बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

स्वदेशमै रोजगारी सिर्जना गर्नु सरकारको पहिलो प्राथमिकता :  मन्त्री यादव

साउनदेखि वैदेशिक रोजगारका काम पूर्ण रुपमा अनलाइनबाटै
बुधबार, ०६ जेठ २०८३, १३ : ३९
बुधबार, ०६ जेठ २०८३

सारांश

  • युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गरी युवा शक्तिलाई देशभित्रै अवसर उपलब्ध गराउनु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् ।
  • सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउनुका साथै देशभित्रै रोजगारीको विकल्प खोज्ने कुरामा मन्त्रालय पूर्ण रूपमा प्रतिबद्ध रहेको मन्त्री यादवले स्पष्ट पारे ।
  • वैदेशिक रोजगारको क्षेत्रमा रहेका ४० हजारभन्दा बढी ठगीका उजुरीहरू समय सीमा तोकेर फछ्र्यौट गर्ने र आगामी साउनदेखि सेवाहरू अनलाइन प्रणालीबाट सञ्चालन गर्ने घोषणा गरिएको छ ।

काठमाडौँ । युवा,श्रम तथा रोजगार मन्त्री रामजी यादवले स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गरी युवा शक्तिलाई देशभित्रै अवसर उपलब्ध गराउनु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । 

प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री यादवले यस्तो बताएका हुन । उनले सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने मात्र नभई देशभित्रै रोजगारीको विकल्प खोज्ने कुरामा मन्त्रालय पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे । 

उनले यसका लागि सिपयुक्त जनशक्ति उत्पादन गर्न विभिन्न रोजगारमूलक तालिम सञ्चालन गर्ने विषयमा सरकारले सम्बन्धित निकायहरूसँग निरन्तर छलफल गरिरहेको जानकारी दिए ।

उनले वैदेशिक रोजगारको क्षेत्रमा रहेका ४० हजारभन्दा बढी ठगीका उजुरीहरू समय सीमा नै तोकेर फछ्र्यौट गर्ने र आगामी साउनदेखि सेवाहरू अनलाइन प्रणालीबाट सञ्चालन गर्ने घोषणा गरे । 

वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको सुरक्षाप्रति सरकार अत्यन्तै चनाखो र संवेदनशील रहेको मन्त्री यादवको भनाइ छ । 

उनले भने, ‘विदेशमा कामको सिलसिलामा घाइते भएका, अस्पतालमा उपचाररत रहेका तथा उद्धारको पर्खाइमा रहेका श्रमिकहरूको विषयमा सरकारले गम्भीरतापूर्वक उद्धार र राहतको पहल गरिरहेको छ । त्यो विषयमा संवेदनशील छ ।’

पछिल्लो समय वैदेशिक रोजगारीका नाममा हुने ठगी बढेको सन्दर्भमा मन्त्रालयले यसलाई कडा रूपमा नियन्त्रण गर्ने नीति लिएको मन्त्री यादवले बताए ।

सरकारले तत्काल र दीर्घकालीन रूपमा गर्नुपर्ने कामहरूको प्राथमिकीकरण गरेर कार्यसम्पादन गरिरहेको बताए । उनले भने, ‘वैदेशिक रोजगारीका क्रममा भएका ठगीसम्बन्धी ४० हजारभन्दा बढी उजुरीहरूलाई वर्गीकरण गरी निश्चित समय सीमा तोकेरै काम गर्नेछौँ ।’

सेवाग्राहीलाई सहज बनाउन, ढिलासुस्ती अन्त्य गर्न र पारदर्शिता कायम गर्न आगामी साउनदेखि सबै काम अनलाइनमार्फत गर्ने गरी मन्त्रालयले तीव्र रूपमा तयारी गरिरहेको मन्त्री यादवले सदनलाई जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप