सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

म्यानचेस्टर युनाइटेडको गोलमा रेफ्रीबाट गम्भीर गल्ती भएको पीजीएमओको स्वीकारोक्ति

मङ्गलबार, ०५ जेठ २०८३, १४ : ४५
मङ्गलबार, ०५ जेठ २०८३

सारांश

  • म्यानचेस्टर युनाइटेडले नटिङ्घम फरेस्टविरुद्ध खेलेको खेलमा भएको दोस्रो गोल ह्यान्डबलका कारण रद्द हुनुपर्ने पीजीएमओले स्वीकार गरेको छ ।
  • खेलका मुख्य रेफ्री माइकल सालिसबरीले भीएआरको सुझावलाई अस्वीकार गर्दै गोललाई मान्यता दिएका थिए ।
  • पीजीएमओका प्रमुख हावर्ड वेब र पूर्व रेफ्री ड्यारेन कानले यसलाई ह्यान्डबल मान्नुपर्ने र गोल रद्द गरिनुपर्ने बताएका छन् ।

काठमाडौँ । आइतबार सम्पन्न प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले नटिङ्घम फरेस्टविरुद्ध निकालेको जितका क्रममा भएको दोस्रो गोल वास्तवमा रद्द हुनुपर्ने अधिकारीहरूले स्वीकार गरेका छन् ।

व्यावसायिक खेल म्याच अधिकारी (पीजीएमओ) ले सो गोल ह्यान्डबलका कारण मान्य हुन नहुने प्रस्ट पारेको हो । रेफ्रीहरूको सो सर्वोच्च निकायले सोमबार फरेस्ट क्लबलाई सम्पर्क गरी खेलका मुख्य रेफ्री माइकल सालिसबरीबाट निर्णय लिन गल्ती भएको पुष्टि गरेको छ ।

खेलका क्रममा रेफ्री सालिसबरीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सुझावलाई समेत अस्वीकार गर्दै गोललाई मान्यता दिएका थिए ।

खेलका क्रममा म्यानचेस्टर युनाइटेडका फरवार्ड ब्रायन म्बेउमोको पाखुरामा बल बज्दै अगाडि बढेको थियो र क्यामरुनका ती अन्तर्राष्ट्रिय खेलाडीले प्रहार गरेको सट फरेस्टका डिफेन्डरले रोकेका थिए । त्यसपछि रिबाउन्डमा आएको बललाई उनका सहकर्मी खेलाडी माथियस कुन्हाले फरेस्टका गोलकिपर म्याट्ज सेल्जलाई बिट गर्दै पोस्टको दिशा दिएका थिए । 

सोही मुभमा म्बेउमोको ह्यान्डबल भएको भन्दै भिएआर रेफ्री म्याट डोनोहुले मुख्य रेफ्री सालिसबरीलाई मैदानको छेउमा रहेको मनिटर हेर्न आग्रह गरेका थिए । तर, मनिटर हेरेपछि पनि रेफ्री सालिसबरीले उक्त ह्यान्डबल अन्जानमा भएको निष्कर्ष निकाल्दै मैदानमा आफ्नो पहिलो निर्णयलाई नै कायम राखेर गोलको इसारा गरेका थिए ।

सो गोलसँगै खेलमा युनाइटेड २–१ ले अगाडि बढेको थियो र अन्त्यमा सो खेल युनाइटेडले ३–२ ले आफ्नो पक्षमा पार्न सफल भयो । खेल सकिएपछि फरेस्टका मिडफिल्डर मोर्गन गिब्स–ह्याइटले असन्तुष्टि जनाउँदै भने, ‘म जुन कोणमा उभिएको थिएँ, त्यहाँबाट हेर्दा उनले बल समातेको जस्तो देखिन्थ्यो । उनले आफैँ गोल गरे वा गरेनन् भन्ने कुरा फरक हो, तर मेरा लागि त्यो स्पष्ट ह्यान्डबल थियो ।’

रेफ्रीहरूका प्रमुख हावर्ड वेबले फरेस्ट क्लबसँग कुरा गर्दै उक्त घटनालाई ह्यान्डबल मान्नु नपर्ने केही न्यायसङ्गत कारणहरू हुन सक्ने भए पनि फुटबलको नियम र अपेक्षा अनुसार त्यसलाई रद्द गरिनु नै सही र उत्तम निर्णय हुने स्पष्ट पारेका छन्। 

प्रिमियर लिगले खेलाडीहरूको स्वाभाविक शारीरिक आन्दोलनलाई बुझ्दै ह्यान्डबलका नियमहरूमा केही खुकुलो नीति अपनाएको भए पनि यस पटक भने भिएआरको सुझावलाई स्वीकार गरिनु पर्ने वेबको भनाइ थियो । वेबको यो भनाइसँग प्रिमियर लिगका पूर्व असिस्टेन्ट रेफ्री ड्यारेन कानले पनि सहमति जनाएका छन् ।

पूर्व रेफ्री कानले बीबीसी स्पोट्र्ससँग कुरा गर्दै भने, ‘रेफ्रीले मैदानमा लिएको आफ्नो मौलिक निर्णयमा अडिग रहनु प्रशंसनीय कुरा भए पनि म्बेउमोको कम्मरमा बल ठोकिएको सम्भावना भन्दा उनले हातले बल नियन्त्रणमा लिएको र त्यसैका कारण गोल भएको विषयलाई फुटबलले बढी प्राथमिकता दिन्छ । म्बेउमोले बललाई आफ्नो हातले नियन्त्रणमा लिएका थिए र उनी आफैँ गोलकर्ता नभए पनि फुटबलको नियम अनुसार त्यो गोल रद्द हुनुपर्ने थियो ।’ 

प्रिमियर लिगमा भीएआर प्रविधि लागू भएयताका सात सिजनमा रेफ्रीले स्क्रिनमा गएर हेरेपछि पनि भीएआरको सुझावलाई अस्वीकार गरेको यो केवल १७ औँ पटक हो भने जारी सिजनमा यस्तो चौथो पटक भएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप