संविधान संशोधनमा हिन्दु राष्ट्र, राजसंस्था र प्रदेश खारेजीको विषय समेट्न माग
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले संविधान संशोधनमा हिन्दु राष्ट्र, राजसंस्था र प्रदेश संरचनाको पुनरावलोकन समेट्न माग गरेकी छन्।
- ओलीले संविधान संशोधन कार्यदलको मस्यौदामा यी विषय नपरेकोमा आपत्ति जनाउँदै आम नागरिकको आवाजलाई सरकारले बेवास्ता गरेको आरोप लगाइन्।
- उनले संविधान संशोधनको अन्तिम मस्यौदामा मागहरू सम्बोधन नभए राष्ट्रवादी शक्ति र सनातन धर्मावलम्बीहरू संघर्षमा उत्रिने चेतावनी दिइन्।
काडमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले संविधान संशोधनको प्रक्रियामा सनातन हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था र प्रदेश संरचनाको पुनरावलोकन जस्ता विषयहरूलाई अनिवार्य रूपमा समेट्न सरकारसँग माग गरेकी छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक ओलीले संविधान संशोधनका लागि गठित कार्यदलको प्रारम्भिक मस्यौदामा यी महत्त्वपूर्ण विषयहरू नपरेको भन्दै आपत्ति जनाएकी हुन्।
उनले वैदिक सनातन धर्म, राजसंस्था र प्रदेश खारेजीको पक्षमा रहेका आम नागरिकको आवाजलाई सरकारले जनताको सुझावका रूपमा स्वीकार नगरेको आरोप लगाइन्। विगतमा लिइएका जनताका सुझावहरूलाई बेवास्ता गरी थन्क्याइएको स्मरण गर्दै यसपटक पनि जनभावनालाई डिजिटल बोरामा थन्क्याउने प्रयास नगर्न उनले सरकारलाई सचेत गराइन्। ओलीले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्दा पर्याप्त राष्ट्रिय बहस र जनअभिमत नलिइएको दाबी समेत गरिन्।
बैठकमा बोल्दै प्रमुख सचेतक ओलीले भनिन्, ‘वैदिक हिन्दु र बौद्ध सहितको सनातन राष्ट्र हुनुपर्छ भन्ने नागरिकहरू सरकारको नजरमा जनता हुन् कि होइनन् ? धर्मनिरपेक्षताको आडमा पछिल्लो समय गरिबी र पछौटेपनको फाइदा उठाएर तीव्र रूपमा धर्मान्तरण भइरहेको छ, के सरकारले यो दृश्य देख्दैन ?’
उनले राजसंस्थाको विषयमा इन्स्टिच्युसनल (संस्थागत) तहमा पर्याप्त दार्शनिक र ऐतिहासिक बहस हुनुपर्नेमा जोड दिइन्। प्रदेश सरकार आर्थिक रूपमा बोझिलो भएको उल्लेख गर्दै उनले यसको औचित्यमाथि पुनरावलोकन गर्नुपर्ने माग समेत गरिन्।
प्रमुख सचेतक ओलीले संविधान संशोधनको अन्तिम मस्यौदामा यी मागहरू सम्बोधन नभए देशभरका राष्ट्रवादी शक्तिहरू र सनातन धर्मावलम्बीहरू निर्णायक संघर्षमा उत्रिने चेतावनी दिएकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण