यसपालि खण्डवृष्टिको खतरा : कम पानी पर्ने प्रक्षेपणले ढुक्क नहुन चेतावनी
सारांश
- जल तथा मौसम विज्ञान विभागले यसपालिको मनसुन कमजोर भई पानी कम पर्ने प्रक्षेपण गरे पनि विपद्को जोखिम बढ्न सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ।
- मनसुन कमजोर हुँदा स्थानीय प्रणाली सक्रिय भई छोटो समयमा ठूलो वर्षा गराउन सक्ने र यसले ठुल्ठुला पहिरो तथा बाढीको खतरा निम्त्याउने विभागले चेतावनी दिएको छ।
- विभागले बाढी र पहिरोको पूर्वतयारी तथा प्रतिकार्य योजनालाई यथावत् राख्न, जोखिमयुक्त ठाउँहरू पहिचान गरी उद्धार टोली र आश्रयस्थलहरूलाई केन्द्रित गर्न सुझाव दिएको छ।
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यसपालिको मनसुन अलि कमजोर हुने र पानी कम पर्ने प्रक्षेपण गरिए पनि विपद्को जोखिम भने झनै बढ्न सक्ने भएकाले उच्च सचेतता अपनाउन आग्रह गरेको छ।
मनसुन कमजोर हुने बित्तिकै ढुक्क भएर बस्न नहुने भन्दै विभागले यस्तो अवस्थामा स्थानीय प्रणालीहरू विकास भई झन् ठुलो प्रलय र खतरा निम्त्याउन सक्ने चेतावनी दिएको हो। मनसुनमा पानी कम पर्छ भन्दैमा खुसी हुने वा यसपालि केही हुँदैन भनेर बस्न नहुने मौसमविद्हरूको भनाइ छ।
मौसम प्रणालीको व्याख्या गर्दै विभागले सामान्यतया मनसुनी हावा एकनाशले आइदिएमा देशभरि नै छरपस्ट झरी परेसरी वर्षा हुने बताएको छ। तर, यदि त्यो हावा बिचमा रोकियो र ६-७ दिनपछि एकैचोटि आयो भने वायुमण्डलमा तापक्रम बढिसकेको हुन्छ।
यस्तो अवस्थामा स्थानीय वायु झन् सक्रिय भएर मेघगर्जनसहित छोटो समयमा ठुलो वर्षा गराइदिन्छ। मनसुन कमजोर भएको बेला वा स्थानीय वायु सक्रिय हुँदा यस्तो प्रकृतिको मौसम विकास हुने गर्छ।
स्थानीय वायुमा जलवाष्पयुक्त हावा पूरै नहुने भन्ने हुँदैन, तर त्यो हावा एकै ठाउँमा केन्द्रित वा कन्भर्ज हुन पुग्छ। यसले गर्दा स्थानीय प्रणाली विकास भई आकाशमा कालो बादल मडारिएर चैत, वैशाख र जेठको प्रि-मनसुन सिजन जस्तो मौसम बन्न जान्छ।
त्यतिबेला देशभरि एकैनासले नभई खण्डित हिसाबले अर्थात् ‘खण्डवृष्टि’ हुन्छ। कुनै एउटै सीमित ठाउँमा गएर बादल केन्द्रित भई ठुलो वर्षा भइदिँदा नै ठुल्ठुला पहिरो जाने र भीषण बाढी आउने खतरा हुन्छ। यस्तो अवस्थाले नसोचेको तरिकाले नदी किनारका बस्तीहरू बगाएर लैजाने जोखिम निम्त्याउँछ।
यस किसिमको वातावरणीय जोखिमलाई ध्यानमा राख्दै विभागले बाढी र पहिरोको पूर्वतयारी तथा प्रतिकार्य योजनालाई यथावत् राख्न सरकार र सरोकारवाला निकायलाई सुझाव दिएको छ। यसपालि वर्षा कम हुन्छ भनेर कम आकलन गर्ने वा ढुक्क हुने गल्ती नगर्न आग्रह गरिएको छ।
विपद्को समयमा तत्काल ‘एक्सन’ मा जानका लागि तयारी टिमहरू झन् चनाखो र जागरुक हुनुपर्ने देखिन्छ। देशका सम्भावित जोखिमयुक्त ठाउँहरू पहिचान गरी उद्धार टोली र आश्रयस्थलहरूलाई त्यस्ता क्षेत्रमा बढी केन्द्रित गर्नुपर्ने विभागको सुझाव छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण