बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विश्वकपअघि मेस्सीलाई चोटको डर, इन्टर मियामीको खेलको बीचमै मैदान छाडे

सोमबार, ११ जेठ २०८३, १३ : ५१
सोमबार, ११ जेठ २०८३

सारांश

  • लियोनेल मेस्सीले इन्टर मियामीको मेजर लिग सकर खेलको ७३औं मिनेटमा बायाँ खुट्टाको पछाडिको भाग समात्दै मैदान छाडेका छन् ।
  • मियामीका प्रशिक्षकले मेस्सीलाई सावधानीका लागि प्रतिस्थापन गरिएको र उनी थकित रहेको बताएका छन् ।
  • मेस्सी २०२२ विश्वकप विजेता हुन् र आगामी विश्वकपमा छैटौँ पटक खेल्ने तयारीमा रहेको अनुमान गरिएको छ ।

काठमाडौँ । लियोनेल मेस्सीलाई विश्वकप सुरु हुनुअघि चोट लाग्ने आशंकाले फेरि चिन्ता बढाएको छ । अर्जेन्टिनाका स्टार फरवार्ड मेस्सीले आइतबार इन्टर मियामीको मेजर लिग सकर (एमएलएस) खेल अवधि बीचमै मैदान छाडेका छन् ।

फिलाडेल्फिया युनियनविरुद्धको खेलमा ३८ वर्षीय मेस्सीले ७३औँ मिनेटमा आफ्नो बायाँ खुट्टाको पछाडिको भाग समात्दै मैदान छाडेका थिए । तर उनी सामान्य रूपमा हिँड्दै सिधै टनेलतर्फ गएको देखिएको थियो ।

मियामीका प्रशिक्षक गुइलेर्मो होयोसले खेलपछि मेस्सीलाई गरिएको प्रतिस्थापन केवल सावधानीका लागि गरिएको बताएका छन् । उनका अनुसार भिजेको मैदान र कठिन खेल परिस्थितिका कारण खेलाडीलाई जोखिम नलिने निर्णय गरिएको हो ।

‘जहाँसम्म मलाई थाहा छ, अहिलेसम्म कुनै मेडिकल रिपोर्ट आएको छैन । तर उनी निकै थाकेका थिए,’ होयोसले भने । ‘उनी थकित थिए, मैदान भारी थियो। यस्तो अवस्थामा सामान्यतया जोखिम नलिनु नै उचित हुन्छ,’ उनले थपे ।

मेस्सी २०२२ विश्वकप विजेता हुन् र आगामी ११ जुनमा सुरु हुने विश्वकपमा उनी खेल्ने कि नखेल्ने विषयमा आधिकारिक घोषणा गरेका छैनन् । तर उनी छैटौँ पटक विश्वकप खेल्ने तयारीमा रहेको अनुमान गरिएको छ ।

अर्जेन्टिनाको राष्ट्रिय टोली आगामी हप्ता सार्वजनिक गरिनेछ भने टोलीले १६ जुनमा अल्जेरियाविरुद्ध आफ्नो पहिलो खेल खेल्नेछ ।

२०२३ मा इन्टर मियामीमा आबद्ध भएयता आठ पटकका बालोन डी’ओर विजेता मेस्सीले आफ्नो खेल समय सावधानीपूर्वक व्यवस्थापन गर्दै आएका छन् ।

 तर यसबीच उनले ह्यामस्ट्रिङसम्बन्धी समस्याका कारण केही खेलहरू गुमाइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप