शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश सभामा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत (पूर्णपाठ)

बिहीबार, ०७ जेठ २०८३, १६ : २३
बिहीबार, ०७ जेठ २०८३

सारांश

  • लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट उत्पादन, रोजगारी, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रित गर्ने भएको छ ।
  • आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले सीमित स्रोत र बढ्दो दायित्वका बीच यथार्थपरक, कार्यान्वयनयोग्य र परिणाममुखी बजेट ल्याइने स्पष्ट पारे ।
  • कृषि, उद्योग, पर्यटन, ऊर्जा, पूर्वाधार विकास, युवा लक्षित सीप विकास, डिजिटल शासन प्रणाली विस्तार, स्वास्थ्य, शिक्षा, खेलकुद र महिला, दलित, सीमान्तकृत समुदायको सशक्तीकरणलाई बजेटले प्राथमिकता दिएको छ ।

बुटवल। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट उत्पादन, रोजगारी, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रित हुने जनाएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सभाको आठौँ अधिवेशनको दोस्रो बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै सीमित स्रोत र बढ्दो दायित्वका बिच यथार्थपरक, कार्यान्वयनयोग्य र परिणाममुखी बजेट ल्याइने स्पष्ट पारे ।

उनले चालु खर्च नियन्त्रण गर्दै पूँजीगत खर्चको प्रभावकारिता बढाइने, सार्वजनिक खर्चमा मितव्ययिता अपनाइने तथा वित्तीय अनुशासन कायम गरिने बताए। प्रदेश सरकारको दोस्रो आवधिक योजना, दिगो विकास लक्ष्य, संविधानको समाजवाद उन्मुख अवधारणा तथा “समृद्ध लुम्बिनी, खुसी नागरिक” को दीर्घकालीन सोचलाई बजेट निर्माणको मुख्य आधार बनाइएको उल्लेख गरे ।

मन्त्री कार्कीका अनुसार कृषि, उद्योग, पर्यटन, ऊर्जा र पूर्वाधार विकासमार्फत उत्पादन तथा उत्पादकत्व वृद्धि गरी अर्थतन्त्रलाई चलायमान बनाइनेछ। आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा योगदान गर्ने क्षेत्रलाई विशेष प्राथमिकता दिइने भएको छ।

युवा लक्षित सीप विकास, स्टार्टअप, स्वरोजगार तथा नवप्रवर्तनमा आधारित कार्यक्रम सञ्चालन गरी प्रदेशभित्रै रोजगारी सिर्जना गरिने नीति सरकारले लिएको छ। डिजिटल शासन प्रणाली विस्तार गर्दै सेवा प्रवाहलाई सरल, छिटो, पारदर्शी र नागरिकमैत्री बनाइने जनाइएको छ । राजस्व प्रशासन, सार्वजनिक खरिद, लेखा व्यवस्थापन तथा सेवा प्रवाहमा डिजिटल प्रणालीको प्रयोग बढाइने पनि मन्त्री कार्कीले बताए ।

आयोजना छनोटमा रणनीतिक महत्त्व र उच्च प्रतिफललाई आधार बनाइने उल्लेख गर्दै बहुवर्षीय तथा अधुरा आयोजनालाई प्राथमिकतामा राखिने जानकारी दिइयो। न्यून प्रगति भएका आयोजना र कम प्रभावकारी कार्यक्रमको पुनरावलोकन गरिने तथा आयोजना बैंकमार्फत योजना छनोट र कार्यान्वयनलाई व्यवस्थित बनाइने नीति अघि सारिएको छ ।

भौतिक पूर्वाधारतर्फ प्रदेश सडक गुरुयोजनाअन्तर्गत सडक विस्तार, स्तरोन्नति तथा जोखिमयुक्त पुलको प्रतिस्थापन गरिने भएको छ । आर्थिक, औद्योगिक र पर्यटकीय सम्भावनाका आधारमा पहुँच मार्ग निर्माणलाई उच्च प्राथमिकता दिइने सरकारको नीति रहेको छ। 

कृषि क्षेत्रको आधुनिकीकरण, प्राङ्गारिक खेती, रैथाने बाली संरक्षण, सिँचाइ विस्तार तथा कृषि उत्पादनको ब्राण्डिङ र मूल्य शृङ्खला विकासमा बजेट केन्द्रित गरिने जनाइएको छ।

स्वास्थ्य क्षेत्रमा अस्पताल स्तरोन्नति, विशेषज्ञ सेवा विस्तार तथा क्यान्सर, मृगौला प्रत्यारोपण र मुटुको भल्भ फेर्ने लगायत जटिल उपचारमा आर्थिक सहयोगलाई निरन्तरता दिइने भएको छ। कुपोषण न्यूनीकरण र मानसिक स्वास्थ्य प्रवर्द्धनका कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको छ।

पर्यटनतर्फ लुम्बिनी लाई बुद्ध दर्शन तथा आरोग्य पर्यटन केन्द्रका रूपमा विकास गरिने नीति सरकारले अघि सारेको छ। धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक गन्तव्यको संरक्षण र प्रवर्द्धनमा समेत जोड दिइने भएको छ।

शिक्षा तथा खेलकुद क्षेत्रमा प्राविधिक शिक्षा, सूचना प्रविधिमैत्री शिक्षा, खेलकुद पूर्वाधार विकास तथा प्रतिभावान् खेलाडी प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने भएको छ। महिला, दलित, आदिवासी जनजाति, थारु, मधेसी, मुस्लिम, अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायको सशक्तीकरणका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। प्रदेशलाई सडक मानवमुक्त बनाउने अभियानलाई पनि निरन्तरता दिइने भएको छ।

खानेपानी, सरसफाइ, भूमि व्यवस्थापन, युवा स्वरोजगार, सहकारी सुदृढीकरण, सिँचाइ, नवीकरणीय ऊर्जा, वन संरक्षण तथा विपद् व्यवस्थापनलाई पनि बजेटको प्राथमिकतामा राखिएको छ । कर प्रणालीलाई प्रविधिमैत्री, करदातामैत्री र प्रतिस्पर्धी बनाउँदै आन्तरिक राजस्व परिचालन सुदृढ गरिने उल्लेख गरिएको छ।

बैठकमा चेतनारायण आचार्य ले “महालेखा परीक्षकको पाँचौँ वार्षिक प्रतिवेदन, २०७९” सभामा पेस गरेका थिए। साथै प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा धारणा राखेका थिए।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप