रास्वपा सहिद लखनको अधिवेशनमा विवाद : विधि पालना नभएको भन्दै उम्मेदवारकै असन्तुष्टि
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीको गोरखाको सहिद लखन गाउँपालिका अधिवेशनमा सभापतिका उम्मेदवारले विधि र प्रक्रिया मिचेर अधिवेशन गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।
- सभापतिका उम्मेदवार मनोज श्रेष्ठले पार्टीको सदस्य नै नरहेका व्यक्तिहरूलाई प्रतिनिधि बनाएर ल्याइएको र फर्जी मत खसालिएको आरोप लगाएका छन् ।
- निर्वाचन समितिका प्रतिनिधि राजेश्वर अंगाईले विधान पालना गरेर नै चुनाव सम्पन्न गरिएको र मतगणना केन्द्र र प्रदेशकै प्रतिनिधिको रोहवरमा जिल्ला पार्टी कार्यालयमा गरिएको बताएका छन् ।
गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टीको पालिका अधिवेशन अन्तर्गत गोरखाको सहिद लखन गाउँपालिका विवाद उत्पन्न भएको छ । सभापतिका उम्मेदवारले नै विधि र प्रक्रिया मिचेर अधिवेशन गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।
अधिवेशनमा पालिका सभापतिका लागि पुष्पाखर लामिछाने, मनोज श्रेष्ठ र अमृत श्रेष्ठको उम्मेदवारी परेको थियो । उम्मेदवारबिच सर्वसम्मतिको प्रयास सफल नभएपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्ने भनिए पनि उम्मेदवारलाई नै जानकारी नदिई मतदान र मतगणना भएको सभापतिका उम्मेदवार मनोज श्रेष्ठले आरोप लगाए ।
कुल १ सय ८५ जना मतदाता रहेको पालिकामा १ सय ३४ जनाले मतदान गरेका थिए । तर उक्त निर्वाचनमा पार्टीको सदस्य नै नरहेका व्यक्तिहरूलाई प्रतिनिधि बनाएर ल्याइएको र फर्जी मत खसालिएको श्रेष्ठको दाबी छ । ‘पार्टीको मेम्बरसिप नै नभएका मान्छेहरूले भोट हालेका छन् । उम्मेदवार पनि एउटै पात्रलाई दुईवटा थर राखेर फर्जी खडा गरिएको छ,’ उनले भने ।
मतदान प्रक्रिया मात्र नभई मतगणनामा समेत धाँधली भएको असन्तुष्ट पक्षको आरोप छ । श्रेष्ठका अनुसार सहिद लखन गाउँपालिकामा भएको मतदानको मतगणना त्यहाँ नगरी मतपेटिका अन्यत्रै लगेर गनिएको थियो ।
उम्मेदवार वा उनीहरूको प्रतिनिधिको रोहवरबिना नै मुचुल्कासमेत नउठाई मतपेटिका लगिएको र एकलौटी रूपमा परिणाम घोषणा गरिएको उनले बताए । निर्वाचन कमिटी र पार्टीले कुनै पनि विधान र प्रक्रियाको पालना नगरेको भन्दै सबै प्रक्रियालाई बदर गर्न उनको माग छ ।
मतगणनाबाट सभापतिमा पुस्पाखर लामिछाने विजयी भैसकेका बताइएको छ । खसेको १ सय ३४ मत मध्ये लामिछानेले ९३ मत पाएका छन् भने निकटतम प्रतिस्पर्धी अमृत श्रेष्ठले ४० तथा अर्का उम्मेदवार मनोजले २ मत पाएका छन् ।
जिल्लाका सहसचिव तथा निर्वाचन समितिका प्रतिनिधि राजेश्वर अंगाई निर्वाचन समितिको रोहबरमा नै मतपेटिका सुरक्षित रूपमा जिल्ला लगेर गणना गरिएको बताउँछन् । ‘हामीले विधान पालना गरेर नै चुनाव सम्पन्न गरेका छौँ । मतगणनाको हकमा केन्द्र र प्रदेशकै प्रतिनिधिको रोहबरमा जिल्ला पार्टी कार्यालय लगिएको हो,’ उनले भने ।
प्रदेशका सचिवालय सदस्य हरि धितालको संयोजकत्वमा निर्वाचन समिति गठन भएको थियो । अधिवेशनमै सहभागी नेता हरिशरण आचार्यले सामान्य घटनालाई लिएर विवाद सिर्जना गर्न खोजिएको बताए । ‘निर्वाचन सबै प्रक्रियामा छ ।
मतदान सुरु भएपछि उम्मेदवारी निकाल्छु भनेर एक जना साथीले भन्नुभयो,’ उनले भने, ‘मतदान सुरु भएपछि त्यो गर्न मिल्दैनथ्यो । अरू आरोपहरू निराधार हुन् ।’ उनका अनुसार, विवाद उत्पन्न भएपछि मतगणनाका लागि मतपेटिका सुरक्षित साथ जिल्लामा लगिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण