मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
एमाले राजनीति

ओलीलाई सुब्बाको कटाक्ष : पार्टी तपाईँको प्राइभेट कम्पनी हो ?

शुक्रबार, ०८ जेठ २०८३, १९ : ५३
शुक्रबार, ०८ जेठ २०८३

सारांश

  • नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङबीच पार्टीको नेतृत्व र सङ्कटबारे नोकझोक चलेको छ।
  • उपाध्यक्ष गुरुङले एमाले कसैको प्राइभेट कम्पनी नभएको भन्दै नेतृत्वले पार्टी सङ्कटमा परेको स्वीकार्नुपर्ने बताएका छन्।
  • पार्टीको नेतृत्व परिवर्तन र पुनर्गठनको बहसलाई ओलीले व्यर्थको टिप्पणी भनेपछि नेताहरू थप आक्रोशित बनेका थिए।

काठमाडौँ । गत फागुन २१ भएको निर्वाचन समीक्षासहित नेताहरूको कार्य विभाजन गर्न बसेको नेकपा एमालेको सचिवालय बैठकमा नेताहरूबिच नोकझोक चलेको छ। 

शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको निजी निवास गुण्डुमा झण्डै ६ घण्टा बसेको बैठकमा अध्यक्ष ओलीसँग उपाध्यक्ष विष्णु पौडेल,पृथ्वी सुब्बा गुरुङबिच भनाभन हुँदै नोकझोक नै चलेको हो।

त्यसक्रममा नेताहरूले अध्यक्ष ओलीलाई नेतृत्व छाड्न सुझाव दिएका थिए । तर ओलीले नेतृत्व छाड्ने भन्दा पनि नेताहरूलाई कारबाही गरेर जानुपर्ने आशय व्यक्त गरेपछि नेताहरूबिच नोकझोक सुरु भएको थियो । 

बैठकमा अध्यक्ष ओलीले पार्टीभित्र चलिरहेको नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहसलाई व्यर्थको बाँसुरी बजाएको टिप्पणी गरेका थिए । उनले पुनर्गठनको आवाजलाई पार्टीलाई कमजोर बनाउन गरिएको भनेपछि नेताहरू थप आक्रोशित बनेको एक सचिवालय सदस्यले जानकारी दिए । 

उनका अनुसार उपाध्यक्ष विष्णु पौडेलले पार्टी ठुलो सङ्कटमा परेकाले पार लगाउनुपर्ने भन्दै अध्यक्ष ओलीले सहजै निकास दिनुपर्ने धारणा राखेका थिए ।

‘पार्टी ठुलो सङ्कटमा परेको छ, यसलाई पार लगाउनुपर्छ’, पौडेलको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘यसको वस्तुनिष्ठ समीक्षा पनि हुनुपर्छ ।’पौडेलले पराजयको जिम्मा नेतृत्वले लिनुपर्ने भन्दै अव नेतृत्वले छाड्नुको विकल्प नभएको बताएका थिए ।बैठकमा अर्का उपाध्यक्ष रामबहादुर थापा बादलले भने अध्यक्ष ओलीको बचाउ गरेका थिए । 

ओलीको बचाउमा बादल उभिएपछि पृथ्वी सुब्बा (पीएस) गुरुङ बिचैमा बोलेका थिए । ‘नेतृत्वको रक्षा गर्ने बेला हो यो । पार्टी र आन्दोलनको रक्षा नगर्नेहरूलाई सहयोग गर्न सकिँदैन’, बादलले यसो भन्दै गर्दा उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ कड्किँदै प्रतिवाद गरेका थिए । 

‘एमाले कसैको प्राली होइन, यो पार्टी बनाउन धेरै नेता कार्यकर्ताको रगत,पसिना र मेहनत परेको छ । पार्टीलाई कसैले पनि प्राइभेट कम्पनी बनाउन मिल्दैन’ उपाध्यक्ष गुरुङको भनाइ थियो । 

उपाध्यक्ष रघुजी पन्त र गोकर्ण विष्टले पनि निर्वाचनको वस्तुनिष्ठ समीक्षा गरेर पार्टीलाई पुनर्जीवन दिनुपर्ने धारणा राखेका थिए । नेताहरूबिच लामै सवालजवाफ भएपछि कार्य विभाजनको एजेण्डामा छलफल नै नभएको एक नेताले बताए।

शुक्रबारको बैठकमा पाँच उपाध्यक्ष बोल्दा नै ६ घण्टा बितेपछि महासचिव, उपमहासचिव र सचिवहरुले शनिबार धारणा राख्नेगरी बैठक सकिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप