बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अनुवाद

अफ्रिका मुक्ति दिवस : के महादेशले साँचो मुक्ति हासिल गरेको छ ?

सोमबार, ११ जेठ २०८३, १३ : ००
सोमबार, ११ जेठ २०८३

सारांश

  • सन् १९६३ मा अफ्रिका युनिटीको स्थापनाले महादेशीय मुक्तिको प्रतीक बने पनि त्रिसट्ठी वर्षपछि 'मुक्ति' को वास्तविक अर्थ बहसको विषय बनेको छ ।
  • पुस्तान्तरणले गर्दा राजनीतिक स्वतन्त्रताले आर्थिक स्वतन्त्रता नदिएको गुनासो छ, जहाँ युवाहरू ऋण, महँगी र बेरोजगारीको सामना गरिरहेका छन् ।
  • अफ्रिका दिवस अब उत्सवभन्दा बढी आत्ममूल्यांकनको अवसर बनेको छ, जहाँ राजनीतिक स्वतन्त्रतालाई आर्थिक आत्मनिर्भरता र डिजिटल नियन्त्रणमा रूपान्तरण गर्ने चुनौती छ ।

सन् १९६३ मे २५ मा अफ्रिकी नेताहरू इथियोपियाको राजधानी आदिस अबाबामा भेला भएर अर्गनाइजेसन अफ अफ्रिकन युनिटी (ओएयु) स्थापना गर्दा त्यो अवसर सिङ्गो महादेशीय मुक्तिको प्रतीक बनेको थियो, जसलाई धेरैले अझै पनि ‘अफ्रिका मुक्ति दिवस’ भनेर सम्झिन्छन् ।

त्रिसट्ठी वर्षपछि महादेशले अफ्रिका दिवस २०२६ मनाइरहँदा ‘मुक्ति’ वास्तवमा के हो भन्ने प्रश्न अझै पनि बाँकी छ । पहिले झन्डा र राष्ट्रिय गानद्वारा परिभाषित गरिने स्वतन्त्रता अहिले भने सम्पत्ति, प्रविधि र विश्वव्यापी प्रभाव कसले नियन्त्रण गर्छ भन्ने बहससँग जोडिएको छ र त्यो नियन्त्रणले महादेशभरको जनजीवनलाई कसरी आकार दिन्छ भन्ने विषयमा केन्द्रित हुन थालेको छ ।

पुरानो पुस्ताका लागि अफ्रिका दिवस अझै पनि अत्यन्त भावनात्मक उपलब्धि हो । यो उपनिवेशवाद र राजनीतिक दमनविरुद्धको कठिन संघर्षबाट प्राप्त विजयको स्मृति हो, जसले महादेशको इतिहासलाई पुनः आकार दिएको थियो ।

‘हामीले स्वशासनको अधिकारका लागि सङ्घर्ष गरेका थियौँ, र त्यो राजनीतिक स्वतन्त्रतालाई कहिल्यै सामान्य ठान्न हुँदैन,’ केन्याको मचाकोसका ७४ वर्षीय अवकाशप्राप्त निजामती कर्मचारी म्जे जोस्फाट किमान्थी भन्छन् ।

  • पुस्ताबिचको विभाजन

तर किमान्थी पुस्ताबिच बढ्दो दूरी पनि देख्छन् । उनका अनुसार स्वतन्त्रताका प्रतिज्ञाहरू वर्तमान यथार्थमा पूर्ण रूपमा रूपान्तरण हुन सकेका छैनन् ।

‘हामीले राजनीतिक स्वतन्त्रताले स्वतः आर्थिक स्वतन्त्रता ल्याउँछ भन्ने सोचेका थियौँ । तर अहिले म आफ्ना नातिनातिनाहरूलाई हामीले नलिएको ऋणको बोझमा महँगीसँग सङ्घर्ष गरिरहेको देख्छु,’ उनले अल जजिरासँग भने । 

धेरै विश्लेषक र युवा अफ्रिकीहरूका लागि अहिले स्वतन्त्रताको अर्थ अर्थतन्त्र, रोजगारी र आर्थिक नियन्त्रणसँग गाँसिएको छ । बहस अब झन्डा, सिमाना र राष्ट्रिय गानबाट हटेर अर्थतन्त्र कसले नियन्त्रण गर्छ, आर्थिक निर्णय कसले गर्छ र विकासको वास्तविक लाभ कसले पाउँछ भन्ने गहिरा प्रश्नतर्फ सरेको छ ।

अफ्रिकाका धेरै देशहरूमा बढ्दो ऋणभार ठुलो चुनौती बनेको छ । सरकारहरूको खर्च गर्ने क्षमता सीमित हुँदै गएको छ । धेरै अवस्थामा वित्तीय नीतिहरू अन्तर्राष्ट्रिय वित्तीय संस्थासँगको वार्ताबाट प्रभावित हुन्छन्, जसले स्वतन्त्र निर्णय गर्ने ठाउँ साँघुरो बनाइदिन्छ ।

त्यसैबिच महादेशभरका सरकारहरू पश्चिमी शक्तिहरू, चीन, उदाउँदा अर्थतन्त्रहरू तथा ब्रिक्सजस्ता समूहसँग सम्बन्ध सन्तुलित गर्न खोजिरहेका छन् । ती सबैले लगानी, ऋण वा रणनीतिक साझेदारी प्रस्ताव गर्छन्, तर तिनसँग आफ्नै अपेक्षा र प्रभाव पनि जोडिएका हुन्छन् ।

  • ऋणको दबाब

‘जब कुनै महादेशले आफूले उत्पादन नगरेको वस्तु उपभोग गर्छ र आफूले उपभोग नगरेको वस्तु उत्पादन गर्छ, तब साँचो मुक्ति सम्भव हुँदैन,’ केन्याको मल्टिमिडिया विश्वविद्यालयको सामाजिक विज्ञान संकायका प्राध्यापक पल म्बाटिया भन्छन् ।

एक समय अवसर, समावेशिता र आर्थिक वृद्धिको स्पष्ट मार्ग मानिएको डिजिटल प्रविधिले अहिले स्वामित्व, नियन्त्रण र दीर्घकालीन निर्भरताबारे गम्भीर प्रश्न उठाउन थालेको छ। प्रणाली कसले बनाउँछ, डाटाको स्वामित्व कसको हुन्छ र डिजिटल अर्थतन्त्रबाट लाभ कसले लिन्छ भन्ने विषय अब केन्द्रीय चिन्ता बन्न थालेका छन् ।

धेरै नीति निर्माताहरूका अनुसार अफ्रिकाको आगामी विकास चरण राजनीतिक विचारधाराभन्दा बढी देशहरूले आफ्ना स्रोत, श्रम र नवप्रवर्तनलाई वास्तविक उद्योगमा रूपान्तरण गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरामा निर्भर हुनेछ । ताकि यसले मूल्य महादेशभित्रै राखोस्, बाहिर निर्यात नगरोस् ।

उनीहरूका अनुसार वास्तविक परीक्षा भनेको यी परिवर्तनहरूले अफ्रिकी अर्थतन्त्र सञ्चालनको संरचनामा अर्थपूर्ण बदलाव ल्याउँछन् कि केवल नीतिगत छलफलमै सीमित रहने वाचा साबित हुन्छन् भन्ने हो ।

  • डिजिटल मोर्चा

त्यो परिवर्तन डिजिटल अर्थतन्त्रमा पनि स्पष्ट देखिन्छ, जहाँ प्रभावका लागि नयाँ संघर्षको मैदान उभिएको छ । 

मोबाइल मनी, कृत्रिम बौद्धिकता (एआई) र डिजिटल पूर्वाधार नाइरोबी, लागोस् र किगालीजस्ता सहरहरूमा तीव्र रूपमा फैलिरहेका छन् । यी सहरहरू अहिले महादेशका प्रमुख प्रविधि केन्द्र र तीव्र परिवर्तनशील डिजिटल परिदृश्यका प्रतीक बनेका छन् ।

तर आलोचकहरूका अनुसार यो वृद्धिका बाबजुद पनि डिजिटल संरचनाको आधारभूत नियन्त्रण अझै अफ्रिकाबाहिरकै शक्तिहरूको हातमा छ । समुद्रमुनिका केबल, डाटा सेन्टर र क्लाउड कम्प्युटिङ प्रणालीहरू प्रायः बहुराष्ट्रिय प्रविधि कम्पनीहरूले निर्माण, लगानी वा स्वामित्व गरेका छन् ।

‘डिजिटल दोहन नवउपनिवेशवादको नयाँ सीमारेखा हो,’ अक्रास्थित अफ्रिकन सेन्टर फर डिजिटल गभर्नेन्सकी प्रविधि नीति विश्लेषक अमिना ओसेई भन्छिन् ।

‘यदि अफ्रिकी डाटा बाहिर लगेर विदेशी सर्भरमा प्रशोधन गरिन्छ र त्यसलाई फेरि हामीले पैसा तिरेर प्रयोग गर्नुपर्ने प्रणालीका रूपमा बेचिन्छ भने, हामीले पुरानो उपनिवेशवादी नियन्त्रणलाई केवल डिजिटल निर्भरताले प्रतिस्थापन गरेका मात्र हौँ । आजको वास्तविक स्वतन्त्रता भनेको आफ्नै प्रविधिको स्वामित्व, आफ्ना डाटाको सुरक्षा र आफ्नै प्लेटफर्म विकास गर्ने क्षमता निर्माण गर्नु हो,’ उनी भन्छिन् ।

इतिहासप्रतिको गर्व र वर्तमानप्रतिको निराशाबिचको यही तनावले अफ्रिका दिवसलाई हेर्ने दृष्टिकोणमा पुस्तागत विभाजन अझ गहिरो बनाएको छ । अफ्रिकाको ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या २५ वर्षमुनिको छ, र धेरै युवाहरूका अनुसार सन् १९६० को उपनिवेशवादविरोधी संघर्षको भाषा आजको बेरोजगारी, महँगी र आर्थिक अनिश्चितताको अनुभवसँग मेल खाँदैन ।

‘साँचो कुरा भन्नुपर्दा, मेरा साथीहरूका लागि अफ्रिका दिवस केवल औपचारिक प्रदर्शनजस्तो लाग्छ,’ लागोसका २६ वर्षीय सफ्टवेयर डेभलपर चिनेदु न्वोसु भन्छन् ।

उनी भन्छन्, ‘हामी स्वतन्त्रता पुस्ताले हासिल गरेको उपलब्धिको सम्मान गर्छौँ, तर त्यसले आजका समस्याहरू समाधान गर्दैन । हाम्रो लागि मुक्ति इतिहासको विषय होइन, हाम्रो दैनिक जीवनलाई असर गर्ने प्रणाली परिवर्तन गर्ने विषय हो ।’

उनका अनुसार युवा अफ्रिकीहरू अब बाह्य शक्तिभन्दा आफ्नै सरकारप्रति बढी जबाफदेहिताको माग गर्न थालेका छन् ।

‘हाम्रो सङ्घर्ष भ्रष्टाचार, खराब शासन, उच्च कर र प्रहरी दुर्व्यवहारविरुद्ध हो । यदि जनता आफ्नै सरकारको दबाबमा सङ्घर्ष गरिरहेका छन् भने स्वतन्त्रताको कुरा गर्न सकिँदैन। हाम्रो लागि मुक्ति भनेको सम्मान र हस्तक्षेपविना निर्माण गर्न सक्ने क्षमता हो,’ उनले भने ।

अधुरो सङ्घर्ष

महादेशभर अफ्रिका दिवस अब केवल उत्सवभन्दा बढी आत्ममूल्यांकन र प्रश्न गर्ने अवसर बन्न थालेको छ । यो महादेशले कति दूरी तय ग¥यो र राजनीतिक स्वतन्त्रतालाई जनजीवनको आर्थिक यथार्थमा रूपान्तरण गर्न अझ कति यात्रा बाँकी छ भन्ने समीक्षा गर्ने क्षण बनेको छ ।

मुक्तिलाई अब पूर्ण रूपमा सम्पन्न ऐतिहासिक घटनाका रूपमा होइन, अझै जारी प्रक्रियाका रूपमा हेरिन थालेको छ । राजनीतिक स्वतन्त्रताले आधार तयार गरे पनि अबको चरण आर्थिक आत्मनिर्भरता, डिजिटल नियन्त्रण र बलियो सार्वजनिक जवाफदेहितामा निर्भर रहने धेरैको तर्क छ ।

अफ्रिकाका स्रोत, नवप्रवर्तन र श्रमले जनजीवनमा वास्तविक सुधार ल्याउन नसकेसम्म मुक्ति सङ्घर्ष अझै अधुरो रहने धेरैको धारणा छ । किमान्थीको शब्दमा ‘झन्डा त हाम्रा हुन्, तर आर्थिक डोरीहरू अझै बाहिरबाट तानिएको जस्तो देखिन्छ ।’

अल जजिराबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिटिले नैतुली
गिटिले नैतुली
लेखकबाट थप