आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय
स्मृति

राजा वीरेन्द्रले ‘देशभक्त र प्रभावशाली’ नेता मानेका मदन भण्डारी

एमालेबाटै प्रधानमन्त्री र राष्ट्रपति बन्दा पनि पत्ता लागेनन् मदनका हत्यारा
आइतबार, ०३ जेठ २०८३, १३ : २६
आइतबार, ०३ जेठ २०८३

सारांश

  • नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सम्झनामा आज ३३औँ मदन–आश्रित स्मृति दिवस मनाइँदैछ ।
  • दासढुंगा घटना छानबिनका लागि तीन वटा समिति बने पनि पूर्ण रिपोर्ट सार्वजनिक नहुँदा घटनाको रहस्य खुल्न बाँकी छ ।
  • मदनले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) ले नेपालको राजनीतिक परिवर्तनमा ठूलो मार्गदर्शन गरेको छ ।

काठमाडौँ । नेकपा एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सम्झनामा आज ३३औँ मदन–आश्रित स्मृति दिवस मनाइँदैछ । मदन–आश्रितको रहस्यमय मृत्युको दिन अर्थात् जेठ ३ लाई प्रत्येक वर्ष एमालेले स्मृति दिवसका रूपमा मनाउँदै आएको छ ।

नेताद्वयको सम्झनामा यो वर्ष पनि एमालेले पार्टी कमिटीहरूलाई देशभर स्मृतिसभा तथा विविध रचनात्मक कार्यक्रम गर्न निर्देशन दिएको छ । पार्टी केन्द्रको आयोजनामा एमाले नेताहरू आइतबार मदननगर, बल्खुमा पुगेर मदनको शालिकमा माल्यार्पण गरी उनको योगदानको स्मरण गरेका छन् ।

आश्चर्यको कुरा त के छ भने चर्चित दासढुङ्गा घटना छानबिनका लागि तीन वटा समिति बने पनि पद्मरत्न तुलाधर नेतृत्वको आयोगबाहेक अन्यको पूर्ण रिपोर्ट अझै सार्वजनिक भएको छैन, जसले गर्दा उक्त घटना कसरी, कसले र किन गरायो भन्ने रहस्यको पर्दाफास हुन बाँकी छ ।

जीप दुर्घटनामा मदन–आश्रितको निधन भएपछि तत्कालीन सरकारले त्रिलोकप्रताप राणाको संयोजकत्वमा छानबिन आयोग बनाएको थियो । नेकपा एमालेले केपी शर्मा ओलीको संयोजकत्वमा अर्को छानबिन आयोग बनायो । त्यसबाहेक नागरिकस्तरबाट पद्ममरत्न तुलाधर नेतृत्वको तेस्रो आयोग गठन भयो । तीन वटै आयोगका प्रतिवेदनको सारमा उक्त घटना ‘षड्यन्त्रमूलक’ भनियो । हुन त मदनको मृत्युपछि कैयौँ पटक एमालेले नै सरकारको नेतृत्व पनि गर्‍यो । मदनपत्नी विद्या भण्डारी मुलुकको राष्टपतिसमेत भइन् । यद्यपि उक्त दुर्घटनाको सत्यतथ्य बाहिर नआउनुले घटना थप रहस्यकै गर्भमा रहन पुग्यो ।

मदनले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)ले नेपालको राजनीतिक परिवर्तनमा ठुलो मार्गदर्शन गरेको राजनीतिका जानकारहरूको भनाइ छ । ‘गणतन्त्र स्थापना, माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन, कांग्रेसलाई सामाजिक न्यायका मुद्दामा समर्थन गर्ने बनाउन र समाजवाद उन्मुख संविधान निर्माण गर्न जबजको वैचारिक भूमिका छ’, एमाले नेता प्रदीप ज्ञवालीले भने, ‘एमालेको मार्गदर्शक सिद्धान्त नै जबज हो र मदन भण्डारी पथप्रदर्शक हुनुहुन्छ ।’

राजनीतिक शास्त्रका प्राध्यापक कृष्ण पोखरेल पनि मदनले त्यतिबेला प्रतिपादन गरेको जबजमा निर्वाचनबाट कम्युनिस्टहरू जनतामा स्थापित हुन सक्ने भए पनि टिक्न दिदैनन् भनेर पुँजीवादी लोकतन्त्रका विशेषता समावेश गरेको बताउँछन् ।

‘आवधिक निर्वाचन, बहुमतको शासन, अल्पमत विपक्ष, कानुनी राज्यजस्ता विषय समावेश गरेर मदनले के देखाउन खोज्नुभयो भने निर्वाचनबाट आयौँ भने हामीप्रति कुदृष्टि राख्नेहरूसँग ट्रयाकल गर्न सकिन्छ र तिम्रो र हाम्रो लोकतन्त्रमा के फरक छ भनेर प्रश्न गर्न सकिन्छ भनेर समयसापेक्ष ढंगले विचारलाई परिमार्जन गर्नुभयो’, पोखरेलले भने ।

तर, मदनको विचारअनुसार अहिले एमाले हिँड्न नसकेको प्राध्यापक पोखरेल बताउँछन् । ‘पार्टीमा आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने र फरक विचारलाई सम्मान गर्नुपर्छ भनेर मदनले व्यवहारमै देखाएका थिए’, पोखरेलले रातोपाटीसँग भने, ‘उदाहरणका लागि सीपी मैनालीको फरक विचार भए पनि उनलाई मदनले नेतृत्वमा ल्याए ।’

पोखरेलको बुझाइमा अहिलेको एमालेले मदनको विचारलाई पदमा पुग्न प्रयोग गरे पनि पदमा पुगेपछि निरंकुश ढंगले काम गर्ने गरेको छ । ‘त्यसको एक्स्ट्रिम उदाहरण अहिलेका अध्यक्ष केपी ओली नै हुन्, जसले गर्दा पार्टीभित्र आन्तरिक लोकतन्त्र मर्दै गयो भने चाकरीतन्त्र मौलायो । जसका कारण पार्टी र जनताबिचको जीवन्तता हरायो,’ पोखरेलले भने ।

  • को थिए मदन भण्डारी ?

ताप्लेजुङको तत्कालीन ढुंगेसाँघु गाविस वडा नं ८ मा २००९ साल असार १४ गते जन्मिएका मदन भण्डारी २०४८ सालको आम निर्वाचन अघिसम्म नेपाली राजनीतिमा त्यति धेरै चर्चामा थिएनन् । यसो हुुनुमा उनले त्यसवेला नेतृत्व गरेको पार्टीको संगठन देशव्यापी भइसकेको पनि थिएन । यद्यपि केही नेता कार्यकर्ताबिचमा भने उनको पकड बढ्दै गइरहेको थियो ।

प्रतिवद्ध नेता–कार्यकर्ता रहेकाले आन्तरिक रूपमा संगठन विस्तार भइरहे पनि तत्कालीन समयमा एमाले भूमिगत अवस्थाबाट भर्खर बाहिर आएकाले मदन नेतृत्वमा रहेको पार्टीको खासै चर्चा थिएन ।

मदनसँगै २०४८ अघिसम्म एमालेका धेरै नेताहरू भूमिगत नै थिए । भूमिगत जीवनवाट सार्वजनिक भएको एक वर्ष नबित्दै मदन भण्डारी यसरी लोकप्रिय भए कि जसले त्यसवेलाका अन्तरिम सरकारका प्रधानमन्त्री समेत रहेका सन्त नेता कृष्णप्रसाद भट्टराईलाई प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट पराजित गरिदिए ।

०४८ को निर्वाचनमा मदन काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ र ५ बाट उम्मेदवार बनेका थिए । जतिवेला नेपालमा भर्खर प्रजातन्त्र पुनर्स्थापना भएको थियो । प्रजातन्त्र पुनर्स्थापनापछि हुन लागेको निर्वाचनमा कांग्रेस र एमालेका शीर्ष तहका केही नेताहरूबिच आपसमा चुनावी प्रतिस्पर्धा नगरौँ भनेर मदन भण्डारीले कांग्रेससँग प्रस्ताव गरेका थिए । सोही अनुसार सुनसरी निर्वाचन क्षेत्रनम्बर १ मा एमालेका अध्यक्ष मनमोहन अधिकारीविरुद्ध कांग्रेसले उम्मेदवारी नदिने र काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा तत्कालीन कांग्रेस सभापति तथा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईविरुद्ध एमालेले उम्मेदवारी नदिने मदनको प्रस्ताव थियो ।

मदनले यस्तो प्रस्ताव राख्नुमा देशका शीर्ष र देशलाई धेरै आवश्यकता पर्ने नेता सदनमा नछुटुन् भन्ने उद्देश्यक थियो । प्रजातन्त्रलाई संस्थागत गर्न र बलियो बनाउन परिपक्व नेता चुनावमा पराजित हुनु हुँदैन भन्ने मदनको यो तर्कलाई कांग्रेसले पूरै बेवास्ता गरेको थियो ।

मदनको त्यो प्रस्ताव कांग्रेसले स्वीकार नगर्नुमा २०१५ सालमा एक्लै दुई तिहाइ बहुमत ल्याएको घमण्ड पनि एउटा कारण थियो । प्रजातन्त्र पुनर्स्थापनापछि त आफ्ना सबै नेताले झन् सजिलै जित्ने आत्मविश्वास कांग्रेसमा बढेकाले मदनको उक्त प्रस्ताव कांग्रेसले इन्कार गर्न पुगेको एमाले नेता प्रदीप ज्ञवालीको भनाइ छ ।

पञ्चायती शासनविरुद्ध २०४६ सालमा भएको जनआन्दोलन पश्चात बनेको कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारले २०४८ साल वैशाख २९ गते संसदको निर्वाचन गराउँदै थियो । कांग्रेसले मदनको प्रस्ताव अस्वीकार गरेपछि उक्त निर्वाचनमा कांग्रेस र एमाले खुला चुनावी प्रतिस्पर्धामा उत्रिए । सोही निर्वाचनमा मदन भण्डारीले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रधानमन्त्री तथा कांग्रेसका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरे । चुनावमा भट्टराई र भण्डारीको मतान्तर १ हजार ३९७ थियो । यो नतिजाले एक किसिमको हलचल नै पैदा गरायो ।

नेपाली राजनीतिमा सन्त नेता भनेर चिनिने कांग्रेस नेता भट्टराई चुनाव अघिसम्म मदनको तुलनामा निकै लोकप्रिय मानिन्थे । त्यस्ता नेतालाई काठमाडौँबाटै पराजित गरेपछि भण्डारीको चर्चा एकाएक चुलिन पुग्यो । त्यस चुनावी परिणामसँगै मदनले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)को चर्चा थप चुलियो, जसलाई अहिले पनि नेकपा एमालेले पार्टीको मूल सिद्धान्त मानिरहेको छ ।

कम्युनिस्ट पार्टीलाई चुनावी प्रतिस्पर्धाबाट स्थापित गराउँदै लोकप्रिय बनाउने विचार मदनले जबजमार्फत अँगालेका थिए । सुरुवाती चरणमा मदनको उक्त विचारलाई अन्य कम्युनिस्ट पार्टी र विश्वका कम्युनिस्ट नेताहरूले समेत रुचाएनन् । बरु उक्त विचारलाई संविधानवादी र विसर्जनवादी भनेर आलोचना गरिन्थ्यो । तर भण्डारीले पार्टीको आन्तरिक जीवनलाई लोकतान्त्रिक प्रतिस्पर्धाबाट सञ्चालन गर्न सकिन्छ र कम्युनिस्ट पार्टी पनि जनमतबाटै सत्तामा पुगेर जनताले चाहेको प्रगतिशील परिवर्तनलाई स्थापित गर्न सकिन्छ भन्नेमा दृढ थिए । जति वेलासम्म पनि हिंसात्मक बाटो नअपनाउने कम्युनिस्ट हुनै सक्दैनन् र चुनावबाट जनताको जीवनमा परिवर्तन पनि ल्याउन सकिँदैन भन्ने अन्य कम्युनिस्ट समूह नेपालमा क्रियाशील थिए भने कम्युनिस्टहरू कहिल्यै लोकतान्त्रिक हुन सक्दैनन् भन्ने कांग्रेसको धारणा थियो ।

त्यस्तो वेलामा कांग्रेससँग एमालेले एक्लै चुनावी प्रतिस्पर्धा गर्नुपरेको थियो । २०५ सिटको त्यसवेलाको संसदमा कांग्रेसले ११० सिट जित्दा मदनकै लोकप्रियताका कारण एमाले ६९ सिटसहित दोस्रो पार्टी बन्न सफल भयो । अर्को कम्युनिस्ट पार्टी संयुक्त जनमोर्चाले २०४८ को चुनावमा ९ सिट जितेको थियो । कांग्रेसले त्यसवेला एमालेलाई भन्दा संयुक्त जनमोर्चालाई असली कम्युनिस्ट पार्टी मान्थ्यो । जनमोर्चा पनि आफूमात्र कम्युनिस्ट पार्टी भएको दाबी गर्दै त्यसवेला एमालेलाई संशोधनवादी शक्तिका रूपमा व्याख्या गर्ने गर्दथ्यो । कांग्रेस र जनमोर्चाको दोहोरो पेलानमा परेको एमालेलाई जोगाउने काम उनै मदन भण्डारीले गरेका थिए । २०४८ सालको निर्वाचनमा मदन संसदमा निर्वाचित हुँदा जम्मा ३९ वर्षका थिए । त्यसवेला मनमोहन अधिकारीबाहेक एमालेमा सार्वजनिक रूपमा नाम चलेका र पाका नेता नै थिएनन् । यस्तो अवस्थामा भण्डारीले आफू संलग्न पार्टीलाई ठुलो आकारमा फैलाउनु कम चुनौती थिएन ।

  • लेनिन ढलेका बेला मदन अनुमोदन

तत्कालीन समयमा वक्तृत्वकला र सन्तुलित भाषणशैलीमा भण्डारी जनआकर्षणका केन्द्र बन्न पुगेका थिए । विचारधारा र सिद्धान्तमा भण्डारीको दुरदर्शिताबारे आमजनताले खासै थाहा नपाए पनि उनको विचारधारा एमालेभित्र चर्को बहसको विषय बनेको थियो । जतिवेला कम्युनिस्ट पार्टीको नेतृत्वमा रहेको सोभियत संघ विघटन भएको घटना र लेनिनको सालिक नै उखेलिएको विश्वभर चर्चा भइरहेको अवस्था थियो ।

जानकारहरूका अनुसार पूर्वी युरोप र अन्य समाजवादी देशबाट कम्युनिस्ट सत्ता पतन भएको अवस्थामा नेपालमा कम्युनिस्ट पार्टीको झण्डालाई लोकप्रिय बनाउने काम मदनकै नेतृत्वमा भएको हो । जसले नेपाली मौलिकताको सिद्धान्त प्रतिपादन गरेर लागुुमात्र गरेनन्, नेपाली कम्युनिस्ट पार्टीलाई लोेकतन्त्रीकरण गर्दै जनसेवक पार्टीका रूपमा स्थापित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले जननेता नै बन्न पुगे ।

एमाले नेता प्रदीप ज्ञवाली मदन भण्डारी नेपाली राजनीतिमा छोटो समयमै लोकप्रिय बन्नुको मुख्य कारण कम्युनिस्ट आन्दोलनको लोकतन्त्रीकरणमा पुर्‍याएको योगदान नै प्रमुख भएको बताउँछन् । ‘कम्युनिस्ट आन्दोलनलाई उहाँले जसरी लोकतन्त्रीकरण गर्नुभयो, त्यो उहाँको ठुलो योगदान थियो । जसले मदनलाई कम्युनिस्ट आन्दोलनको संकटको मसिहा र मार्गदर्शक जस्तो बनायो’, ज्ञवालीले भने ।

मदनले २०४८ मा काठमाडौँका दुई ठाउँबाट बहालवाला प्रधानमन्त्रीलाई हराएर चुनाव जितेपछि संसारलाई नै एउटा प्रेरणा मिलेको ज्ञवालीले बताए । ‘त्यसैले न्यूजवीकले नेपालमा कार्ल मार्क्स जीवितै छन् भनेर उहाँको अन्तर्वार्ता समेत छाप्यो’, ज्ञवालीको भनाइ छ । 

सानैमा रुद्रीचण्डी कण्ठस्थ

पूर्वी पहाडी जिल्लाको विकट गाउँमा जन्मेका मदन भण्डारी सानो उमेरमा पनि तीक्ष्ण र मेधावी विद्यार्थीका रुपमा चिनिन्थे । उनी आठ–नौ वर्षको उमेरमै रुद्री र चण्डी कण्ठस्थ सुनाउने गर्थे भनेर समेत कतिपयले भन्ने गरेका छन् ।

बृन्दावन र बनारसबाट आचार्यसम्मको शिक्षा हासिल गरेका भण्डारी आफ्ना भाषणमा प्रायः झर्रा नेपाली शब्द प्रयोग गर्न रुचाउँथे । उनका कतिपय भाषणको अझैसम्म चर्चा हुने गरेको छ । उनले खुलामञ्चबाट नारायणहिटीतर्फ फर्कंदै राजालाई ‘श्रीपेच फुकालेर राजनीतिमा आउन’ चुनौती दिएका थिए ।

  • मदनको राजनीतिक सक्रियता

२०२८ सालमा पुष्पलाल समूहको नेकपा जनवादी क्रान्तिकारी सांस्कृतिक संघको केन्द्रीय सदस्य भएर कम्युनिस्ट विचारधारमा संगठित भएका मदन २०२९ सालमा बलराम उपाध्यायमार्फत नेपाल कम्युनिस्ट पार्टी पुष्पलाल समूहको सदस्य बनेका थिए । उनी २०३३ सालमा पुष्पलालबाट अलग भएको मुक्तिमोर्चाको सदस्य हुँदै क्रान्तिकारी को–अर्डिनेशन केन्द्रको केन्द्रीय सदस्य बने । को–आर्डिनेसन केन्द्रमा झापाबाट क्रान्ति सुरु गर्ने अहिलेका माले माहासचिव सीपी मैनाली र एमालेका वर्तमान अध्यक्ष केपी शर्मा ओलीको समूह पनि सामेल थियो । विभिन्न कम्युनिस्ट समूहहरू मिलाएर २०३५ सालमा नेकपा माले गठन हुँदा भण्डारी केन्द्रीय सदस्य बने । २०४१ सालमा आइपुग्दा भण्डारी नेकपा मालेको पोलिटव्युरो सदस्य बने र २०४६ मा भएको चौथो महाधिवेशनबाट उनी महासचिव निर्वाचित बनेका थिए ।

madan-bhandari

२०४६ को परिवर्तन पछाडि मनमोहन अधिकारीले नेतृत्व गरेको नेकपा मार्क्सवादी र मदन भण्डारीले नेतृत्व गरेको नेकपा मालेबिच एकता भयो । एकीकृत पार्टीको नाम नेकपा एमाले राखियो । २०४९ माघमा भएको नेकपा एमालेको पाँचौँ महाधिवेशनबाट मदन भण्डारी एमालेको महासचिव बन्न सफल । तर नेकपा एमालेको महसाचिव निर्वाचित भएको चार महिना नबित्दै २०५० साल जेठ ३ गते दासढुंगा जीप दुर्घटनामा भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भयो । भूमिगत जीवनबाट सार्वजनिक राजनीतिक जीवनमा आएको छोटो समयमै जीवन गुमाएका भण्डारी कम उमेर र छोटो अवधिमै नेपाली राजनीतिको शिखर व्यक्तित्व बन्न पुगेका थिए ।

मदनको निधन भएििछ उनको शोकमा सर्वसाधारण नेपालीले समेत कपाल मुण्डन गरेका थिए । उनको निधनमा नेपालका तत्कालीन राजा वीरेन्द्र शाहले समेत शोक वक्तव्य जारी गरेका थिए । जबकि त्यसअघि अन्य नेताको निधनमा राजाले त्यसरी शोक वक्तव्य निकाल्ने चलन थिएन । तर तत्कालीन राजा वीरेन्द्रले शोक वक्तव्यमात्र निकालेनन्, उनले मदन भण्डारीलाई स्मरण गर्दै देशभक्त योद्धा र प्रभावशाली नेताका रूपमा चित्रण गरेका थिए । मदनको निधनले देशलाई ठुलो क्षति भएको वीरेन्द्रले बताएका थिए । त्यसवेला एमालेको अध्यक्ष मनमोहन अधिकारी थिए । मनमोहनले त्यसवेला मदनबारे भनेका थिए– ‘बरु म मरेर मदनचाहिँ बाँच्नुपर्थ्यो ।’

२०५० साल जेठ ३ गते अपराह्न कास्कीको कार्यक्रम सकेर चितवन जाने क्रममा मदन–आश्रित सवार जीप दासढुंगामा दुर्घटनामा परेको थियो । दुर्घटनास्थमा हाल मदन–आश्रितको शालिक निर्माण गरिएको छ । ३३ वर्षअघि मदन–आश्रित सवार जीप दासढुंगामा भएको दुर्घटनाको खबर फैलनेबित्तिकै देशभरका हजारौँ जनता राति नै दासढुंगा पुगेका थिए । केही दिनपछि भण्डारी र आश्रितको शव काठमाडौँ ल्याएर २ दिनसम्म दशरथ रंगशालामा श्रद्धाञ्जलीका लागि राखिएको थियो । श्रद्धाञ्जली दिन लाखौँ मानिस सहभागी भए । रंगशालाबाट सुरु भएको शवयात्रा, त्रिपुरेश्वर, रत्नपार्क, पुतलीसडक, डिल्लीबजार, मैतीदेवी, गौशाला हुँदै आर्यघाटसम्म पुग्दा पनि टुटेको थिएन ।

राजनीतिक शास्त्रका प्राध्यापक पोखरेल दासढुंगा दुर्घटना प्रकरणमा सर्वसाधारण र एमालेले राख्ने दृष्टिकोण भन्दा अलि फरक विचार राख्छन् । त्यस घटनालाई हत्याको संज्ञा दिएर राजनीतिक पुँजी प्राप्त गर्ने साधनमात्र बनाइएको पोखरेलको बुझाइ छ ।

‘यसमा मेरो फरक बुझाई छ । दासढुंगा दुर्घटनालाई हत्याको संज्ञा दिएर राजनीतिक पुँजी प्राप्त गर्ने साधनमात्र बनाइयो’, उनले भने ।

एमाले नेता ज्ञवाली भने दासढुंगा दुर्घटनाका अन्तिम सूत्र अमर लामालाई रहस्यमय ढंगले हत्या गरिएकाले यो घटना रहस्यमै रहेको बताउँछन् । ‘माओवादीले अमर लामालाई किन मार्नुपर्थ्यो ? मदनप्रति माया र अमर लामाप्रति घृणा थियो भने त उनलाई समातेर प्रहरीलाई बुझाउनुपर्ने थियो, ताकि प्रमाण नष्ट नहोस् । यसले झन् बढी प्रश्न खडा गरेको छ’, ज्ञवालीले भने, ‘यसको रहस्य पत्ता लाग्न नसकेको यथार्थ हो । हाम्रो प्रयास पनि कतिपय सन्दर्भमा अपुरो भयो होला, तर कुनै न कुनै दिन यो रहस्यको पर्दा उदघाटित हुनैपर्छ भन्ने मलाई विश्वास छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप