शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

लुम्बिनीको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत

शुक्रबार, ०८ जेठ २०८३, २१ : ११
शुक्रबार, ०८ जेठ २०८३

सारांश

  • लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गरेको छ।
  • सरकारले आगामी जेठ ११ गते नीति तथा कार्यक्रम प्रदेश सभाको बैठकमा प्रस्तुत गर्ने तयारी गरेको छ।
  • यस्तै, निता पोख्रेल अर्याललाई युवा तथा खेलकुद मन्त्रालयको सचिव र छविराज पोख्रेललाई लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकिएको छ।

बुटवल। लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गरेको छ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा शुक्रबार साँझ बसेको बैठकले वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए।

सरकारले आगामी जेठ ११ गते नीति तथा कार्यक्रम प्रदेश सभाको बैठकमा प्रस्तुत गर्ने तयारी गरेको छ। बैठकले निता पोख्रेल अर्याललाई युवा तथा खेलकुद मन्त्रालयको सचिवको जिम्मेवारी तोक्ने निर्णय गरेको छ। 

त्यस्तै लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिस्पर्धामार्फत छविराज पोख्रेल नियुक्त भएका छन् । 

प्युठान झिमरुक गाउँपालिका–५ निवासी पोख्रेललाई शुक्रबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले प्रमुख कार्यकारी अधिकृतका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो ।

चार वर्षे कार्यकाल पूरा भएपछि उक्त पद रिक्त रहेको थियो । पदपूर्तिका लागि प्रदेश सरकारले कार्यविधि तयार गरी सार्वजनिक सूचना जारी गरेको थियो। सोही आधारमा सिफारिस समिति गठन गरी खुला प्रतिस्पर्धा प्रक्रिया सञ्चालन गरिएको थियो।

सिफारिस समितिले योग्यताक्रम अनुसार तीन जनाको नाम सिफारिस गरेको थियो । जसअनुसार पहिलो नम्बरमा छविराज पोख्रेल, दोस्रो नम्बरमा बुटवल उपमहानगरपालिका–१६, रुपन्देही निवासी मन्नुप्रसाद चौधरी र तेस्रो नम्बरमा झिमरुक गाउँपालिका–४, प्युठान निवासी प्रकाश जिसीको नाम सिफारिस गरिएको थियो।

योग्यताक्रम अनुसार पहिलो नम्बरमा रहेका पोख्रेललाई नै प्रदेश सरकारले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको मन्त्री पन्थीले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप