कांग्रेसको उद्गम थलो विराटनगरबाटै सभापति गगन थापालाई चुनौती
सारांश
- नेपाली कांग्रेसको उद्गम थलो विराटनगरबाटै सभापति गगन थापालाई चुनौती दिने प्रयास भइरहेको छ ।
- पार्टी नेतृत्वको कार्यशैली पार्टी कब्जा गर्ने खालको भएको भन्दै कोशी प्रदेशका असन्तुष्ट र इतर पक्षीय नेताहरूले विराटनगरबाटै मोर्चाबन्दी सुरु गरेका छन् ।
- क्रियाशील सदस्यता नवीकरणको विषयलाई लिएर इतर पक्षले सभापति थापाको आलोचना गर्दै यसलाई निरन्तरता दिन भेला आयोजना गरेको छ ।
विराटनगर । कुनैवेला विराटनगरको विचार देशको विचार बन्थ्यो । कतिपयले भन्ने गर्दथे, ‘काठमाडौँले सोच्नु अगाडि विराटनगरले सोच्छ ।’ त्यही भएर विराटनगरको धारणा बुझ्न नेताहरू बेला–बेला आउने गर्दथे । त्यसो भन्नुमा विराटनगरबाटै नेपाली कांग्रेसको नेतृत्वमा भएको केन्द्रीय सत्तामाथिको हस्तक्षेप प्रमुख कारण हो ।
नेपालमा जहानियाँ राणा शासन र निर्दलीय पञ्चायतविरुद्धको आन्दोलनको शङ्खघोष गर्ने नेपाली कांग्रेसको उद्गम थलो विराटनगर नै हो । कृष्णप्रसाद कोइराला, बीपी कोइराला र गिरिजाप्रसाद कोइराला जस्ता युगपुरुषहरूले यही भूमिबाट लोकतन्त्रको जग बसालेका थिए । पार्टीको त्यही ऐतिहासिक विरासत बोकेको विराटनगरलाई यतिवेला देशले मात्रै होइन, कांग्रेसकै नेतृत्वले पनि सुझाव लिन छोडिसकेको छ ।
त्यही कारण विराटनगर र मोरङ कांग्रेस वर्तमान केन्द्रीय नेतृत्व सभापति गगन थापा पक्षलाई गम्भीर चुनौती दिने प्रयास गरिरहेको छ । नेतृत्व हस्तान्तरण र पार्टी रूपान्तरणको नारा दिएर विशेष महाधिवेशन मार्फत सभापति बनेका थापाको पछिल्लो कार्यशैली पार्टी ‘कब्जा गर्ने’ प्रकृतिको भएको निष्कर्ष निकाल्दै कोशी प्रदेशका असन्तुष्ट र इतर पक्षीय नेताहरूले विराटनगरबाटै कडा मोर्चाबन्दी सुरु गरिरहेका छन् ।

गत वैशाख ९ गते कांग्रेसले सुरु गरेको जरा अभियान अन्तर्गतको समीक्षा बैठकमा सभापति गगन थापाको प्रस्तुति क्रियाशील सदस्यता नवीकरणमै केन्द्रित थियो । समीक्षा बैठक भनिए पनि सभापति गगन थापा, उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल, गुरुराज घिमिरेलगायतका नेताहरूले अभियानको समीक्षाभन्दा बढी ‘क्रियाशील सदस्यता नवीकरण’ का विषयमा समय खर्चिएका थिए ।
त्यसक्रममा थापाले कांग्रेसलाई भोट नहाल्नेहरूको कुनै पनि हालतमा सदस्यता कायम राख्न नसकिने भन्दै कडा अभिव्यक्ति दिएका थिए । नागरिकबाट चुनावमा अपेक्षित मत नपाएको झोक नेतृत्वले तल्लो तहका इमानदार कार्यकर्तामाथि पोखेको भन्दै कांग्रेसको इतर पक्षले भने तीव्र आलोचना गरिरहेको छ ।
यही असन्तुष्टिलाई सङ्गठित गर्न गत वैशाख २९ गते विराटनगरको एक होटलमा कांग्रेसको इतर पक्षले कोशी प्रदेशस्तरीय बृहत् भेला तथा छलफल आयोजना गर्यो । विशेष महाधिवेशनपछि जिम्मेवारीविहीन बनाइएका नेताहरूलाई समेटेर इतर पक्षले यो काउन्टर भेला गरेको थियो । भेलामा नेताहरू कृष्णप्रसाद सिटौला, मीन विश्वकर्मा, पूर्वमुख्यमन्त्री केदार कार्की, मन्त्री भीम पराजुलीदेखि लिएर लक्ष्मी खतिवडा, सीता खतिवडा, सुनिता गच्छदार लगायतका नेताहरूको उपस्थिति थियो ।
विराटनगर भेलालाई संयोजन गरिरहेका कांग्रेस कोशी प्रदेशका महामन्त्री भूपेन्द्र राईले पार्टीभित्र हुर्किएको कब्जाको शैलीको भण्डाफोर गर्न भेला आयोजना गरिएको बताएका थिए । उक्त भेला डा. शेखर कोइराला पक्षको मात्र नभएर पार्टी नेतृत्वको पेलाइमा परेका सबै पक्षको साझा मञ्च बनेको इतर पक्षको दाबी छ ।
_pgilWmIwEU.jpg)
त्यसलाई नै निरन्तरता दिँदै कांग्रेसको इतर पक्षले जेठ ७ गते (बिहीबार) विराटनगरमा एउटा भेला राख्यो । भेलामा विराटनगरका अधिकांश वडा सभापतिहरू र नेताहरूको सहभागिता थियो । कांग्रेस विराटनगर सभापति दिपक चापागाईंको नेतृत्वमा बसेको भेलाले क्रियाशील सदस्यता अद्यावधिक (इन्ट्री) नगर्ने निष्कर्ष निकालेको बताइएको छ । त्यसक्रममा वडा सभापतिहरूले त आफूहरूलाई छलेर अन्य व्यक्तिहरूलाई युजर नेम र पासवर्ड दिएर परिचालन गरिएको भन्दै तीव्र असन्तुष्टि र विरोध गरेका थिए ।
सदस्यता नवीकरणको काम सम्पन्न भइसकेको अवस्थामा फेरि नयाँ प्रक्रिया थाल्दा पार्टीभित्र विवाद बढेको भेलाको ठहर छ । ‘यसअघि १३ लाख पार्टी सदस्यले सदस्यता नवीकरण गरिसकेका थिए । अब फेरि किन गर्नुपर्यो ? सभापति थापा नै महामन्त्री हुँदा भएको नवीकरणलाई अहिले किन अस्वीकार गर्नुपर्यो ?,’ इतर पक्षको भनाइ छ ।
सभापति चापागाईंले पुरानै नवीकरणलाई मान्यता दिएर अधिवेशनमा जानुपर्ने बताए । उनले भने, ‘हामीले यसअघि नै नवीकरण गरेर सबै काम सकिसकेका छौँ । फेरि, अहिले किन आवश्यक पर्यो ? तिनै नवीकरण गरिएका क्रियाशील सदस्यहरूबाटै अबको अधिवेशन गराउनुपर्छ ।’
भेलामा वडा सभापतिहरूदेखि लिएर प्रदेश महामन्त्री भुपेन्द्र राई, पूर्वकेन्द्रीय सदस्य भीम पराजुली, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की, जिल्ला उपसभापति नागेश कोइराला, सचिव मोदराज घिमिरे, क्षेत्रीय सभापतिहरू र महानगर समितिका पदाधिकारीको उपस्थिति थियो ।
भेला तथा बैठकमात्रै होइन, सामाजिक सञ्जालबाट पनि गगन थापा पक्षलाई इतर पक्षले चुनौती दिइरहेको छ । थापा पक्षले फरक मत राख्नेलाई कारबाही गर्ने बताइरहेको बेला आक्रोशित बनेका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले क्रियाशील सदस्यतालाई चिर्कटोको संज्ञा दिँदै गगन थापा लक्षित कडा आलोचना गरेका हुन् ।
_q44nGaNyFZ.jpg)
‘विगतमा सेनाको गोली खाएर आएका इमानदार कार्यकर्तालाई सदस्यताको चिर्कटो कारबाहीको धम्की दिने दुस्साहस कसैले नगरे हुन्छ,’ कार्कीले सामाजिक सञ्जालमा लेखेका छन् ।
आफूले गुटबन्दी गर्दा आन्तरिक लोकतन्त्र देख्ने तर आज अरूलाई दास बनाउन खोज्ने प्रवृत्ति लोकतान्त्रिक हुनै नसक्ने भन्दै १५औँ महाधिवेशनलाई हरहालतमा एकताको महाधिवेशन बनाएरै छाड्ने कार्कीले प्रस्ट पारे । गगन थापा पक्षमाथि वैचारिक स्खलनको आरोप पनि विराटनगरबाटै लाग्न थालेको छ । कांग्रेसका प्रदेश महामन्त्री भूपेन्द्र राईले थापाको ‘दोहोरो चरित्र’माथि पनि प्रश्न उठाएका छन् ।
विगतमा शेरबहादुर देउवाले एमालेसँग सहकार्य गर्दा कांग्रेस कमजोर भएको र जेनजी आन्दोलन चर्किएको तर्क गर्ने थापा पक्ष अहिले आफैँ सत्ता स्वार्थमा लागेको राईको आरोप छ । ‘आजभोलि उहाँहरू (गगन पक्ष) नै बिहान–बेलुका एमालेका नेताहरूसँग निरन्तर भेटघाट गर्ने र केपी ओलीकोमा प्रदेश सरकारहरूको विषयमा कुरा गर्न गइरहेको सुन्दा अचम्म लाग्छ,’ राईले भने, ‘शेरबहादुर देउवाको ठाउँमा तपाईंहरूले एमालेसँग सम्झौता र सहकार्य गर्दा चाहिँ कांग्रेस बलियो हुने हो ? यति चाँडै आफ्नो विचारमा स्खलित किन ?’
बीपी र गिरिजाको राजनीतिक कर्मभूमि विराटनगरबाट भइरहेको यो आलोचनालाई गगन थापा र केन्द्रीय समितिको कार्यशैलीविरुद्धको विद्रोहको केन्द्र बन्न खोजेको छ । तर, यसमा भुल्न नहुने अर्को पाटो भनेको कोइराला समूहको विरासतको दाबी गर्दै आएका डाक्टर शेखर कोइराला भने गगनको इतर पक्षका भेला तथा बैठकमा देखिएका छैनन् । बरु उनी पक्षीय नेता कार्यकर्ता भने इतर पक्षमा खुल्न थालेका छन् । विराटनगरका सभापति चापागाईं, मोरङका उपसभापति नागेश कोइराला, सभापति डिकबहादुर लिम्बू कोइराला पक्षकै भए पनि इतर पक्षको भेला बैठकमा जान थालेको देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण