अमेरिकाको निस्कासन–उडानका कारण जलवायु संकट गहिरिँदै, कार्बन उत्सर्जनमा तीव्रता
सारांश
- अमेरिकाले आप्रवासी नियन्त्रण र निष्कासनका लागि सञ्चालन गरिरहेका उडानहरूले ठुलो मात्रामा कार्बन उत्सर्जन गरिरहेको नयाँ अध्ययनले देखाएको छ ।
- सन् २०२५ मा अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन निकायका हवाई अपरेसनबाट ३ लाख ३५ हजार ८७६ टन कार्बन उत्सर्जन भएको थियो, जुन अघिल्लो वर्षको तुलनामा ८८ प्रतिशतले बढी हो ।
- अनुसन्धानकर्ताहरूका अनुसार आप्रवासीहरूलाई विभिन्न हिरासत केन्द्रमा लैजान र देश निकाला गर्न दैनिक दर्जनौं उडान सञ्चालन भइरहेका छन् ।
वासिङ्टन डीसी । अमेरिकाले आप्रवासी नियन्त्रण र निष्कासनका लागि सञ्चालन गरिरहेका उडानहरूले ठुलो मात्रामा कार्बन उत्सर्जन गरिरहेको नयाँ अध्ययनले देखाएको छ ।
विशेषगरी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी निष्कासन अभियानसँगै ती उडानहरूको संख्या तीव्र रूपमा बढ्दा जलवायु संकट थप गम्भीर बनेको अनुसन्धानकर्ताहरूले बताएका छन् ।
द गार्जियनले उल्लेख गरेको तथ्यांकअनुसार अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन निकाय यूएस इमिग्रेसन एण्ड कस्टम्स इनफोर्समेन्टका हवाई अपरेसनबाट सन् २०२५ मा करिब ३ लाख ३५ हजार ८७६ टन कार्बन उत्सर्जन भएको थियो । यो अघिल्लो वर्षको तुलनामा ८८ प्रतिशतले बढी हो ।
मानवअधिकार संस्था ह्युमन राइट्स फस्ट एवम् सामाजिक न्यायसम्बन्धी संस्था अमेरिकन फ्रेन्ड्स सर्भिस कमिटीले गरेको विश्लेषणअनुसार २०२६ को पहिलो चार महिनामै आईसीई उडानहरूले १ लाख ३९ हजार ५९४ टन कार्बन उत्सर्जन गरिसकेका छन् । यही दर कायम रहे २०२६ मा उत्सर्जन झन् २५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।
अनुसन्धानकर्ताहरूका अनुसार आप्रवासीहरूलाई देशभित्रका विभिन्न हिरासत केन्द्रमा लैजान र विश्वका विभिन्न देशमा निष्कासन गर्न दैनिक दर्जनौं उडान सञ्चालन भइरहेका छन् । अहिले औसतमा २२ वटा विमानले दैनिक ५८ वटा निष्कासन वा स्थानान्तरण उडान गर्ने गरेको बताइएको छ ।
मानवअधिकारकर्मी सवित्री आर्भेले ‘अमेरिकी आप्रवासन उडानमा अभूतपूर्व वृद्धि भएको’ बताउँदै यसले वातावरणीय संकटलाई थप चर्काएको टिप्पणी गरिन् ।
प्रतिवेदनले आप्रवासीहरूलाई परिवारबाट टाढा लगिने, पर्याप्त कानुनी प्रक्रियाबिना उडानमा चढाइने तथा लामो दूरीका उडानमा हातखुट्टा बाँधिने जस्ता अमानवीय व्यवहारसमेत भइरहेको जनाएको छ ।
सन् २०२५ मा मात्र अमेरिकी प्रशासनले २४५ वटा निष्कासन उडान सञ्चालन गरेको थियो, जुन अहिलेसम्मकै उच्च संख्या हो । तीमध्ये धेरै आप्रवासी आपराधिक अभियोगमा दोषी नरहेको प्रतिवेदनमा उल्लेख छ ।
वातावरणविद्हरूले यी उडानले स्थानीय समुदायमा समेत गम्भीर असर पारिरहेको चेतावनी दिएका छन् । विमानस्थल वरपरको वायु प्रदूषणले फोक्सोसम्बन्धी रोग, ब्रोंकाइटिस र समयअगावै मृत्युको जोखिम बढाउन सक्ने स्ट्यानफोर्ड विश्वविद्यालयका प्राध्यापक मार्क जेकबसनले बताएका छन् ।
अध्ययनले जलवायु परिवर्तन स्वयं आप्रवासनको एक प्रमुख कारण भएको उल्लेख गर्दै अमेरिकी नीतिले अझ बढी प्रदूषण सिर्जना गरेर ‘दुष्चक्र’ निर्माण गरिरहेको जनाएको छ ।
यसबिच अमेरिकी गृह सुरक्षा विभागले भने निष्कासन उडानमा अपनाइने सुरक्षा प्रक्रिया कानुनी र आवश्यक भएको दाबी गरेको छ । विभागले विमानमा कैदीलाई बाँध्ने अभ्यास ‘सुरक्षा सुनिश्चित गर्न अपनाइने मानक प्रक्रिया’ भएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण