बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

मदन भण्डारीलाई सम्झँदा मित्र गुमाएको पीडा मात्र होइन, युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति हुन्छ : ओली

आइतबार, ०३ जेठ २०८३, ०६ : ५६
आइतबार, ०३ जेठ २०८३

सारांश

  • एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीलाई सम्झँदा युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति हुने बताएका छन् ।
  • ३३ वर्षअघि दासढुंगामा भएको रहस्यमय घटनामा जननेता मदन भण्डारी र जीवराज आश्रितलाई गुमाएको स्मरण गर्दै ओलीले घाउका स्मृति झन् गाढा हुने बताए ।
  • ओलीले मदन भण्डारी जनताको बहुदलीय जनवाद निर्माणका अगुवा भएको र त्यसलाई समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा अघि बढाएको उल्लेख गरे ।

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीलाई सम्झँदा केवल एउटा नेता वा मित्र गुमाएको पीडा मात्र नभएर एउटा युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति हुने बताएका छन् । 

मदन–आश्रितको ३३ औँ स्मृति दिवस अवसरमा एक सन्देश जारी गर्दै उनले भनेका छन्– '३३ वर्ष अगाडि दासढुंगामा भएको रहस्यमय घटनामा हामीले श्रद्धेय जननेता मदन भण्डारी र जीवराज आश्रितलाई गुमायौँ। घाउहरू पुराना भए पनि समय बित्दै जाँदा तिनको दुखाइका स्मृति झन् गाढा हुँदा रहेछन्, अभावहरू झन् गहिरिँदा रहेछन्। जननेता मदन भण्डारी मेरो नेता, साथी, सहयोद्धा सबै हुनुहुन्थ्यो। जीवराज आश्रित कुशल संगठक हुनुहुन्थ्यो।  मदन भण्डारी हाम्रो आन्दोलनलाई नयाँ वैचारिक भाष्य दिने जनताको बहुदलीय जनवाद निर्माणका अगुवा हुनुहुन्थ्यो। '

जनताको बहुदलीय जनवादले विचारलाई युग अनुरूपको मौलिक परिष्कार दिएको आन्दोलनलाई बलियो आवाज दिएको र परिवर्तनको सपनालाई जनताको जीवनमा पुर्‍याउने मार्गचित्र दिएको उनले उल्लेख गरेका छन् ।  उनले भने 'त्यसलाई हामीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानका रूपमा अघि बढायौँ। '

उनी भन्छन्– 'मदन भण्डारी–जीवराज आश्रित, अनि यस आन्दोलनले जन्माएका कयौँ अग्रज र योद्धाहरू आज हामीमाझ शारीरिक रूपमा हुनुहुन्न। तर विचार र योगदान हाम्रो राजनीतिक यात्रामा दीप स्तम्भझैँ छन्। जनताको बहुदलीय जनवाद एक सिजनको लोकप्रियता आर्जन गर्ने औजार होइन, यथार्थको धरातलमा टेकेर उभिएको विचार हो। '

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप