प्रधानन्यायाधीशको संसदीय सुनुवाइ : गहकिला प्रश्नमा ‘लटरपटर’ जवाफ
सारांश
- प्रधानन्यायाधीशमा अनुमोदन भएका डा. मनोज शर्माले संसदीय सुनुवाइमा सांसदहरूले सोधेका प्रश्नको फितलो जवाफ दिएका छन् ।
- डा. शर्माविरुद्ध परेका १६ उजुरीमा आधारित प्रश्न सोधिएको थियो, जसमा एनसेल कर विवाद, बार बेञ्च द्वन्द्व, र सङ्क्रमणकालीन न्याय लगायतका विषय थिए ।
- शर्माले एनसेल कर विवादमा आफ्नो फैसलाको बचाउ गर्दै, बार बेञ्च द्वन्द्व नभएको र रिट दर्ता रोकेको आरोप सत्य नभएको बताए ।
काठमाडौँ । संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अनुमोदन भएका डा. मनोज शर्माले सुनुवाइका क्रममा सांसदहरूले सोधेका प्रश्नको फितलो जवाफ दिएका छन् ।
मंगलबार दिउँसो सिंहदरबारमा शर्माको संसदीय सुनुवाइ भएको थियो । सुनुवाइबाट सर्वसम्मत प्रधानन्यायाधीशमा अनुमोदन भए पनि उनले सांसदहरूका प्रश्नको लटरपटर जवाफ दिएका हुन् ।
डा. शर्माविरुद्ध सुनुवाइ समितिमा परेका १६ उजुरी र ती उजुरीमा आधारित रहेर सांसदहरूले प्रश्न सोधेका थिए ।
सुनुवाइका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक बोहोरा, राजीव खत्री, मधु चौलागाई, कवीन्द्र बुर्लाकोटी लेखजंग थापाले प्रश्न सोधे । एमालेका प्रेमप्रसाद दंगाल, पद्मा अर्याल र नरबहादुर विष्टले पनि प्रश्न सोधे ।
सांसदहरूले डा. शर्मालाई एनसेल करमा जरिवाना विवाद, बार बेञ्च द्वन्द्व, रिट दर्ता र दरपिठ किन रोकेको, वरिष्ठता विवाद, नेपोबेबी, विद्यावारिधि थेसिस र विकृति बिचौलिया रोक्ने के के योजना छन् भन्ने प्रश्न गरेका थिए ।
यस्तै सङ्क्रमणकालीन न्यायबारे नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुन र रास्वपा सांसद कवीन्द्र बुर्लाकोटीले प्रश्न सोधेका थिए । उक्त प्रश्नको जवाफमा शर्माले अदालतमा विचाराधीन मुद्दा भएकाले जवाफ नदिने बताए ।
उनले भने, ‘सङ्क्रमणकालीन न्यायसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ । यसबारे मैले नै पनि फैसला गर्नुपर्ने हुनसक्छ । त्यो बेला नै विचार बनाउनुपर्छ । त्यसैले यहाँ जवाफ दिन उपयुक्त देखिएन ।’
यस्तै एनसेल करमा जरिवाना विवादमा डा. शर्माले फैसलाको बचाउ गर्दै हिँड्नु न्यायिक मर्यादा अनुकूल नहुने बताए । तर समितिमै उजुरीको रूपमा प्रश्न उठेपछि स्पष्ट पार्नु कर्तव्य भएको भनेर जवाफ दिएका थिए ।
‘एनसेलको मुद्दामा दुई किसिमका कर र जरिवाना जोडिएका थिए । आयकर ऐनको दफा १२० (क) र (ख) बमोजिम झुटा विवरण पेस गरेको वा कर छलेको अवस्थामा ‘क्रिमिनल लायबिलिटी’ (फौजदारी दायित्व) अन्तर्गत कडा जरिवाना र कैदको समेत प्रावधान हुन्छ,’ डा. शर्माले सांसदहरूका प्रश्नको जवाफ दिँदै भने ।
उनले फैसला गर्ने बेलामा झुटा विवरण पेस गरेको छ या छैन हेर्नु पर्ने बताए । त्यहाँ एनसेलले आफैँ कुनै झुटा विवरण पेस गरेको वा कर छलेको अवस्था नरहेकाले कानुन र स्थापित न्यायिक सिद्धान्तबमोजिम फौजदारी दायित्व अन्तर्गतको जरिवाना (कुल रकमको केही प्रतिशत) मात्र हटाइएको बताए ।
बार–बेन्च द्वन्द्वबारेको प्रश्नमा डा. शर्माले कुनै द्वन्द्व छैन भन्ने हल्का जवाफ दिए । अदालतको प्रशासन र बारबीच वातावरण असमझदारीपूर्ण देखिएको उनको भनाइ थियो ।
रिट दर्ता र दरपिठ किन रोकेको भन्ने प्रश्नमा उनले मौखिक आदेश दिएर रिट दर्ता वा दरपिठ रोकेको भन्ने आरोप पूर्णतः सत्य नभएको बताए । रिट दर्ता गर्ने वा दरपिठ गर्ने काम विशुद्ध प्रशासनिक कार्य भएकाले त्यो काममा मुख्य रजिस्ट्रार र रजिस्ट्रारहरू आफ्नो विवेक प्रयोग गर्न पूर्ण रूपमा स्वतन्त्र रहने शर्माले बताए ।
न्याय प्रशासनको क्षेत्राधिकारमा हुने काममा आफ्नो हस्तक्षेप नहुने उनले बताए ।
वरिष्ठताको वरीयता मिचिएको प्रश्नमा डा. शर्माले संविधानले प्रधानन्यायाधीशको पदलाई ‘बढुवा’ को रूपमा नभई ‘नियुक्ति’ को रूपमा व्याख्या गरेको भन्दै वरिष्ठता मात्रै एकमात्र बलियो आधार हुन नसक्ने बताए । यस विषयमा त्यो भन्दा थप बढी नबोल्ने उनको भनाइ थियो ।
नेपोबेबीबारेको प्रश्नमा शर्माले आफू कुनै पारिवारिक नाताका कारण नभई योग्यता र क्षमताले तत्कालीन पुनरावेदन अदालत हुँदै सर्वोच्चसम्म पुगेको बताए ।
पारिवारिक नाता भएकै कारण कोही व्यक्ति पदका लागि अयोग्य हुन्छ भन्ने कानुनी वा न्यायिक मान्यता कतै नरहेको भन्दै डा. शर्माले मानिसहरूले यसबारे बनाएको एउटा धारणा मात्र रहेको बताए ।
विद्यावारिधिमा ल क्याम्पसका प्राध्यापकले विद्यावारिधिको थेसिस लेखिदिएको भन्ने दाबी र चोलेन्द्र शमशेरका भतिजोसँग ७० लाखको लेनदेन गरी मुद्दा हारेपछि रकम फिर्ता गरेको भन्ने उजुरीहरू पूर्णतः निराधार र मनगढन्ते रहेका शर्माले बताए । आफूलाई बदनाम गराउन यी विषय बाहिर ल्याइएको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्वस्थ शरीर, स्वस्थ सृजना’ नारासहित मकवानपुरमा ‘आरोग्य साहित्यिक यात्रा’ हुँदै
-
मौलापुरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै प्रधानमन्त्री बालेनको पुतला दहन
-
प्रधानमन्त्रीसँग निर्माण व्यवसायीको गुनासो : म्याद थप, भुक्तानी र ठेक्का व्यवस्थापन चुनौती
-
विश्वकप क्वार्टरफाइनल अघि फ्रान्स र मोरक्को दुवै मारमा
-
स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन ठप्प
-
प्रतिनिधि सभाकाे शून्य समयमा कसले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण