कांग्रेसलाई एक बनाउने कि चिरा पर्न दिने ?
सारांश
- नेपाली कांग्रेस इतिहासकै सबैभन्दा डरलाग्दो राजनीतिक कोमामा ढलिरहेको छ, जसको कारण आन्तरिक झगडा र विभाजनको बाटोमा पुगेको छ।
- पार्टीलाई एक बनाउन नेतृत्वले सहअस्तित्व स्वीकार्यता, निजी महत्त्वाकाङ्क्षा त्याग्नुपर्ने र सबै पक्षले अदालतको निर्णयलाई सहजताका साथ स्वीकार गर्नुपर्ने देखिन्छ।
- सदस्यता नवीकरणको विषयले कार्यकर्तामा आतंक छरिएको छ, जसले पार्टी र आम नागरिकबीचको दूरी बढाएको छ।
हिजो के थियो ? नेपाली कांग्रेस आज हेर्दाहेर्दै के भइदियो ? नेपाली राजनीतिकको इतिहासमा नेपाली कांग्रेस आफैमा उज्यालो क्यानभाष हो । नेपाली राजनीतिसँग नेपाली कांग्रेसको परिचय सायदै मेटिएला । तर यतिबेला भने नेपाली कांग्रेस आफै इतिहासको सबैभन्दा डरलाग्दो राजनीतिक कोमामा ढलिरहेको छ ।
न लास बन्न सकेको छ न यो भित्र राजनीतिक सास चल्न सकेको छ । नेपाली कांग्रेस किन यस्तो अवस्थामा पुग्यो । इतिहासका कुनै कालखण्डहरूमा यसको जवाफ पक्कै आउनेछ । तर अहिले जो जसले नेपाली कांग्रेसको नवीन नेतृत्व गरिरहेका छन्, उनीहरूलाई पनि इतिहासका यी प्रश्नहरूले कदापि छोड्ने छैनन् ।
नेपाली राजनीतिक आकाशमा नेपाली कांग्रेस यसरी कहिल्यै धुमिल भएको थिएन, जसरी अहिले भइरहेको छ । आधुनिक राजनीतिक चेतनासँगै त्यसको एउटा राजनीतिक ज्योति बनेर नेपाली कांग्रेस जन्मिएको हो । निरंशुक जहानियाँ राणा शासनको त्यो अन्धकार युगलाई चिर्दै नेपाली समाजमा लोकतन्त्रको उज्यालो खोज्नका लागि हाम्रा अग्रजहरूले नेपाली कांग्रेस जन्माएका हुन् ।
बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर, कृष्णप्रसाद भट्टराईजस्ता सच्चा राजनीतिक नेताहरूको त्याग, तपस्या र बलिदानले नेपाली कांग्रेस नेपाली राजनीतिको एउटा निर्णायक शक्ति बनिरहेको थियो । नेपाली कांग्रेसको जन्म केबल केही नेताहरूको नाम र मात्रै पार्टी निर्माणको एउटा घटनामात्रै थिएन, नेपाली कांग्रेसको जन्ममा आफैमा लोकतन्त्रको एउटा आधारशिला पनि थियो ।
जहाँ सारा नेपाली जनताको अमिट हस्ताक्षरहरू छन् । इतिहासका कैयौँ मोडहरू अनि बाटाहरू छिचोल्नका निम्ति नेपाली कांग्रेसले त्यहीअनुसारका रणनीतिहरू तय गर्दै आएको छ र परिवर्तनका हरेक मोडहरूमा नेपाली कांग्रेस सधैँ निर्णायक शक्तिका रूपमा उभिएको छ । जस्तो कि जहानियाँ राणा शासन अन्त्य गर्न नेपाली कांग्रेसले सशस्त्र संघर्षको बाटो रोज्यो ।
त्यसका लागि नेपाली कांग्रेसका नेताहरूले भारतमै लुकेर भए पनि नेपालीको स्वतन्त्रताका लागि युद्धको अनुसरण गरे । त्यसमा जनताको भरपुर समर्थन रह्यो । जनसमर्थनको त्यही बलियो जगमा क्रान्तिकारी अभियान अनि राजनीतिक शक्तिसँगै अन्ततः राणा शासनको अन्त्य भयो । ००७ सालको परिवर्तनसँगै नेपालमा लोकतान्त्रिक चेतनाको नयाँ युग सुरु भयो । त्यसका हरेक कालखण्डमा नेपाली जनताको एकमात्रै राजनीतिक भरोसाको केन्द्र नेपाली कांग्रेस नै रह्यो ।
नेपाली कांग्रेस आफ्नै मौलिक सिद्धान्तको जगमा जन्मिएको राजनीतिक पार्टी हो । आयातित सिद्धान्तलाई नेपाली कांग्रेसले कहिल्यै अपनत्व लिएन र राजनीति सिद्धान्तको जगमा मात्रै बलियो हुन्छ भन्ने कुरा नेपाली कांग्रेसले नै सिद्ध गरिदिएको हो । बिपी कोइरालाले प्रतिपादन गरेको समाजवाद, लोकतन्त्र र राष्ट्रियताका आधारशिलाहरूमा नेपाली कांग्रेसले कहिल्यै नमेटिने इतिहास कुँदेको छ । यो आफैमा नेपाली राजनीतिको एउटा सदा गौरवान्वित इतिहास हो ।
राष्ट्रिय स्वाधीनतामा आफ्नो अडान कहिल्यै छोडेको छैन नेपाली कांग्रेसले । छिमेकी राष्ट्रहरूसँग सम्बन्धको सन्तुलनसँगै सार्वभौमसत्ताको रक्षा तथा राष्ट्रिय एकतालाई नेपाली कांग्रेसले सधैँ आफ्नो मानक बनाएको छ । अनि लोकतन्त्रलाई आफ्नो प्राण बनाएको नेपाली कांग्रेस आफैमा ‘मास बेस्ड’ पार्टी पनि हो । हरेक नागरिकको जन्मसिद्ध अधिकार अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, बहुदलीय प्रतिस्पर्धा, नागरिक अधिकार तथा विधिको शासनलाई पार्टीले आफ्नो मूल आधार मान्दै आएको छ ।
इतिहासका यी तमाम आधारशिलामा बलियो नेपाली कांग्रेस अब भने भित्र–भित्रै खोक्रो भइसकेको छ । फगत बिपी अनि गणेशमान र किशुनजीहरूको सपनाको दुकान सजाएर मात्रै अब नेपाली कांग्रेस त्यो कांग्रेस बन्न सक्दैन जसको परिकल्पना उहाँहरूमा थियो ।
उसै पनि राजनीति आदर्शको राजमार्गबाट अलिअलि बिथोलिन लागेको नेपाली कांग्रेस ‘विशेष महाधिवेशन’को तुवाँलोमा अझ धेरै रुमलिन पुग्यो । न उसले आफ्नो स्पष्ट गन्तव्य देख्नसक्यो न त्यसको प्राप्ति नै । जेनजी आन्दोलनपछि नेपाली राजनीतिमा देखिएको त्यो घनघोर शून्यता र अन्योलताबाट नेपाली कांग्रेस आफू त निस्किन सकेन नै समग्र नेपाली राजनीतिको दिशा नै त्यसले झन् धेरै बिथोलिदियो ।
पार्टीको आन्तरिक झगडालाई खुलमखुला कांग्रेसका केही महत्त्वाकाङ्क्षी नेताहरूले भृकुटीमण्डपमा छताछुल्ल पारिदिए । ०८१ को पुस अन्तिम साता नेपाली कांग्रेसको राजनीतिक कोमा यात्रा सुरु भयो ।
त्यसकै प्रतिफल फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा इतिहासकै सबैभन्दा नमिठो पराजयको कलङ्क कांग्रेसको पार्टी जीवनमा टाँसियो । यद्यपि निर्वाचन परिणामको अङ्कगणितले मात्रै पार्टी जीवनको उचाइ नापिँदैन तथापि त्यो ‘विशेष महाधिवेशन’ले अहिले नेपाली कांग्रेस इतिहासकै सबैभन्दा कठिन र भयंकर विभाजनको मार्गमा दौडिरहेको छ न त्यसको कुनै गन्तव्य छ न त्यसको कुनै लक्ष्य ।
भएका लक्ष्य अनि गन्तव्यहरू त साझा नै हुन्, राष्ट्रियता, लोकतन्त्र र समाजवादको एउटै दिशा हो । तर त्यसमा छरपस्ट अनुहारहरू अहिले चारैतिर फिँजिएका छन् । खासगरी यी छरिएका यी सबै बाटाहरूबाट उनीहरूलाई फर्काएर फेरि एउटै साझा यात्राको थालनी गर्ने जिम्मेवारी वर्तमान सभापति र उहाँका सारथिहरूको हो, समग्रमा हामी सबै नै कांग्रेसी आदर्श, सिद्धान्त र राजनीतिको साझा सारथि हौँ ।
पार्टीलाई आधुनिक र प्रविधिमैत्री बनाउने नाममा अहिले ‘सदस्यता अद्यावधिक’को जुन आतंक आम कार्यकर्ताहरूमा छरिएको छ, यसले नेपाली कांग्रेसलाई इतिहासकै सबैभन्दा कठिन मोडमा पु¥याउने निश्चित छ । पहिलो कुरा त नेपाली कांग्रेसको पार्टी सदस्यता भनेको कुनै नेता वा नेतृत्वको झोलीबाट झिकेर दिने कुरा होइन ।
त्यो कुनै निगाहा होइन अर्थात् हरेक नेपालीलाई नेपाली कांग्रेसको सदस्य हुन, कांग्रेसको राजनीतिक यात्रामा सारथि बन्न कसैको निगाहा चाहिन्न । हरेक नेपालीलाई नेपाली कांग्रेस आफ्नो हो भन्ने जन्मसिद्ध अधिकार छ । त्यसका लागि पार्टीका कुनै निर्देशित सिद्धान्तहरूले रोक्न वा छेक्न सक्दैन । पार्टी वा संगठनलाई संस्थागत गर्न, चलायमान गराउन अनि पद्धतिलाई स्थापित गर्न केही प्रणालीहरू चाहिन्छन् ।
तर त्यसको अर्थ आम नेपालीलाई नेपाली कांग्रेसको सदस्य हुँ भनेर गर्व गर्न र आफूलाई रुख अनि चारतारे झन्डामुनि राखेर आत्मस्वामिमानी महसुस गर्नका लागि कांग्रेसमा त्यस्ता कुनै सर्तहरू चाहिँदैनन् । नेपाली कांग्रेसको यो सहज र सजिलो अपनत्वलाई अहिले जसरी ‘बेच्न’ राखिएको छ, त्यसले आम नागरिक र पार्टीको दूरी झन् गहिरो हुन्छ । जनताबाट जति टाढा भयो नेपाली कांग्रेसको अस्तित्व उति नै नासिने खतरा बढ्दै जानेछ, यसमा कुनै दुई मत छैन ।
कांग्रेस चिरिनुको सबैभन्दा ठुलो पीडा आज त्यसलाई चिरेका महत्त्वाकाङ्क्षी वा लोभीपापी नेता नेतृत्वलाई होइन, जसले जीवनभरि रुख र चारतारे झन्डालाई मात्रै आफ्नो राजनीतिक जीवनको आदर्श मानेको छ त्यो भुइँमान्छे अर्थात् त्यो तहको कार्यकर्तालाई कांग्रेसको भलो चिताउनेहरूलाई भइरहेको छ ।
आफू कांग्रेस हुनुको मूल्य आज ती कार्यकर्ताहरूले ‘नयाँ’ भनिनेहरूको थिचोमिचो सहेर जसरी तत्लो तहमा कांग्रेसका हाँगाबिँगा बचाएर बसेका छन्, उनीहरूलाई नेपाली कांग्रेसबाट केही लिनुदिनु छैन । उनीहरूलाई कांग्रेसको नेता बन्नु छैन । चुनाव लड्नु छैन । मन्त्री बन्नु छैन । अर्थात् कुनै स्वार्थ अनि महत्वकांक्षाको भारी उनिहरूले पार्टीमा बिसाउन खोजेका छैनन् ।
ती कार्यकर्ताहरूको यस्तो कञ्चन शुभेच्छाहरूलाई कसरी जोगाइराख्ने ? त्यतातिर नेपाली कांग्रेसको नेतृत्वले सोच्न जरुरी छ । किनकि नेपाली कांग्रेसको आत्मा भनेकै यिनै भुँइतहका कार्यकर्ताहरू हुन् न कि सदस्यताको रसिदमा लुछाचुँडी गर्ने स्वार्थी अनि लोभिपापी ‘नेता’हरू ।
अब नेपाली कांग्रेसलाई एक बनाउने कि चिरा पर्न दिने ? यो नेपाली कांग्रेसको पार्टी जीवनको अनुत्तरित सवाल मात्रै होइन बरु राष्ट्रियता, लोकतन्त्र र समाजवादको नेपाली राजनीतिक यात्राको एउटा पीडादायी क्षण पनि हो । साँच्चिकै नेपाली कांग्रेसलाई अब एक बनाएर अघि बढाउने हो भने सबैभन्दा पहिला सहअस्तित्व स्वीकार्यतालाई आत्मसात् गर्नुपर्छ ।
आफ्नो निजी महत्त्वाकाङ्क्षा, स्वार्थ र कुत्सित मनोभावहरूलाई पन्छाएर साँच्चिकै पार्टी जीवनका लागि आफूलाई समर्पित गर्ने हो नेपाली कांग्रेसका नेता र नेतृत्वले एकअर्काको अस्तित्व स्विकार्ने उदारता देखाउनै पर्छ ।
त्यो भनेको के हो भने ‘विशेष महाधिवेशन’को रामकहानी अब अदालतले नै एउटा किनारामा पुर्याइसकेको छ । त्यसलाई कुनै एक पक्षको जित र अर्को पक्षको हार भन्दा पनि दुबै पक्षले सहजताका साथ स्वीकार गर्ने हिम्मत गरौँ । अनि त्यही विशेष महाधिवेशन र १४औँ महाधिवेशनको नेतृत्वको एउटा संगमस्थल खोजौं जसले आगामी १५औँ महाधिवेशनलाई साँच्चिकै भावनात्मक रूपमा ‘एकता’को महाधिवेशन बनाउन सकोस् ।
अहिले जुन कांग्रेसको सदस्यताको बहस चलिरहेको छ, त्यसलाई एकप्रकारले पार्टीको गतिशिलताका रूपमा स्वीकार गरेर हरेक कार्यकर्ताको आत्मसम्मानमा चोट नपुग्नेगरी एउटा प्रणालीमा ढालौँ । ताकि हरेक भुइँमान्छेले कांग्रेस भएको गर्वले छाती ठोकेर भन्न सकोस् ।
जय नेपाल... !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
-
विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो
-
राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएन : अध्यक्ष विश्वकर्मा
-
३ देश, ४८ टोली र नयाँ नियमसहित इतिहासकै सबैभन्दा ठुलो फुटबल महोत्सव
-
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण