शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गगनलाई १५औँ महाधिवेशनमा ठेगान लगाउने देउवा पक्षको चेतावनी

आइतबार, १० जेठ २०८३, १७ : १५
आइतबार, १० जेठ २०८३

सारांश

  • शेरबहादुर देउवा पक्षीय नेताहरूले पार्टी सभापति गगन थापाले पार्टीभित्र अराजकता र भ्रम फैलाएको आरोप लगाउँदै आगामी १५औँ महाधिवेशनमा उनलाई ठेगान लगाउने चेतावनी दिएका छन्।
  • कञ्चनपुर कांग्रेसका सभापति पदम बोगटीले गगन थापाले ४० वर्ष दुःख गरेका नेताहरूलाई अपमान गरेर कांग्रेस कब्जा गर्न खोजेको र १५औँ महाधिवेशनमा नयाँ नेतृत्व ल्याउने बताए।
  • पूर्वमन्त्री मोहनबहादुर बस्नेतले थापाले सङ्कलन गरेको भनिएको हस्ताक्षरलाई नक्कली र टोटलको खेतीको संज्ञा दिँदै पार्टी कार्यालयमा नआएर होटलमा बैठक बस्ने गरेको आरोप लगाए।

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको भेलामा शेरबहादुर देउवा पक्षीय नेताहरूले सभापति गगन थापाविरुद्ध आक्रोश पोखेका छन्। आइतबार धनगढीमा आयोजित प्रदेशस्तरीय भेलामा बोल्ने नेताहरूले सभापति थापाले पार्टीभित्र अराजकता र भ्रम फैलाएको भन्दै आगामी १५औँ महाधिवेशनमा उनलाई ठेगान लगाउने खुला चेतावनी दिएका हुन्।

कञ्चनपुर कांग्रेसका सभापति पदम बोगटीले सभापति गगन थापालाई लक्षित गर्दै आगामी महाधिवेशनमा बदला लिने चेतावनी दिए । ‘तपाईंले जसरी ४० वर्ष दुःख गरेका नेताहरूलाई अपमान गरेर मुण्ड मुण्डका मान्छे जम्मा गरेर कांग्रेस कब्जा गर्न खोज्नुभएको छ, त्यो सफल हुँदैन। १५ औँ महाधिवेशनमा हामी नयाँ नेतृत्व लिएर आउँछौँ र तपाईंलाई देखाइदिन्छौँ’, उनले भने।

बोगटीले गगन थापाले डिजिटल प्रविधिका नाममा पुराना नेताहरूको हुर्मत लिएको भन्दै अब चुप लागेर नबस्ने बताए । पूर्वमन्त्री तथा पूर्व केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सभापति थापाले सङ्कलन गरेको भनिएको हस्ताक्षरलाई नक्कली र टोटलको खेतीको  संज्ञा दिए । 

‘पार्टी कार्यालयमा आउन नसकेर होटलमा केन्द्रीय समितिको बैठक बस्ने र १३०० नक्कली हस्ताक्षर देखाएर भ्रम फैलाउने ? यस्ता मान्छेहरू आफैँ बिलाएर जान्छन्,’ उनले भने।

उनले शेरबहादुर देउवा नेपालकै अभिभावक भएको र उनकै कारण कांग्रेस ठुलो पार्टी बनेको दाबी गरे । सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले पार्टीको विधान र अनुशासन नमान्नेहरूलाई पार्टीबाटै निकाल्ने चेतावनी दिए । गगन थापाले पार्टी सदस्यता र लेवीका विषयमा भ्रम फैलाइरहेका छन्। हिजो महामन्त्री हुँदा नवीकरण गर भन्ने, आज त्यही कुराको विरोध गर्ने ? यस्तो रंगीन कुराले पार्टी चल्दैन। कांग्रेसको जरा उखेल्नेलाई हामीले फ्यात्त फालिदिन्छौँ,’ उनले भने

संस्थापन पक्षका नेताहरूको मात्रै बाहुल्यता रहेको उक्त भेलाको ब्यानरमा पूर्वसभापति शेरबहादुर देउवाको ठुलो तस्बिर राखिएको भए पनि वर्तमान सभापति गगन थापाको तस्बिर भने हटाइएको थियो । भेलामा सहभागी अधिकांश नेताहरूले गगन थापाले पार्टीभित्र समानान्तर गतिविधि चलाउन खोजेको आरोप लगाउँदै सुदूरपश्चिमका कांग्रेसहरू देउवाको पक्षमा उभिने उद्घोष गरे।

भेलामा एनपी साउद, रमेश लेखक, मुख्यमन्त्री कमलबहादुर शाह लगायतका दर्जनौँ नेताहरूले सम्बोधन गर्दै नेतृत्वको रक्षा र गुटगत राजनीतिको प्रतिवाद गर्ने बताएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप