नेपाली चियामा १९ दिन यता हुँदै आएको भारतीय अवरोध हट्यो
सारांश
- भारतीय चिया बोर्डले नयाँ सूचना जारी गरेपछि नेपाली चियाको भारत निर्यातमा देखिएको १९ दिने अवरोध हटेको छ ।
- गत मे १ देखि लागू भएको अनिवार्य परीक्षण नियमले निर्यात ठप्प भएको थियो, जसलाई व्यवसायीले 'अघोषित नाकाबन्दी' भनेका थिए ।
- यो अवरोधले नेपाली चिया क्षेत्रमा चिन्ता बढाएको थियो, तर अब निर्यात सुचारु हुने अपेक्षा छ ।
काठमाडौँ । परीक्षणका नाममा विगत १९ दिनदेखि नेपाली चिया भारततर्फ निर्यात हुन रोकिएको थियो । भारतीय चिया बोर्डले मंगलबार (मे १९)मा नयाँ सूचना (कोरिजेन्डम–२) जारी गर्दै अनिवार्य गुणस्तर परीक्षणको प्रावधानमा हेरफेर गरेसँगै नेपाली चियाको निर्यातमा देखिएको गाँठो फुकेको छ ।
गत मे १ देखि भारतले आफ्ना सबै नाकामा नेपाली चियाको अनिवार्य परीक्षण हुनुपर्ने र त्यसको रिपोर्ट नआएसम्म मालवस्तु अगाडि बढाउन नपाइने नियम भारतले लागु गरेपछि नेपाली चिया अलपत्र परेको थियो ।
किन रोकिएको थियो चिया ?
भारतीय चिया बोर्डले गत फेब्रुअरी १० मा जारी गरेको र मे १ देखि कार्यान्वयनमा ल्याएको ‘स्टान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी) अनुसार आयात हुने चियाको हरेक खेप (कन्साइनमेन्ट) अनिवार्य परीक्षण गर्नुपर्ने व्यवस्था गरेको थियो ।
यसअघि ‘¥यान्डम’ (आकस्मिक) रूपमा नमूना सङ्कलन गरी परीक्षण गरिने गरेकोमा नयाँ नियमले हरेक गाडीको चिया प्रयोगशाला पठाउनुपर्ने र रिपोर्ट आउन झन्डै १० देखि १५ दिन लाग्ने भएपछि निर्यात ठप्प भएको थियो । यसलाई नेपाली चिया व्यवसायीहरूले भारतको ‘अघोषित नाकाबन्दी’ बताएका थिए ।
समस्या समाधानमा कूटनीतिक पहल
चिया निर्यात रोकिएपछि नेपालका चिया उद्यमी तथा भारतस्थित नेपाली दूतावासले निरन्तर दबाब दिएका थिए । नेपाल चिया उत्पादक संघका उपाध्यक्ष तथा चिया निर्यातकर्ता शिवकुमार गुप्ताका अनुसार नेपाली दूतावासले भारतीय वाणिज्य मन्त्रालयसँग समन्वय गरेको थियो ।
‘भारत सरकार र त्यहाँको चिया बोर्डले नेपालबाट कस्तो समस्या भइरहेको छ भनेर सोधखोज गरेको थियो । हामीले समस्याका बारेमा जानकारी गराएको थियौँ,’ उनले रातोपाटीसँग भने । त्यसपछि भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण, भन्सार र चिया बोर्डको संयुक्त बैठक बसेको थियो । उक्त बैठकले अनिवार्य परीक्षणको नियम खुकुलो पार्ने निर्णय गरेको गुप्ताले बताए ।
भारतीय चिया बोर्डको नयाँ निर्देशनमा के छ ?
भारतीय चिया बोर्डले जारी गरेको नयाँ ‘कोरिजेन्डम’ अनुसार अब निर्यात प्रक्रिया अगाडि बढ्नेछ । भारतको आन्तरिक बजारमा बिक्री गरिने चियाको हकमा अब चिया बोर्डले अनिवार्य परीक्षण गर्ने छैन । बरु, भारतीय भन्सार र खाद्य सुरक्षा विभागले आफ्नो ‘रिस्क म्यानेजमेन्ट सिस्टम’ अनुसार ‘र्यान्डम’ रूपमा मात्र नमुना सङ्कलन गर्नेछन् । यदि चिया भारत हुँदै तेस्रो मुलुक पठाउने प्रयोजनका लागि हो भने त्यसको गुणस्तर परीक्षण चिया बोर्डले अनिवार्य रूपमा गर्नेछ । प्रयोगशालाहरूले नमुना प्राप्त गरेको ५ दिनभित्र अनिवार्य रूपमा परीक्षण रिपोर्ट अनलाइन प्रणालीमा अपलोड गर्नुपर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।
१९ दिनको अवरोधले पारेको असर
१९ दिनसम्म चिया निर्यात रोकिँदा नेपाली चिया क्षेत्रमा ठुलो चिन्ता छाएको थियो । यद्यपि, मे महिना चियाको मुख्य सिजन भर्खर सुरु हुँदै गरेको अवस्था भएकाले भन्सारमा धेरै गाडीहरू भने थुप्रिएका थिएनन् । उपाध्यक्ष शिवकुमार गुप्ताले भने, ‘हामीले माल नै लोड गरेका थिएनौँ, किनकि बोर्डको रिपोर्ट नआएसम्म गाडी अगाडि बढ्न पाउँदैनथ्यो । तर फ्याक्ट्रीहरूमा लाखौँ किलो तयारी चिया थुप्रिएको थियो । यदि अझै केही दिन ढिला भएको भए चियाको गुणस्तर बिग्रने र किसानको भुक्तानीमा ठुलो समस्या आउने निश्चित थियो ।’
नेपालबाट वार्षिक करिब ५ देखि ६ अर्ब रुपैयाँ बराबरको चिया भारत निर्यात हुने गरेको छ । जसमा झापाको सीटीसी चिया र इलामको अर्थोडक्स चियाको हिस्सा ठुलो छ ।
भारतले परीक्षणको नियममा लचकता अपनाएसँगै अब बुधबारदेखि नै नाकाबाट चिया निर्यात सुचारु हुने व्यवसायीहरूको विश्वास छ । यो निर्णयले नेपालका करिब ३० हजार चिया किसान र दर्जनौँ चिया उद्योगीहरूलाई राहत मिलेको छ । यद्यपि नेपाली चियाको दीर्घकालीन बजार सुनिश्चित गर्न सरकारले भारतसँग छुट्टै गुणस्तर प्रमाणीकरण सम्झौता गर्नुपर्ने माग व्यवसायीहरूको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण