सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

ठुला र लाेकप्रिय कलाकारले सङ्घको महत्त्व बुझेनन् : सांसद श्रेष्ठ

आइतबार, ०३ जेठ २०८३, १६ : ४९
आइतबार, ०३ जेठ २०८३

सारांश

  • बागमती प्रदेशका सांसद एवं अभिनेता मधुकुमार श्रेष्ठले नाम चलेका कलाकारहरूले नेपाल चलचित्र कलाकार सङ्घलाई बेवास्ता गर्ने गरेको आरोप लगाएका छन् ।
  • उनले ठुला कलाकारहरूले सङ्घको महत्त्व नबुझेको र उनीहरूको अनुपस्थिति सङ्गठनको भ्यालु नबुझेको हो कि भन्ने भान भएको बताए ।
  • सांसद श्रेष्ठले कलाकार सङ्घको भवन बेचेर सहरको केन्द्र भागमा जग्गा खोज्न आग्रह गर्दै भवन निर्माणका लागि बजेट विनियोजन गराउने प्रतिबद्धता व्यक्त गरे ।

काठमाडौँ । बागमती प्रदेशका सांसद एवं अभिनेता मधुकुमार श्रेष्ठले नाम चलेका कलाकारहरूले नेपाल चलचित्र कलाकार सङ्घलाई बेवास्ता गर्ने गरेको आरोप लगाएका छन् । आइतबार कलाकार सङ्घको २१ औँ साधारण सभाको उद्घाटन सत्रमा बोल्दै उनले सो कुरा बताएका हुन् । 

सांसद श्रेष्ठले सङ्घ सबै कलाकारको साझा छाता सङ्गठन भए पनि ठुला र पपुलर भनिएका कलाकारहरूको अनुपस्थितिले सङ्गठनको भ्यालु नबुझेको हो कि भन्ने भान भएको धारणा राखे ।

‘विदेशमा अवार्ड वा कार्यक्रम हुँदा वरिष्ठ र नाम चलेका कलाकारहरूको ओइरो लाग्छ, तर आफ्नै हकहितका लागि लड्ने संस्थाको अधिवेशनमा उहाँहरू देखिनुहुन्न’, उनले भने ‘उहाँहरू आउनुहुन्न भने यस्तो सङ्घको सदस्यता दिइरहनु र वरिष्ठ मानिरहनुको के औचित्य ?’ सङ्घलाई बेवास्ता गर्ने प्रवृत्तिले संस्था कमजोर हुने धारणा उनको थियो ।

सङ्घको नेतृत्वका लागि भइरहेको सबिन श्रेष्ठ र उत्तम केसी बिचको चुनावी प्रतिस्पर्धालाई लक्षित गर्दै सांसद श्रेष्ठले निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए ।

‘सामाजिक सञ्जालमा एक–अर्कालाई खुइल्याउने र तल झार्ने खेल भइरहेको  छ । यसले कलाकारिता क्षेत्रकै अपमान गर्ने हो’, उनले थपे– ‘हिजोसँगै चुनाव लडेका साथीहरू आज फुटेर एक–अर्कालाई सिध्याउन लागेको देख्दा दुःख लाग्छ ।’ 

20260517_105848

सांसद श्रेष्ठले कलाकार सङ्घको हालको भवन कलङ्की पायक पर्ने ठाउँमा नभएको उल्लेख गर्दै यसलाई बेचेर सहरको केन्द्र भागमा जग्गा खोज्न आग्रह गरे । ‘यदि संघले बानेश्वर, अनामनगर वा गौशाला जस्ता सेन्ट्रलाइज्ड ठाउँमा जग्गा बैना गर्छ भने म बागमती प्रदेश सरकारबाट भवन निर्माणका लागि आवश्यक बजेट विनियोजन गराउने प्रतिबद्धता व्यक्त गर्दछु’ उनले भने ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बोर्ड अध्यक्षको ब्यक्तिगत तवरबाट भन्दा पनि नियम र कानुनले चल्ने बताए । बोर्डको उपलब्धिबारे चर्चा गर्दै अध्यक्ष डीसीले केही समयदेखि रोकिएको स्टुडियो निर्माणको काम पुनः सुरु हुन लागेको जानकारी दिए ।

त्यसका लागि आगामी सोमबार बनेपा नगरपालिकाका मेयरसँगको छलफलपछि यसले ‘क्लिन चिट’ पाउने र स्टुडियो निर्माणको काम अगाडि बढ्ने उनको भनाइ थियो । बोर्डले चलचित्र क्षेत्रको विकासका लागि प्ल्याटफर्म भएको उनले स्पष्ट पारे ।

कार्यक्रममा वरिष्ठ अभिनेत्री वसुन्धरा भुसालले कलाकारले सङ्घको महत्त्व नबुझेकोमा गुनासो गरिन् । चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जन, चलचित्र पत्रकार सङ्घका अध्यक्ष समीर बलामी, अभिनेता नबल खड्का, चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई लगायत थुप्रै कलाकर्मीको कार्यक्रममा उपस्थिति रहेको थियो ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप