आफ्नैबाट टाढिए ओली, तर अझै भएनन् टसमस
काठमाडौं । नेकपा (एमाले) मा संस्थागत किचलो सुरु भएको छ। अध्यक्ष केपी शर्मा ओलीको ‘युज एन्ड थ्रो’ नीतिका कारण विगतमा उनीसँग निकट रहेर काम गरेका र उनलाई सहयोग गर्ने धेरैजसो नेताहरू उनको व्यवहार र कार्यशैली बुझेपछि विपक्षमा उभिएका छन्।
फलस्वरूप, ओली पार्टीभित्र एक्लिँदै गएका छन्। सचिवालयमा अल्पमतमा परेका ओली अब केन्द्रीय कमिटीमा बहुमत देखाउने प्रयासमा जुटेका छन्। तर, ओलीको यो प्रयास केन्द्रीय कमिटी बैठकमा पनि सफल हुन नसक्ने नेताहरूको भनाइ छ।
- ओलीको ‘युज एन्ड थ्रो’ नीति: वामदेवदेखि ईश्वर पोखरेलसम्म
एमाले नेताहरूका अनुसार, ‘युज एन्ड थ्रो’ को नीति अवलम्बन गर्दै अघि बढ्ने ओलीको प्रवृत्ति आजको मात्र होइन, २०७० सालदेखिकै हो। जतिबेला ओली नेकपा (एमाले) को संसदीय दलको नेता बन्न चाहन्थे, त्यतिबेला पार्टीमा उनलाई चुनौती दिन सक्ने नेता वामदेव गौतम थिए। यही कुरा बुझेर ओलीले आफू दलको नेता बन्न गौतमसँग आन्तरिक सम्झौता गरेका थिए।
‘म अहिले दलको नेता हुन्छु, अब हुने राष्ट्रिय महाधिवेशनमार्फत तपाईं पार्टी अध्यक्ष वा दलको नेतामध्ये एक हुनुहोला,’ ओलीले त्यतिबेला गौतमलाई भनेका थिए। ओलीको यो प्रस्तावलाई गौतमले सहजै स्वीकारे र सोहीअनुसार दलको नेतामा उनलाई सघाए।
ओली दलको नेता निर्वाचित भएको केही समयपछि महाधिवेशन हुने भयो। त्यतिबेला ओलीले फेरि गौतमलाई भने, ‘म अहिले अध्यक्ष हुन्छु, तपाईं पख्नुस्, पछि कुरा गरौँला।’ ओलीको यो कुरालाई पनि गौतमले स्वीकारे र सहयोग गर्दै गए। जब एमालेको नवौँ महाधिवेशन हुने भयो, त्यतिबेला ओलीले अर्का नेता ईश्वर पोखरेलसँग सम्झौता गर्न पुगे।
त्यसबेला ईश्वर पोखरेल पनि अध्यक्षका आकांक्षी थिए। यो बुझेर ओलीले पोखरेललाई भने, ‘अहिले म अध्यक्ष हुन्छु, दसौँ महाधिवेशनमा तपाईं नै अध्यक्ष बन्नुहोला, फरक पर्दैन।’
यसरी गौतम र पोखरेललाई साथमा लिएर शक्तिमा पुगेका ओलीले त्यसयता दुवै नेतालाई कमजोर बनाउने र खिसीट्युरी गर्नतर्फ लागे। ‘अध्यक्ष भएपछि ईश्वर पोखरेल र गौतम दुवैलाई कमजोर बनाउने र किनाराकृत गर्न थाल्नुभयो,’ एक नेताले भने, ‘माधव नेपाल, झलनाथ खनाल र विद्या भण्डारीप्रति ओलीले गरेको व्यवहार त सबैलाई थाहा भएकै हो।’
_m2EDGNg85P.jpg)
- पौडेल र पोखरेललाई भिडाउने प्रयास र उनीहरूको ‘सरप्राइज’
ओलीले सोही नीतिअनुसार पछिल्लो समय नेताहरू विष्णु पौडेल र शंकर पोखरेललाई लडाउने र भिडाउने प्रयास गरे। ‘पछिल्लो समय विष्णु र शंकरलाई लडाउन र भिडाउन थाल्नुभयो,’ एक केन्द्रीय सदस्यले भने, ‘दुवैलाई अलग-अलग बोलाएर एकको कुरा अर्कोलाई लगाउने मात्र होइन, पार्टी नै समाप्त पारेर जनमोर्चाको हालतमा पुर्याउने अवस्था बन्यो। जुन कुरा पौडेल र पोखरेलले बुझे।’
ओलीको यो चाल बुझेर नै पौडेल र पोखरेल उनको विपक्षमा उभिन बाध्य भएको एक सचिवालय सदस्यले रातोपाटीलाई बताए। ‘धेरैलाई पौडेल र पोखरेल ओलीको विपक्षमा जान्छन् भन्ने लागेको थिएन। विपक्षमा लाग्दा ‘सरप्राइज’ जस्तै भयो,’ ती सचिवालय सदस्यले भने, ‘ओलीको ‘युज एन्ड थ्रो’ को स्ट्राटेजी बुझेपछि अब उहाँबाट पार्टी चल्दैन भन्ने निष्कर्षमा पुगेर दुवैजना विपक्षी कित्तामा आइपुगे।’
पछिल्लो सचिवालय बैठकसम्म आइपुग्दा १९ सदस्यीय एमाले सचिवालयमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव महेश बस्नेत मात्र ओलीको समर्थनमा देखिए।
‘नेताहरू ओलीसँग टाढिनुमा अरू कुनै कारण छैन, ओलीको आफ्नै व्यवहार मुख्य कारण हो,’ ती नेताले भने, ‘एमालेमा संस्थागत किचलो सुरु भयो। यो किचलोको सन्देश देशभर फैलिसक्यो। अब ओलीले राजीनामा दिनु र सम्मानजनक बहिर्गमन हुनुबाहेक अरू विकल्प छैन।’
- ओलीलाई मार्गप्रशस्त गर्न पदाधिकारीको दबाब
नेकपा (एमाले) का अध्यक्ष ओलीका निकट सहयोगी र उनलाई प्रायजसो भरथेग गर्ने नेताहरूमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेल चिनिन्थे। प्रायः धेरैजसो कदम चाल्दा र निर्णय गर्दा यिनै नेताको आडभरोसामा ओली अघि बढ्थे। तर, समय बदलिएसँगै पौडेल र पोखरेल पनि बदलिए। अर्थात्, पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको पक्षमा आम एमाले नेता-कार्यकर्ताको भावना समेट्दै उनीहरूले ओलीलाई मार्गप्रशस्त गरेर सम्मानित अभिभावकका रूपमा बस्न सुझाव दिए।
पौडेल र पोखरेलको यो सुझाव ओलीलाई पाच्य हुने कुरै भएन। त्यसैले उनले पद नछाड्ने जिद्दी कसिरहेका छन्। बरु, केन्द्रीय कमिटीमा बहुमत पुर्याउन सकिन्छ कि भनेर निर्णय गर्ने जिम्मा केन्द्रीय कमिटीलाई नै दिनुपर्छ भन्ने रणनीतिमा ओली पुगेका छन्। ओलीको नहट्ने जिद्दीका कारण शुक्रबारदेखि सुरु भएको एमाले केन्द्रीय सचिवालय बैठकमा नेताहरूबीच सवालजवाफ र नोकझोंक मात्र चलेन, बैठकको वातावरण नै झन्डै ‘तनावग्रस्त’ बन्न पुग्यो।
_TFTRXwLYiF.jpg)
विगतमा ओलीलाई साथ दिएका पौडेल र पोखरेल नै अलग कित्तामा उभिएपछि, यसअघि फरक मत राख्दै आएका गोकर्ण विष्ट र योगेश भट्टराईलाई मात्र होइन, लेखराज भट्ट र रघुवीर महासेठहरूलाई पनि पार्टी रूपान्तरणको पक्षमा आवाज बुलन्द पार्न मद्दत पुग्यो। जसले गर्दा १९ सदस्यीय सचिवालय बैठकमा ओली स्पष्ट रूपमा अल्पमतमा परे।
ओलीको बचाउमा रामबहादुर थापा र महेश बस्नेत मात्र खुल्दा बहुमत सदस्यले नेतृत्वको विकल्प खोजे। यो ओलीका लागि अत्यन्त अप्रिय राजनीतिक घटना जस्तै बन्न पुग्यो। यसले एमालेभित्रको यथास्थिति र नेतृत्व परिवर्तनको अडानलाई एकैसाथ उजागर गरेको छ।
- नेतृत्व नछाड्ने ओलीको अडान र चर्किएको बहस
फागुन २१ को निर्वाचन समीक्षा र नेताहरूको कार्यविभाजन गर्न बसेको बैठकमा अधिकांश पदाधिकारीहरूले पार्टी पुनर्गठन, रूपान्तरण र पुस्तान्तरणको आवश्यकता औँल्याउँदा पनि अध्यक्ष ओलीले आफ्नो अडानमा कुनै हिचकिचाहट देखाएनन्। बरु, आफू कुनै हालतमा नेतृत्व नछाड्ने र आफूलाई सम्झाउन जरुरी नभएको पाठ नेताहरूलाई पढाउन भ्याए।
एमालेका पाँचमध्ये चार उपाध्यक्षहरू विष्णु पौडेल, रघुजी पन्त, पृथ्वीसुब्बा गुरुङ र गोकर्ण विष्ट मात्र होइन, महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई र नौमध्ये ८ सचिवहरूले समेत प्रत्यक्ष-अप्रत्यक्ष रूपमा अध्यक्षलाई मार्गप्रशस्त गर्न आग्रह गरे। जेनजी आन्दोलन र निर्वाचनमा भएको पराजयपछि पुरानै नेतृत्व र शैलीमा पार्टी चलाउन नसकिने भन्दै अधिकांश नेताहरूले पार्टी पुनर्गठन गरेर जानुपर्ने स्पष्ट धारणा राखे। ओलीका निकट विश्वासपात्र मानिने महासचिव पोखरेलले समेत पार्टीभित्र पुनर्गठनको आवाज ठूलो रहेको र यो थेग्न नसकिने भन्दै परिवर्तनलाई आत्मसात् गर्नुपर्ने सुझाव दिए, जुन ओलीका लागि अनपेक्षित थियो।
जारी बैठकमा नेताहरूलाई खुलेर कुरा राख्न अनुमति दिए पनि ओलीले भने नेतृत्व छोड्ने कुनै संकेत दिएनन्। आफ्नै भनिएका नेताहरूबाट टाढिँदै गए पनि उनी पूर्ववत् अडानबाट टसमस भएका छैनन्। ओलीको यस्तो अडानले एमालेभित्र पुनर्गठन र पुस्तान्तरणको बहसलाई थप चर्काएको नेताहरूको भनाइ छ।

तर, एमाले उपमहासचिव लेखराज भट्ट भने बैठकमा उठेका विषयलाई अतिरञ्जित ढंगबाट प्रचार गरिएको दाबी गर्छन्। शनिबारको बैठकपछि ओलीको राजीनामा र मार्गप्रशस्तको विषयमा उनले भने, ‘हिजोका कयौँ बैठकमा भएका चिजहरू अतिरञ्जित पाराले बाहिर आएका छन्। म जुन स्कुलिङबाट आएको छु, बैठकमा विभिन्न प्रवृत्ति र विचारहरू आउँछन्। तर, पार्टीको जे मुख्य लाइन हो, त्योभन्दा बाहिर बोल्न हुँदैन।’
नेताहरूका आ-आफ्नै व्याख्या र विश्लेषण भइरहँदा, चुनावमा ठूलो धक्का खाएको एमालेभित्र विवाद चर्किएको कुरामा भने दुईमत छैन। बरु, पुनर्गठनको बहसले नेतृत्वको शैली, संगठनात्मक संरचना र रणनीतिमाथि थप गम्भीर प्रश्न उठाइदिएको छ।
एमालेकै युवा पुस्ताले पुरानो नेतृत्वप्रति वितृष्णा व्यक्त गर्दै आएका छन्। कार्यकर्ता तहको आवाज बुझेका अधिकांश पदाधिकारीहरूको सामूहिक अडानलाई बेवास्ता गर्न वा दबाउन अब ओलीलाई सहज छैन। यदि ओलीले अझै पनि आफूलाई पार्टीको ‘अपरिहार्य’ नेता ठानिरहे पार्टीभित्र ‘ओलीविरोधी’ खेमा थप संगठित हुँदै उनलाई गलहत्याएर हटाउनुपर्ने अवस्था समेत आउन सक्ने कतिपय नेताहरूको बुझाइ छ। यद्यपि, ती नेताहरू अहिलेसम्म ओलीलाई सकेसम्म सम्मानजनक रूपमै बिदाइ गर्नु पार्टीको हितमा हुने पक्षमा छन्।
यदि ओलीले आफ्नै सहयोद्धाहरूको कुरा सुन्ने र उचित समयमा मार्गप्रशस्त गर्ने दूरदर्शिता देखाए भने पार्टीले गुमाएको साख पुनर्स्थापित हुने र नयाँ उचाइ लिन सक्ने सम्भावना जीवितै रहेको नेताहरूको भनाइ छ। तर, अर्कोतिर आफ्नैबाट टाढिएका र पार्टी कमिटीमा अल्पमतमा पर्दै गएका ओली अझै टसमस नभएर अडानमै रहिरहे पार्टी एकता थप कमजोर बन्ने चिन्ता एमाले वृत्तमा छाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण