सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

खाली हुन थाले फिर्के खोलाघरका संरचना, शनिबारसम्म विवरण बुझाउन निर्देशन

शुक्रबार, ०८ जेठ २०८३, १८ : ३२
शुक्रबार, ०८ जेठ २०८३

पोखरा। पोखरा महानगरपालिकाले खोलाघरका संरचना हटाउने सूचना जारी गरेपछि फिर्केको खोलाघरभित्र रहेका संरचनाहरू धमाधम खाली गर्ने क्रम सुरु भएको छ। महानगरपालिकाले वैशाख ४ गते ३५ दिने सूचना जारी गरेको थियो । सार्वजनिक, ऐलानी र सरकारी जग्गामा बनेका अवैध संरचना खाली गर्न महानगरको निर्देशन थियो।

फिर्के खोलाको खोलाघरमा पर्ने संरचनाले पनि आफ्ना घर तथा कार्यालय खाली गर्न थालेका हुन्। लायन्स क्लब अफ पोखरा फिस्टेल सिटीले जिरो किलोमिटर नजिक बनाएको भवन खाली गरेको छ । यसअघि आजै फोटोग्राफर सङ्घको भवन पनि खाली गरिएको छ । जेठ ६ गते अर्को सूचना निकालेर ९ गतेको अल्टिमेटम दिइएको थियो।

सोही निर्देशनअनुसार भवन खाली गर्न सुरु गरेका हुन् । लायन्स भवन २०६० सालमा निर्माण गरिएको थियो । महानगरपालिकाले फिर्केखोला संरक्षण, साइकल लेन निर्माण तथा सौन्दर्यीकरणका लागि योजना अघि सारेपछि आफूहरूले खुला रूपमा सहयोग गरेको क्लबले जनाएको छ । फिर्केखोला आसपासमा महानगरपालिकाले दुई वर्षअघि नै खोलाघरमा पिलर गाडेको थियो ।

यसैबिच महानगरले ९ शनिबार भित्र विवरण अद्यावधिक गर्न पनि अर्को सूचना निकालेको छ । खोलाघरमा १ सय ६० भन्दा बढी संरचना रहेको बताइएको छ ।

यसैबिच खोलाको क्षेत्र अतिक्रमण गरी बसोबास गरिरहेका सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई आफ्नो विवरण पेस गर्न अर्को सूचना निकालिएको छ। फिर्के खोला वडा नम्बर १८ को अँधेरीखोलादेखि २, ४, ५, ७, ८, १७ हुँदै वडा नम्बर ६ को गाइघाटसम्म बग्छ।

प्राविधिक टोलीले नापजाँच गरी पोल गाडिसकेको स्थानमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई आगामी जेठ ९ गतेभित्र आफ्नो विवरण बुझाउन भनिएको हो।

विवरण बुझाउँदा सम्बन्धित व्यक्तिले महानगरपालिकाबाट वितरण भएको निस्सा वा जग्गाधनी पुर्जाको प्रतिलिपि, घरमूली र परिवारका सदस्यको नागरिकताको प्रतिलिपि, नाता प्रमाणित पत्र वा घरमूलीले स्वघोषणा गरेको नाता खुलेको पत्र र बसाइँसराइ भएको भए सोको प्रतिलिपि र पानी–विद्युत् सुविधा लिएको प्रमाण पेस गर्नुपर्छ।

विवरण सङ्कलनका लागि आवश्यक सहजीकरण गर्न शनिबार सार्वजनिक बिदा परे पनि कार्यालय खुला राख्ने निर्णय गरेको छ।

बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म महानगरको प्रशासन महाशाखाबाट विवरण बुझ्न सकिने महानगरले जनाएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप