शुक्लाफाँटा नगरपालिकाद्वारा निःशुल्क शव चिस्यान सेवा सञ्चालन
सारांश
- शुक्लाफाँटा नगरपालिकाले निःशुल्क शव चिस्यान सेवा सुरु गरेको छ।
- यो सेवाले मृतकका आफन्तलाई अन्तिम दर्शनको अवसर दिनेछ।
- नगरपालिकाले शववाहन सेवा पनि सञ्चालनको तयारी गरेको छ।
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले नगरवासीका लागि निःशुल्क शव चिस्यान (डेथ बडी फ्रिजर) सेवा सञ्चालनमा ल्याएको छ । नगरपालिकाले ठेक्का प्रक्रियामार्फत रु तीन लाख लागतमा आवश्यक उपकरण खरिद गरी यो मानवीय सेवा सुरु गरेको हो ।
नगर कार्यपालिकाको हिउँदे अधिवेशनले गरेको निर्णयबमोजिम ठेक्का प्रक्रियामार्फत उपकरण खरिद गरिएको नगरपालिकाको पूर्वाधार शाखाका प्रमुख दीपक धामीले जानकारी दिए ।
“वैदेशिक रोजगारी वा देशका विभिन्न दुर्गम क्षेत्रमा रहेका परिवारका सदस्य समयमै घर फर्किएर आफ्ना दिवङ्गत आफन्तको अन्तिम अनुहार हेर्न सकुन् भन्ने उद्देश्यले यो सेवा सुरु गरिएको हो,” शाखा प्रमुख धामीले भने, “यो चिस्यान यन्त्रको सहयोगले शवलाई चारदेखि पाँच दिनसम्म सुरक्षित रूपमा राख्न सकिन्छ ।”
उनका अनुसार पछिल्लो समय युवा वैदेशिक रोजगारी तथा अध्ययनका सिलसिलामा घरबाहिर रहने क्रम बढ्दो छ । यस्तो अवस्थामा परिवारका सदस्यको आकस्मिक निधन हुँदा आफन्त आइपुग्नुअघि नै अन्त्येष्टि गर्नुपर्ने बाध्यात्मक अवस्थालाई यस सेवाले अन्त्य गर्ने विश्वास गरिएको छ ।
नगर प्रवक्ता लालबहादुर ऐरले यस सेवालाई मानवीय संवेदनासँग जोडिएको एक महत्त्वपूर्ण र संवेदनशील कार्यक्रमका रूपमा व्याख्या गरे ।
“मृत्युलाई कसैले टार्न सक्दैन, तर कम्तीमा टाढा रहेका आफन्तले घर फर्केर मृतकको अन्तिम दर्शन गर्न पाउन् भन्ने हाम्रो चाहना हो,” उनले भने । नगरपालिकाले आवश्यक परेका परिवारको घरदैलोमै नगर प्रहरीमार्फत यो यन्त्र पुर्याउने व्यवस्थासमेत मिलाएको छ ।
यसैबिच, नगरपालिकाले आगामी असार मसान्तभित्रै शव वाहन सेवा सञ्चालनमा ल्याउने अन्तिम तयारी गरेको छ । पूर्वाधार शाखा प्रमुख धामीका अनुसार शव वाहन खरिदका लागि ठेक्का प्रक्रिया पूरा भइसकेको र असारभित्रै गाडी नगरपालिकामा आइपुग्नेछ । शव चिस्यान र शव वाहन दुवै सेवा पूर्ण रूपमा सञ्चालनमा आएपछि नगरवासीलाई थप राहत पुग्नेछ ।
आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका लागि निजी क्षेत्रबाट यस्तो सेवा लिन निकै महँगो पर्ने भएकाले स्थानीय बासिन्दाले नगरपालिकाको यस लोककल्याणकारी एवं सेवामूलक कार्यको स्वागत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण