् । चीनले यस भ्रमणमा अमेरिकी कृषि तथा ऊर्जा उत्पादन खरिद गर्ने सहमति जनाएको थियो । यसमा भटमास, गाईको मासु, ऊर्जा उत्पादन, बोइङ विमान समावेश थिए । अर्कोतर्फ अमेरिकाले चिनियाँ लगानीलाई स्वागत गर्ने सङ्केत दिएको थियो । यद्यपि अमेरिकी सुरक्षा निकाय विदेशी लगानी समितिले राष्ट्रिय सुरक्षाका कारण केही चिनियाँ परियोजना रोक्न सक्ने सम्भावना अझै कायम छ ।

चीन किन अझै अपरिहार्य छ ?

अमेरिकी कम्पनीहरूका लागि चीन अझै संसारकै सबैभन्दा महत्त्वपूर्ण बजारमध्ये एक हो । चीनको विशाल उपभोक्ता बजार, दक्ष श्रमिक, बलियो आपूर्ति शृङ्खला, प्रविधि इकोसिस्टम, तीव्र नवप्रवर्तनका कारण पनि अमेरिकी कम्पनीहरूका लागि चीन अपरिहार्य छ । विशेषगरी टेस्ला र एप्पलजस्ता कम्पनीहरूको चीनसँग गहिरो आर्थिक सम्बन्ध छ । यसैले पूर्ण आर्थिक अलगाव व्यावहारिक रूपमा अत्यन्त कठिन मानिन्छ ।

ताइवानः सबैभन्दा संवेदनशील विस्फोटक मुद्दा

वार्ताको सबैभन्दा संवेदनशील विषय ताइवान थियो । सी जिनपिङले वार्ताको सुरुवातमै चेतावनी दिँदै ‘यदि ताइवान प्रश्न गलत तरिकाले व्यवस्थापन गरियो भने अमेरिका र चीन ठोक्किन सक्छन्’ भने । यो अत्यन्त महत्त्वपूर्ण सङ्केत थियो । ताइवानमा सत्तारूढ डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी)ले यो शिखर सम्मेलन अत्यन्त चिन्ताका साथ हेरिरहेको थियो । ताइवानको सुरक्षा ठुलो शक्तिहरूको निर्णयमा निर्भर छ । विश्लेषकहरूका अनुसार ट्रम्पले सार्वजनिक रूपमा ताइवानबारे विवादास्पद टिप्पणी नगरेकाले ताइवान पक्षले तत्काल राहत महसुस गरेको हुन सक्छ ।

तर चीनले स्पष्ट रूपमा ताइवानलाई अमेरिका–चीन सम्बन्धको ‘रेड लाइन’ बनाएको सङ्केत दिएको छ ।

सम्बन्धको नयाँ परिभाषाः ‘रचनात्मक रणनीतिक स्थायित्व’

यस शिखर सम्मेलनको अर्को महत्त्वपूर्ण उपलब्धि दुवै देशले सम्बन्धलाई नयाँ भाषामा परिभाषित गर्ने प्रयास गर्नु थियो । ट्रम्प र सी जिनपिङले सम्बन्धलाई ‘रचनात्मक रणनीतिक स्थायित्व’का रूपमा व्याख्या गरे । यसको अर्थः प्रतिस्पर्धा जारी रहने तर प्रत्यक्ष टकराव टार्ने, संवाद कायम राख्ने, आर्थिक सहकार्य सम्भव भएसम्म अघि बढाउने भन्ने हो । विश्लेषकहरूका अनुसार अहिले अमेरिका–चीन सम्बन्ध ‘पूर्ण मित्रता’ वा ‘पूर्ण शत्रुता’मध्ये कुनै पनि अवस्थामा छैन । यो प्रतिस्पर्धा र सहकार्यको मिश्रित अवस्था हो ।

भ्रमणले सकारात्मक वातावरण बनाए पनि मूल समस्याहरू समाधान भएनन् । अझै पनिः दुई देशबिच एआई चिप प्रतिबन्ध कायम छन् । ताइवान तनाव यथावत छ । प्रविधि युद्ध जारी छ । अमेरिकी कंग्रेस चीनविरोधी छ । सैन्य प्रतिस्पर्धा बढिरहेको छ । विशेषगरी अमेरिकी कंग्रेस चीनप्रति अत्यन्त कठोर रहेको अवस्थामा ट्रम्पले दीर्घकालीन रूपमा स्थिर सम्बन्ध कायम राख्न सक्छन् वा सक्दैनन् भन्ने प्रश्न खुलै छ ।

इरान युद्ध र ट्रम्पमाथिको घरेलु दबाब

ट्रम्पले सेप्टेम्बर २४ मा सी र प्रथम हिला पेङ लियुआनलाई ह्वाइट हाउस भ्रमण गर्न निम्तो पनि दिएका छन् । २०२६ मा न्यूयोर्कमा हुने संयुक्त राष्ट्र महासभामा भाग हुने सीको योजनाबद्ध यात्रासँग मेल खाने गरी उनले यो निम्तो दिएको हुन सक्छ । दुवै पक्षका लागि सबै कुरा राम्रो सुनिन्छ, तर सम्बन्ध सुधारका बाधाहरूलाई कम आकलन गर्नु हुँदैन । विशेष गरी, यो भ्रमणले उनीहरू बिचको आधारभूत भिन्नताहरूलाई सम्बोधन गरेकौ छैन । तैपनि, यो शिखर सम्मेलनले व्यावहारिक सह–अस्तित्वको वर्तमान प्रवृत्तिलाई निरन्तरता दिएर मध्यम सफलता हासिल गरेको मान्न सकिन्छ । 

इरानसँगको अनावश्यक युद्ध र ग्यासको मूल्यमा वृद्धिले घरेलु स्तरमा ट्रम्पको समर्थन दरमा गम्भीर चोट लागेको छ । उनको रिपब्लिकन पार्टीले आगामी मध्यावधि चुनावमा एक भयानक लडाइँको सामना गरिरहेको छ । यतिमात्र होइन, अमेरिकी कांग्रेस चीनप्रति दृढतापूर्वक शत्रुतापूर्ण छ । ट्रम्प सबै घरेलु दबाबहरूको प्रतिरोध गरेर र अमेरिका–चीन सम्बन्ध स्थिर कायम राख्ने ट्रयाकमा रहन सक्छन कि सक्दैनन् भनेर हेर्न बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप