‘मैले पढेको जेरियाट्रिक्स विधा आफ्नै देशका बुवाआमाहरूलाई काम लाग्नुपर्छ भनेर फर्किएँ’
सारांश
- जेरियाट्रिक्स (ज्येष्ठ नागरिक स्वास्थ्य विशेषज्ञ) डा. जगदीशकुमार क्षेत्रीले २५ वर्ष विदेशमा बिताएपछि नेपाल फर्केर मनमोहन मेमोरियल मेडिकल कलेजमा नेपाल जेरियाट्रिक्स सेन्टर स्थापना गरेका छन्।
- डा. क्षेत्रीले चीनमा एमबीबीएसदेखि पीएचडीसम्मको अध्ययन र फ्रान्स तथा अमेरिकामा फेलोसिप गरेपछि नेपालमा ज्येष्ठ नागरिकका लागि विशेषज्ञ स्वास्थ्य सेवा सुरु गरेका हुन्।
- उनको लक्ष्य नेपालमा विश्वस्तरीय जेरियाट्रिक इन्स्टिच्युट स्थापना गर्नु हो, जसले उपचार, अनुसन्धान र पुनर्वासका लागि एकीकृत सुविधा प्रदान गर्नेछ।
काठमाडौँ । उन्नत र सुविधा सम्पन्न ठाउँमा रहन चाहनु मानवीय स्वभाव नै हो । तर कतिपय व्यक्तिलाई सुविधा र उन्नत प्रविधिले होइन, आफू जन्मिएको माटो र संस्कृतिको सुगन्धले सधैं तान्छ । जेरियाट्रसियन (ज्येष्ठ नागरिक स्वास्थ्य विशेषज्ञ) डा. जगदीशकुमार क्षेत्रीलाई पनि विकसित देशको उन्नत प्रणाली र सुविधाले सधैँ आकर्षित गरिरहेन, आफूले सिकेको ज्ञान र सीपलाई स्वदेशमै ‘इम्प्लिमेन्ट’ गर्ने हुटहुटीले नेपाल फर्कायो ।
हाल मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल अन्तर्गतको नेपाल जेरियाट्रिक्स सेन्टरका निर्देशक छन् डा. क्षेत्री । ज्येष्ठ नागरिकलाई सम्पूर्ण उपचार दिने उद्देश्यले नेपालमै पहिलोपटक स्थापना गरिएको ‘नेपाल जेरियाट्रिक्स सेन्टर’को अवधारणा उनैले बनाएका हुन् ।
चीनमा एमबीबीएसदेखि पीएचडीसम्मको अध्ययन, फ्रान्स र अमेरिकाका विभिन्न अस्पतालमा फेलोसिप, काम र अध्यापन समेत गरेका डा. क्षेत्रीको शैक्षिक पृष्ठभूमि र कार्य अनुभव निकै प्रेरणादायी लाग्छ । उनी पेरियाट्रिक्स अर्थात् ज्येष्ठ नागरिक स्वास्थ्य विषयमा विद्यावारिधि गर्ने हालसम्मका एक मात्र नेपाली हुन् । अध्ययन र कामको सिलसिलामा २५ वर्ष देश बाहिरै बिताएका डा. क्षेत्रीले त्यहाँ पढेको र सिकेको ज्ञानलाई नेपालमा भित्र्याउन चाहे । त्यसैको प्रतिफलस्वरुप निकै लामो संघर्षपछि नेपाल ज्येष्ठ नागरिक स्वास्थ्य केन्द्र अर्थात् नेपाल जेरियाट्रिक्स सेन्टर स्थापना गर्न सफल भए ।
रातोपाटी पडकास्ट ‘टक फर्वार्ड’मा अन्तर्वार्ताको सुरूमै उनलाई सोधियो- २५ वर्ष देश बाहिरै बिताएर स्वदेश फर्कनुभयो । धेरै विज्ञहरू बाहिरै पलायन भइरहेका बेला तपाईं चाहिँ किन फर्कनुभयो ?

यस प्रश्नलाई केहीबेर गमेपछि उनले जवाफ दिए, ‘यो प्रश्न मलाई धेरैले सोध्ने गर्छन् । वास्तवमा मेरो विशेषज्ञता नै ज्येष्ठ नागरिक स्वास्थ्य अर्थात् जेरियाट्रिक्स हो । म १८ वर्षको उमेरमा चीन गएको थिएँ र करिब २५ वर्ष विदेशका विभिन्न विश्वविद्यालय र अस्पतालहरूमा बिताएँ । चीनमा मलाई 'गोल्डेन भिसा' दिइएको थियो, पेकिङ युनिभर्सिटीमा भाइस एचओडी र एसोसिएट प्रोफेसरका रूपमा काम गरिरहेको थिएँ । तर मेरो मनमा सधैँ एउटा कुरा खेलिरहन्थ्यो- मैले पढेको यो विधा आफ्नै देशका बुवाआमा र ज्येष्ठ नागरिकका लागि कहिले काम लाग्छ ?’
उनले अगाडि भन्दै गए, ‘बाहिर बसेर विदेशीलाई सेवा दिनु एउटा कुरा हो, तर आफ्नै माटोका अभिभावकहरू स्वास्थ्य सेवा नपाएर छटपटिएको देख्दा मनमा खिन्नता हुन्थ्यो । सन् २०१७ मा म फ्रान्सबाट फर्किएर नेपालमै केही गर्न खोजेको थिएँ, तर सरकारी प्रक्रिया र केही प्राविधिक कारणले पहिलो प्रयास सफल भएन । त्यसपछि फेरि पीएचडीका लागि चीन गएँ । अन्ततः कोभिडको समयमा म पूर्ण रूपमा नेपाल फर्किएँ । मेरो उद्देश्य भनेको ज्येष्ठ नागरिकको स्वास्थ्य सेवामा एउटा नयाँ र व्यवस्थित प्रणालीको सुरुवात गर्नु हो ।‘
हुन त ‘पेडियाट्रिक्स’ धेरै सुनेका नेपालीहरूका लागि ‘जेरियाट्रिक्स’ शब्द आफैँमा नौलो पनि लाग्न सक्छ । किनकि ज्येष्ठ नागरिकका लागि छुट्टै विशेषज्ञ सेवा दिने स्वास्थ्य संस्था पनि यसअघि देशमा उपलब्ध थिएनन् ।
जेरियाट्रिसियन डा. क्षेत्रीसँग ज्येष्ठ नागरिकको स्वास्थ्य समस्या, जेरियाट्रिक्स सेन्टर स्थापनाको कथा, नेपालको स्वास्थ्य प्रणाली र आम नागरिकले भोग्नुपरेका समस्यादेखि चिकित्सकीय जीवनको धपेडी र सन्तुलनसम्मका विषयमा कुराकानी गरिएको छ । प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न-सुन्न सकिन्छ) :
एक जनरल फिजिसियनले हेर्ने र तपाईं जस्तो ज्येष्ठ नागरिक स्वास्थ्य विशेषज्ञले बिरामीलाई हेर्ने तरिकामा के फरक हुन्छ ?
यो निकै महत्वपूर्ण प्रश्न हो । हाम्रो वर्तमान चिकित्सा प्रणाली मुख्यतया युवा र वयस्क जनसंख्यालाई केन्द्रित गरेर बनाइएको छ । हामी एमबीबीएसमा एकपटकमा एउटा रोगलाई मात्र प्राथमिकता दिएर उपचार गर्न सिक्छौँ । तर ज्येष्ठ नागरिकको हकमा यो मोडलले काम गर्दैन । एउटा ज्येष्ठ नागरिक अस्पताल आउँदा उहाँसँग कम्तीमा पनि चार-पाँचवटा स्वास्थ्य समस्या जेलिएका हुन्छन् । उहाँलाई सुगर र प्रेसर मात्र हुँदैन, साथमा बिर्सने रोग (डिमेन्सिया), मांसपेशीको कमजोरी, पोषणको अभाव र मानसिक तनाव पनि हुन्छ ।

उहाँहरूको एउटा रोगको उपचार गर्दा चलाइएको औषधिले अर्को अंगलाई असर गरिरहेको हुन सक्छ । यसलाई हामी 'पोलिफार्मेसी' समस्या भन्छौँ । जेरियाट्रिक्सले बिरामीलाई एउटा रोगको रूपमा मात्र होइन, एउटा पूर्ण 'मानव' का रूपमा हेर्छ । उहाँको आँखा, कान, हिँडडुल गर्ने क्षमता, ब्यालेन्स र मस्तिष्कको कार्यक्षमता यी सबैलाई एकीकृत रूपमा मूल्याङ्कन गरेर मात्र उपचार गरिन्छ ।
तपाईंको अगुवाइमा मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा 'नेपाल जेरियाट्रिक्स सेन्टर' स्थापना भएर सेवा सुरू भइसकेको छ । यहाँ बिरामी आएपछि कस्तो उपचार प्रक्रिया अपनाइन्छ ?
हाम्रो सेन्टरमा हामीले 'कम्प्रिहेन्सिभ जेरियाट्रिक एसेस्मेन्ट'लाई प्राथमिकता दिएका छौँ । बिरामी आउनुभएपछि हामी उहाँको मेडिकल हिस्ट्री मात्र होइन, विस्तृत शारीरिक र मानसिक जाँच गर्छौँ । हामीले नेपालमै पहिलो पटक एआईमा आधारित 'आई स्क्यान' प्रविधि ल्याएका छौँ । यसले बिरामीको आँखाको स्क्यानकै भरमा उहाँको शरीरमा भविष्यमा हुन सक्ने स्वास्थ्य जोखिमहरूको पूर्वानुमान गर्छ ।
यसबाहेक हामी बिरामीको मांसपेशीको शक्ति, लड्ने जोखिम र पोषणको स्तर पनि जाँच गर्छौँ । हाम्रो टोलीमा जेरियाट्रिसियन, नर्स, न्युट्रिसियन र जेरियाट्रिक फर्मासिस्टहरू सँगै बसेर बिरामीको लागि एउटा एकीकृत 'केयर प्लान' बनाउँछौँ । हामी ज्येष्ठ नागरिक बिरामीले खाइरहेका अनावश्यक औषधिहरू घटाउन मद्दत गर्छौँ, किनकि धेरै औषधि आफैँमा एउटा रोग बन्न सक्छ ।
अस्पतालको निकै आकर्षक स्लोगन रहेछ- '६० मा बलियो, ८० मा सक्रिय र १०० मा आत्मनिर्भर' । यसलाई अलि बुझाइदिनुस् न ।
अहिले नेपालीको औसत आयु ७२ वर्ष छ, तर काठमाडौँलगायत ठुला सहरहरुमा ८०-८५ वर्षसम्म बाँच्ने मानिसहरू धेरै हुनुहुन्छ । हाम्रो दर्शन के हो भने ६० वर्षको उमेरमा आफ्नो स्वास्थ्यलाई बलियो बनाउन बेलैमा जाँच गरौँ । ८० वर्ष पुग्दा पनि घरको कुनामा थन्किएर होइन, सक्रिय भएर बाँचौँ । १०० वर्ष पुग्दा अरूको सहारामा दिसा-पिसाब गर्नुपर्ने अवस्था नआओस्, आफैँ आत्मनिर्भर हुन सकियोस् । यो तब सम्भव हुन्छ जब हामी कमजोरीलाई त्यत्तिकै छोड्दैनौँ । सानो कमजोरी देखिँदैमा त्यसलाई सुधार गर्यौँ भने वृद्ध अवस्था पनि निकै सुखद हुन सक्छ । तर अहिले हाम्रो समाजमा वृद्ध हुनुलाई 'मूल्यहीन' हुनुको रूपमा हेरिन्छ, जसलाई हामीले बदल्नुपर्छ ।
नेपालमा अहिले वैदेशिक रोजगारीका कारण घर-घरमा ज्येष्ठ नागरिकहरू एक्लिएका छन् । छोराछोरी विदेशमा, घरमा वृद्ध बुवाआमा मात्र । यो 'लोन्लिनेस'ले ज्येष्ठ नागरिकको मानसिक र शारीरिक स्वास्थ्यमा कस्तो असर पारिरहेको छ ?
यो निकै गम्भीर समस्या हो । संयुक्त परिवारमा बस्ने हाम्रो संस्कार हो । हिजोसम्म नातिनातिना र छोराछोरीको बिचमा बसेका अभिभावकहरू आज अचानक घरमा एक्लो हुँदा उनीहरूमा मानसिक र भावनात्मक समस्या देखा परिरहेका छन् । एक्लोपनले डिप्रेसन मात्र होइन, डिमेन्सियाको जोखिम पनि बढाउँछ । विदेशमा 'सर्कल अफ फ्रेन्ड्स' जस्ता अवधारणा छन्, जहाँ ज्येष्ठ नागरिकहरू भेट्ने, गफिने र सक्रिय रहने समूहहरू हुन्छन् । नेपालमा पनि हामीले ज्येष्ठ नागरिकहरूका लागि 'सिनियर सिटिजन युनिभर्सिटी' जस्ता अवधारणा ल्याउनुपर्छ ।

रिटायर्ड भएपछि पनि उनीहरूले नयाँ कुरा सिक्ने, साथीभाइ बनाउने र आफ्नो अनुभव साटासाट गर्ने वातावरण पाउनुपर्छ । वडा तहदेखि नै यस्ता सक्रिय केन्द्रहरू आवश्यक छन् ।
नीतिगत कुरा गर्दा पहिले ज्येष्ठ नागरिक मन्त्रालय छुट्टै थियो, अहिले नयाँ सरकार आएपछि यो नाम हटाएर अरू नै बनाइएको छ । यसलाई कसरी लिनुहुन्छ ?
मलाई लाग्छ, ज्येष्ठ नागरिक मन्त्रालयलाई अरू मन्त्रालयसँग गाभ्दा कतै न कतै उनीहरूको विशिष्ट पहिचान र अपनत्व हराएको छ । अहिले महिला, बालबालिका, युवा लैंगिक तथा यौनिक अल्पसंख्यकलाई समेट्न गरी मन्त्रालय राखिएको छ, तर ज्येष्ठ नागरिक शब्द हटाइएको देखिन्छ । नेपालमा झण्डै १२ प्रतिशत जनसंख्या ६० वर्ष माथिको छ । यति ठुलो र आदरणीय जनसंख्याका लागि राज्यले अलि बढी अभिभावकत्व देखाउनुपर्थ्यो ।
राज्यले ज्येष्ठ नागरिकका लागि दिने भत्तालाई उनीहरूको स्वास्थ्य सुधारमा कसरी जोड्न सकिन्छ ?
राज्यले अहिले वृद्ध बिरामीलाई गम्भीर रोग लागेपछि एक लाख वा डेढ लाख रुपैयाँसम्मको अनुदान दिन्छ । यदि हामीले उनीहरूलाई मासिक ४ हजार रुपैयाँको भत्ताबाटै वर्षको एक-दुई पटक विस्तृत स्वास्थ्य जाँच गराउन प्रोत्साहन गर्ने हो भने रोग जटिल अवस्थामा पुग्नु अगाडि नै पत्ता लाग्छ । रोग अगाडि नै पत्ता लाग्नु भनेको अस्पतालको खर्च बच्नु र राज्यको बजेट पनि बच्नु हो ।
प्रिभेन्टिभ हेल्थ केयरमा लगानी गर्नु नै राज्यका लागि सबैभन्दा ठुलो फाइदाको कुरा हो । भोलि सबै ज्येष्ठ नागरिकहरू ओछ्यान पर्ने अवस्था आयो भने राज्यले त्यसको भार थाम्न सक्दैन । त्यसैले उनीहरूलाई आत्मनिर्भर र सक्रिय बनाउनु नै आर्थिक हिसाबले पनि बुद्धिमानी हो ।
नेपालको वर्तमान स्वास्थ्य प्रणालीमा आम मानिसको पहुँच र सरकारी अस्पतालको भिडभाडका बारेमा तपाईंको धारणा के छ ? कसरी सबैका लागि गुणस्तरीय स्वास्थ्य सेवा सम्भव बनाउन सकिन्छ ?
अहिले सरकारी अस्पतालमा थामिनसक्नु भिड छ । एउटा ज्येष्ठ नागरिकका लागि घण्टौँ लाइन बस्नु आफैँमा ठुलो सास्ती हो । मेरो विचारमा यसको समाधान 'कम्युनिटी हेल्थ सेन्टर' हरूलाई बलियो बनाउनुमा छ । चीनमा कम्युनिटी हेल्थ सेन्टरहरू निकै बलिया छन्, जहाँ बिरामीको पहिलो उपचार हुन्छ । त्यहाँबाट सम्भव नभए मात्र ठुला अस्पताल पठाइन्छ । नेपालमा पनि वडा तहका स्वास्थ्य चौकीहरूलाई आधुनिक बनाउनुपर्छ ।

अर्को कुरा, सामाजिक सुरक्षा कोषलाई ज्येष्ठ नागरिकको स्वास्थ्य बिमासँग व्यवस्थित ढंगले जोड्नुपर्छ । पैसा नभएका कारण उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ ।
ज्येष्ठ नागरिक स्वास्थ्यका लागि अबका तपाईंका सपना र योजना के छन् ?
मेरो सपना निकै ठुलो छ । म नेपालमा एउटा 'वर्ल्ड क्लास जेरियाट्रिक इन्स्टिच्युट' स्थापना गर्न चाहन्छु, जहाँ ज्येष्ठ नागरिकको उपचार मात्र होइन, अध्ययन, अनुसन्धान र रिह्याबलिटेसनका सबै सुविधा एउटै छानामुनि प्राप्त होस् । म सरकारसँग पैसा भन्दा पनि काम गर्ने वातावरण र सम्भव भए जग्गाको सहयोग खोजिरहेको छु । अबको २० वर्षमा नेपाल एउटा 'एजिङ सोसाइटी' बन्दैछ । यदि हामीले अहिले नै तयारी गरेनौँ भने पछि आउने स्वास्थ्य चुनौतीहरू हामीले थाम्न सक्दैनौँ ।
म चाहन्छु, हरेक प्रदेशमा ज्येष्ठ नागरिकका लागि विशिष्टीकृत अस्पतालहरू बनुन् । यो विधामा काम गर्ने जनशक्ति उत्पादन हुन सकोस् ।
ज्येष्ठ नागरिक, तिनका परिवार र स्वास्थ्य मन्त्रालयलाई तपाईंको विशेष सन्देश केही छ ?
आदरणीय ज्येष्ठ नागरिकहरूलाई मेरो सन्देश हो- आफ्नो स्वास्थ्यको नियन्त्रण आफैँ लिनुस्, सक्रिय हुनुस् र केही समस्या देखिने बित्तिकै जाँच गराउनुस् । परिवारका सदस्यहरूलाई मेरो आग्रह छ- आफ्ना अभिभावकलाई रोग लागेपछि मात्र होइन, रोग लाग्न नदिन बेलैमा ध्यान दिनुस् र उहाँहरूलाई घरका हरेक गतिविधिमा सहभागी गराउनुस् । र, स्वास्थ्य मन्त्रालयलाई मेरो सुझाव छ- भविष्यमा आउने 'एजिङ क्राइसिस' लाई मध्यनजर गर्दै अहिलेदेखि नै नीतिगत र पूर्वाधारको तयारी सुरू गर्नुपर्छ । बाढी आउनु अगाडि नै बाँध बाँधौँ, ताकि पछि कसैले पनि पछुताउनु नपरोस् ।
भिडियो/फोटो : मनोज खड्का, आयुष धामी/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवका आयोजनामा ढिलासुस्ती र बजेट छर्ने प्रवृत्तिप्रति सांसदहरूको आपत्ति, योजना आयोगको पुनर्संरचना माग
-
राजधानीका तीन सञ्चार गृहका गेटमा शंकास्पद सवारी साधन पार्किङ भेटिएसँगै प्रहरीद्वारा अनुसन्धान सुरु
-
नेपाली कांग्रेसभित्र असन्तुष्टि किन ?
-
ठुला आयोजनाले उत्पादन र रोजगारी बढाउन सकेनन् : सांसद तामाङ
-
पुँजीगत खर्च बढाउने रणनीतिक बनाउँदैछौँ : प्रवक्ता लम्साल
-
संस्कृतिविद् डा. आनाले वाचन गरिन् रामायणको श्लोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण