होटलको लापरबाहीले स्विमिङ पुलमा करेन्ट लागेर थलिएका सजिल दुई वर्षदेखि ओछ्यानमै
सारांश
- होटल स्क्वायरको स्विमिङ पुलमा करेन्ट लागेर ललितपुरका ४२ वर्षीय सजिलमान शाक्य दुई वर्षदेखि ओछ्यानमा थलिनुभएको छ ।
- शाक्यकी ५ वर्षीया छोरीले अस्पतालको शय्यामा बुवा सुतिरहेको चित्र कोर्दै 'मेरो बुवाको हेरचाह गर्नका लागि' लेखेकी छन् ।
- होटल सञ्चालकले सुरुमा क्षतिपूर्ति दिने सहमति गरे पनि हालसम्म न्याय नपाएको र मुद्दा उपभोक्ता अदालतमा विचाराधीन रहेको छ ।
काठमाडौँ । ललितपुरका ४२ वर्षीय सजिलमान शाक्य दुई वर्षदेखि थला परेर ओछ्यानमा छन् । उनी न बोल्न सक्छन्, न त कुनै प्रतिक्रिया जनाउन सक्छन् । ‘होटल स्क्वायर’को स्विमिङ पुलमा करेन्ट लागेर घाइते भएका उनी त्यस यता ओछ्यानमा सीमित भएका हुन् ।
घटना दुई वर्षअघिको हो । श्रीमती रजिना र सानी छोरीलाई लिएर सजिल आफ्नो घर नजिकैको होटल स्क्वायर पुगेका थिए । होटलको छतमा रहेको ‘हिटेड’ स्विमिङ पुलमा बाउ–छोरी रमाइरहेका थिए । अचानक करेन्ट प्रवाह भएर उनी छटपटाउन थाले । रजिनालाई लाग्यो– श्रीमानले छोरीलाई जिस्क्याइरहेका छन् ।
तर जब उनले श्रीमानको हात समातिन्, उनलाई पनि करेन्टको तीव्र झट्का लाग्यो । त्यसपछि सजिल पानीमा डुबे । अस्पताल पुर्याउँदा उनको नाडीमा डढेको दाग थियो र मस्तिष्कमा अक्सिजन पुग्न छाडिसकेको थियो । त्यही दिनदेखि सजिलको संसार मौन छ । परिवार सजिल उठ्ने आशमा मेहनतरत छ । सजिललाई सहज बनाउन बिहानदेखि थेरापी गराइँदै आइरहेको छ ।
_UYMLKaBEbe.jpg)
५ वर्षीया छोरीको त्यो मर्मस्पर्शी चित्र
सजिललाई करेन्ट लागेर गम्भीर बिरामी परेका बेला उनकी छोरी मात्र ३ वर्षकी थिइन् । अहिले उनी ५ वर्षकी भइन् । उनले आफ्नो बुवालाई दुई वर्षदेखि ओछ्यानमा थलिएकोमात्र देखेकी छन् ।
केही समयअघि विद्यालयमा शिक्षिकाले ‘जे मन लाग्छ, त्यही चित्र बनाऊ’ भन्दा उनले जे बनाइन्, त्यसले धेरैका आँखा रसाए । उनले आफ्नो कापीमा अस्पतालको बेडमा सुतिरहेका बुवा र उनको उपचार भइरहेको तस्बिर कोरिन् । उनले तस्बिरको मुनि लेखिन्, ‘मेरो बुवाको हेरचाह गर्नका लागि’ ।
एउटी अबोध बालिकाले आफ्नो बुवाको सक्रिय स्वरूप बिर्सिसकिन्, उनको मानसपटलमा अब बुवा भनेकै ‘ओछ्यानमा लडिरहेको मान्छे’ मात्र बनेका छन् । छोरीलाई एक दिन बुवा निको भएर उठ्नुहुन्छ भन्ने आशा छ भने श्रीमती र परिवारलाई सजिल पूर्णरूपमा स्वस्थ र उनलाई न्यायको अनुभूति कहिले होला भन्ने प्रतीक्षामा छ ।
होटल सञ्चालकहरूले सुरुमा क्षतिपूर्ति दिने बाचा गरेर सम्झौता पनि गरे । स्क्वायर होटलको तर्फबाट श्रीधर देवकोटा र सजिलको परिवारको तर्फबाट पुष्करमान शाक्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । २०८० फागुन ६ गते भएको उक्त सम्झौता अनुसार सजिलमान शाक्यको सम्पूर्ण उपचार खर्च स्क्वायर होटलले व्यहोर्ने साथै थप उपचार गर्दा लाग्ने खर्च २ वर्षसम्म होटल पक्षबाट दिने सैद्धान्तिक सहमति भएको थियो । तर, लामो समयसम्म होटलले बेवास्ता गरेपछि सजिलको परिवार ललितपुर जिल्ला अदालतमा होटल सञ्चालकहरूविरुद्ध फौजदारी कसुर र क्षतिपूर्तिसहित दुई वटा कसुरमा मुद्दा लिएर गयो । तर, ललितपुर जिल्ला अदालतले फौजदारी कसुरमा होटल सञ्चालकलाई सफाइ दियो । उक्त फैसलाको पूर्ण पाठ आउन बाँकी छ ।
क्षतिपूर्तिको विषयमा जिल्ला अदालतबाट उक्त मुद्दा सरेर उपभोक्ता अदालतमा पुगेको छ । अहिले मुद्दा उपभोक्ता अदालतमा छ, तर होटल पक्षले पटक–पटक सुनुवाइ स्थगित गराएर न्यायलाई पर धकेलिरहेको छ ।

- कहिलेसम्म कुरिरहने न्याय ?
अन्तर्राष्ट्रिय कानुनमा होटलजस्तो सार्वजनिक स्थलमा हुने यस्ता दुर्घटनालाई ‘अक्षम्य लापरबाही’ मानिन्छ । खाडी मुलुकदेखि युरोपसम्म यस्ता घटनामा करोडौँ क्षतिपूर्ति र कडा जेल सजाय हुन्छ । तर नेपालमा होटल सञ्चालकको पहुँच र शक्तिका अगाडि एउटा पीडित परिवारको पीडा दबिएको छ ।
घरमै ‘आइसियु’ बनाएर २४ सै घण्टा नर्सको निगरानीमा सजिलको उपचार भइरहेको छ । परिवारको दुई करोडभन्दा बढी खर्च भइसक्यो । श्रीमतीले बैंकको जागिर छाडिन्, बुवा अचेल छोराको व्यवसाय धान्न बाध्य छन् । एउटा सक्षम युवा ओछ्यान परेपछि सिङ्गो परिवार मानसिक र आर्थिक रूपमा थिलथिलो भएको छ ।
सजिलमान उठ्ने आशा अझै मरेको छैन । तर, के उनले आँखा खोल्दा यो समाजले उनलाई न्याय दिइसकेको होला ? कि अझै पनि होटल स्क्वायरका सञ्चालकहरू ‘तारिख’ सारेर न्यायलाई गिज्याइरहेका हुनेछन् ? प्रश्न गम्भीर छ ।
स्विमिङ पुलमा डुबेर हुने मृत्यु र लापरबाहीमा विदेशका अदालतहरूले विभिन्न समयमा महत्त्वपूर्ण नजिर र फैसला गरेका छन् । विशेषगरी खाडी मुलुक (यूएई), युरोप, र अमेरिकाका अदालतहरूले सुरक्षा मापदण्ड मिच्नेविरुद्ध कडा आदेशहरू जारी गरेका छन् ।
पश्चिमा देशहरूमा स्विमिङ पुल दुर्घटनालाई घर/जग्गा धनीको उत्तरदायित्वको सिद्धान्त अन्तर्गत हेरिन्छ । अमेरिकाका धेरै अदालतहरूले स्विमिङ पुललाई एक ‘आकर्षक तर खतरनाक’ स्थल मान्छन् । यदि पुलको वरिपरि उचित घेराबार गरिएको छैन र कोही व्यक्ति (विशेष गरी बच्चा) अनुमतिबिना भित्र छिरेर डुब्यो भने पनि पुलको मालिक नै जिम्मेवार ठहरिन्छ ।
बेलायतका अदालतहरूले स्थापित गरेको नजिर अनुसार, यदि कुनै संस्था (जस्तै स्कुल वा रिसोर्ट)ले पुल सञ्चालनको जिम्मा तेस्रो पक्षलाई दिएको छ र त्यहाँ दुर्घटना भयो भने, मुख्य संस्था आफ्नो जिम्मेवारीबाट उम्कन पाउँदैन । उसले क्षतिपूर्ति तिर्नैपर्छ भन्ने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण