आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय
'स्टार एन्ड स्टोरिज'

‘हामीकहाँ गीत चल्दा मात्र वास्ता गर्ने प्रवृत्ति छ’

शुक्रबार, ०८ जेठ २०८३, ०८ : ३०
शुक्रबार, ०८ जेठ २०८३

सारांश

  • सारिका घिमिरेले मोडलिङ र अभिनय छाडी पूर्ण रूपमा गायनमा ध्यान केन्द्रित गरेकी छन् ।
  • उनको शब्द र संगीत रहेको 'गुन भुल्यौ' गीतले दर्शक-श्रोताको मन जितेपछि गायिकाको रूपमा स्थापित भइन् ।
  • सारिका लोक संस्कृति झल्किने मौलिक गीतहरू गाएर नेपाली दर्शक-श्रोताको मन जित्ने योजनामा छिन् ।

काठमाडौँ । खासमा सारिका घिमिरेको करिअर मोडलिङबाट सुरू भएको हो । तर पछिल्लो समय उनी गायिकाका रूपमा स्थापित भइन् । आफ्नै शब्द र संगीतको ‘गुन भुल्यौ तिमीले’ गीतबाट उनी श्रोता-दर्शकमाझ छाइन् । हालै मात्रै ‘गुन भुल्यौ-२ साइँला दाइ’ ल्याएकी छन् । 

१५ वर्षदेखि कला क्षेत्रमा सक्रिय सारिका अभिनेत्री पनि हुन् । उनले करिब आधा दर्जन फिल्ममा अभिनय समेत गरेकी छन् । तर पनि उनको ‘मास’ परिचय गायिका नै बनेको छ । 

रातोपाटीको ‘स्टार एन्ड स्टोरिज’मा अन्तर्वार्ताका क्रममा सारिकाले आफ्नो कला यात्रा र सांगीतिक करिअरका बारेमा कुरा गरेकी छन् । प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न-सुन्न सकिन्छ) : 

तपाईंलाई मोडल, अभिनेत्री वा गायिका, खास के भनेर चिन्ने ?

विगतमा मैले मोडलिङ र फिल्ममा अभिनय गरें । तर अहिले मैले आफूलाई पूर्ण रूपमा संगीतमा समर्पित गरिसकेकी छु । त्यसैले अब मलाई मात्र गायिकाको रूपमा बोलाउँदा वा चिन्दा नै खुसी मिल्छ । 

Sarika Ghimire

पछिल्लो गीत ‘गुन भुल्यौ २’ भनेर ल्याउनु भएछ नि ? 

यसअघि आएको ‘गुन भुल्यौ’लाई श्रोता र दर्शकहरूले जुन अथाह माया दिनुभयो, त्यसैको जगमा यो दोस्रो भाग जन्मिएको हो । पहिलो भाग सफल भएपछि धेरै प्रशंसकहरूले लगातार यसको दोस्रो भाग पनि ल्याउनुपर्छ भनेर आग्रह गर्नुभयो । गीत सार्वजनिक अगाडि डर थियो पहिले जस्तो हुन्छ कि हुँदैन भनेर । अहिले सबैले रुचाइदिनुभयो, अत्यन्तै हर्षित छु ।

गीतको सिर्जना कसरी भयो ?

गीतमा शब्द र संगीत मेरै हो । म आफैँ पनि संगीतको एउटा राम्रो श्रोता हुँ । मैले महसुस गरेको कुरा के हो भने मान्छेले रमाइला र नाच्ने गीतहरू चाडपर्व वा उत्सवमा सुन्छन्, तर सदाबहार रूपमा सुन्ने भनेको भनेको सेन्टिमेन्टल (वियोगान्त) र मेलोडियस गीत नै रहेछ । मेरो पहिलेदेखि नै केही लेख्ने बानी थियो । 
कुनै योजना बनाएर वा सुपरहिट हुन्छ भनेर यो गीत लेखेकी थिइनँ । केवल आफ्नो युट्युब च्यानलका लागि एउटा राम्रो ‘कन्टेन्ट’ होस् र १०–१५ वर्षपछि फर्केर हेर्दा ‘सारिकाले राम्रो काम गरेकी रहिछ’ भन्ने होस् भन्ने सोचेर सिर्जना गरेकी थिएँ । कम मिहिनेतमा बनाएको गीत हिट भइदियो । 

एकपछि अर्को गीत प्रेम पीडामा आयो, कतै गीतको पीडा आफ्नै वास्तविक जीवनकै त होइन ?

(हाँस्दै) त्यस्तो होइन । यो प्रेम पीडा मात्र पनि होइन । मान्छेको जीवनमा हरेक मोडमा उतारचढाव र पीडा हुन्छन् । बाहिरबाट जति खुसी देखिएपनि भित्र कतै न कतै मान्छे दुःखी हुन्छ नै । ती शब्दहरूले कसैको जीवनको कुनै न कुनै भोगाइलाई स्पर्श गर्छन् । मैले समाज, परिवार र आफ्नै संघर्षमा देखेका र भोगेका भावनाहरूलाई शब्दमा उतार्ने प्रयास गरेकी हुँ । प्रेमी–प्रेमिकाको कुरा मात्र होइन, यो त समाज र आफन्तबिचको सम्बन्धमा आउने चिसोपनको प्रतिनिधित्व हो ।

आधा दर्जन बढी फिल्ममा अभिनय गर्नुभयो, धेरै मोडलिङ पनि गर्नुभयो । यी दुई विधालाई चटक्कै छोडेर गायनमै केन्द्रित हुनुको कारण के हो ?

करिब १५ वर्षसम्म मोडलिङ र अभिनयमा संघर्ष गरेँ । तर मलाई त्यहाँ स्थापित भएको महसुस भएन । सायद मेरो केही कमजोरी भयो वा कम्पिटिसन धेरै भो । अर्को कुरा, अभिनय र मोडलिङका लागि अरूको निर्णयमा भर पर्नुपर्छ । कसैले काम दिनुपर्छ ।

Sarika Ghimire1

तर गायन र संगीत यस्तो क्षेत्र हो, जहाँ म आफैँ लगानी गरेर, आफ्नै सिर्जना गरेर आत्मनिर्भर हुन सक्छु । डिजिटल प्लेटफर्मले अहिले कलाकारलाई कसैको वैशाखी टेक्नु नपर्ने वातावरण बनाइदिएको छ । त्यसैले यो क्षेत्र रोजें ।

सुरूका धेरै गीत असफल हुँदा गायन पनि छोड्छु भन्ने लागेन ?

धेरै पटक लाग्यो । संगीतमा मेरो धेरै लगानी डुबेको छ । आफूसँगैका वा आफूभन्दा पछि आएका साथीहरूको गीत हिट हुँदा मेरो भने मेहनतले नतिजा नदिँदा मेरो लकमै छैन कि क्या हो जस्तो लाग्थ्यो । कति पटक पीडा भएर रोएकी छु । तर गीत-संगीत मेरो आत्मसन्तुष्टि पनि हो । त्यसैले हार नखाई आफ्नै युट्युब च्यानलमा सानो बजेटका भिडियोहरू हाल्न थालेँ । अचम्म के भयो भने धेरै खर्च गरेर बनाएका भिडियोले भन्दा मेरो सिम्पल लिप्सिङ भिडियो र शब्द रहेको ‘गुन भुल्यौ’ले दर्शक-श्रोताको मन जित्यो । यसले मलाई के सिकायो भने सिर्जना चल्नलाई तडकभडक होइन, शब्दमा प्राण हुनुपर्दो रहेछ । यो गीतले मेरो जीवनकै लय परिवर्तन गरिदियो ।

‘गुन भुल्यौ’ लोकप्रिय भएपछि बिर्सनै नसकिने प्रतिक्रिया के थियो ?

युट्युबको कमेन्ट बक्समा धेरै मार्मिक कमेन्ट आउँथ्यो । तर सबैभन्दा बढी मन छोएको चाहिँ केही व्यक्तिहरूले गीत सुनेपछि आफ्नो गल्ती महसुस गरेर आफ्नो मान्छेसँग माफी माग्नुभएको थियो । उहाँहरूले लेख्नुभएको थियो- ‘हामीले एकअर्कालाई नबुझेर छुट्टियौँ, यो गीतले मेरो आँखा खोलिदियो, म उनीसँग माफी माग्न चाहन्छु ।’ एउटा गीतले कसैको मन पगालेर माफी माग्ने अवस्थासम्म पुर्‍याउनु नै मेरो लागि सबैभन्दा ठुलो सफलता हो ।

अहिलेको बजारमा भाइरल हुन जथाभावी गीत बन्छ । असफलताको समयमा यस्तै गीत बनाउँछु भन्ने लागेन ?

कतिले त सल्लाह पनि दिए । ‘सारिका, तिम्रो गीत चलेन, बरु अलि उच्छृङ्खल वा डबल मिनिङ लाग्ने गीत गाऊ, छिटै हिट हुन्छौ ।’ तर मेरो मनले कहिल्यै मानेन । मेरो पनि परिवार छ, समाज छ ।

Sarika Ghimire2

म यस्तो गीत गाउन चाहन्छु, जुन परिवारका सबै सदस्य सँगै बसेर सुन्न सकियोस् । क्षणिक चर्चाका लागि आफ्नो मर्यादा भुल्न सकिँदैन । मलाई ढिलै भए पनि सभ्य शब्दहरूकै कारण दर्शकले चिन्नुभएको छ, यसैमा म गर्व गर्छु ।

सांगीतिक क्षेत्रमा लाग्दा साथीभाइ र अग्रजको सहयोग कस्तो रह्यो ?

हाम्रो क्षेत्रमा एउटाले अर्कोलाई खुट्टा तान्ने प्रवृत्ति पनि छ । कसैको गीत चल्दा मात्र वास्ता गर्ने र नचल्दा बेवास्ता गर्ने चलन छ । त्यसैले म कसैको धेरै आश नगरी आफ्नै बलमा अगाडि बढ्नुपर्छ भनेर बढिरहेँ ।

गीत चलेपछि मेला महोत्सवबाट डिमान्ड त धेरै आउँछ होला होइन ?

अहिले राम्रै निम्तो आउँछन् । तर फाट्टफुट्ट रूपमा स्टेज कार्यक्रम गरिरहेकी छु ।

Sarika Ghimire4

विगतमा मेरा गीतहरू नचल्दा मलाई स्टेज कार्यक्रमहरूमा कसैले बोलाउँदैन थिए । व्यावसायिक रूपमा गायिका बनेर स्टेज चढ्न थालेको नै ‘गुन भुल्यौ’को सफलतापछि मात्र हो । 

अब आगामी योजना के छ ?

लोक संस्कृति झल्किने गीतहरूमा काम गर्ने सोच छ । लोक गीत हाम्रो जरा हो, यो कहिल्यै मर्दैन । मलाई पूर्वदेखि पश्चिमसम्मका सबै नेपालीले रुचाउने खालका मौलिक गीत गाउने रहर छ । दर्शकले ‘सारिकाजी, तपाईं नभड्किनुहोला, यस्तै स्तरीय गीत गाउनुहोला भनेका छन् । उहाँहरूको यो विश्वास नै मेरो ऊर्जा हो । म सधैँ स्तरीय र सभ्य संगीत दिन कोसिस गर्छु ।

भिडियो/फोटो : मनोज खड्का, आयुष धामी/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप