सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संस्कृतिविद् डा. आनाले वाचन गरिन् रामायणको श्लोक

सोमबार, २९ असार २०८३, ११ : ४६
सोमबार, २९ असार २०८३

सारांश

  • आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती काठमाडौँमा एक कार्यक्रम गरी मनाइएको छ।
  • कार्यक्रममा संस्कृतिविद् डा. आना एम सिस्टरले भानुभक्तले नेपालीमा उल्था गरेको रामायणको एउटा श्लोक वाचन गरेर सुनाइन्।
  • भानुभक्तका कृतिहरू नेपाली साहित्यका अमूल्य निधि मानिन्छन् र उनको योगदानले नेपाली भाषालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाएको छ।

काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती सोमबार बिहान काठमाडौँमा एक कार्यक्रम गरी मनाइएको छ। नेपाली भाषालाई एकताको सूत्रमा गाँस्न विशिष्ट योगदान पुऱ्याएका आचार्यको स्मरणमा आज देशभरका साहित्यिक संघ–संस्था, विद्यालय तथा विश्वविद्यालयहरूले विशेष कार्यक्रमको आयोजना गरेका छन्। 

विक्रम संवत १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका आचार्यले संस्कृतमा रहेको रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरी आम जनमानसमा पुऱ्याएका थिए। नेपाली भाषाको उत्थान र साहित्यको विकासमा उनले पुऱ्याएको अतुलनीय योगदानको कदर गर्दै हरेक वर्ष असार २९ गतेलाई भानु जयन्तीका रूपमा मनाउने गरिन्छ। 

यस अवसरमा आज काठमाडौँको रानीपोखरीस्थित उनको पूर्णकदको प्रतिमामा माल्यार्पण गरिनुका साथै विभिन्न साहित्यिक गोष्ठी, काव्य वाचन तथा प्रवचन कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। कार्यक्रममा बोल्दै नेपाली लोक साहित्य संस्कृति र नेपाली भाषाको प्रवर्धनमा महत्त्वपूर्ण योगदान पुऱ्याएकी संस्कृतिविद् डा. आना एम सिस्टरले आफू २० वर्षअघि विद्यार्थी भएर पहिलो चोटि नेपाल आएको बताइन् । उनले भनिन्, ‘म २० वर्ष अगाडी विद्यार्थी भएर आएँ नेपालमा पहिलो चोटी।’ 

त्योभन्दा अगाडि आफूलाई पठाएको क्यासेटबाट अलिकति मात्रै नेपाली भाषा सिकेको उल्लेख गर्दै उनले भनिन्, ‘सिक्दै गएँ, तर पनि कहिले पनि सोचेको थिइनँ कि यस्ता सम्मान प्राप्त गर्ने ठाउँमा पुग्ने थिएँ।’ यो आफ्नो लागि धेरै ठुलो कुरा भएको उनले बताइन्। 

उनले थपिन्, ‘अनि अहिले भानु प्रतिष्ठानको अध्यक्ष दिव्य अर्यालको अनुरोध अनुसार म कोशिस गर्छु, अलिकति भानुभक्त रामायणको दोस्रो लाइन गाउनलाई।’ उक्त अवसरमा उनले भानुभक्तले नेपालीमा उल्था गरेको रामायणको एउटा श्लोक समेत वाचन गरेर सुनाइन् भने एउटा गीत समेत गाएर प्रस्तुत गरिन्। विदेशीको नेपाली भाषा र संस्कृतिप्रतिको मोहलाई आनाको सुस्पष्ट भाषा र लयबद्ध वाचनले पनि प्रष्ट पारेको छ।

भानुभक्तका ‘रामायण’, ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’ र ‘रामगीता’ लगायतका कृतिहरू नेपाली साहित्यका अमूल्य निधि मानिन्छन्। नेपालका साथै दार्जिलिङ, सिक्किम लगायत नेपाली भाषीहरूको बाहुल्यता रहेका स्थानहरूमा पनि भानु जयन्तीलाई विशेष उत्सवका रूपमा मनाउने गरिन्छ। भानुभक्तको योगदानले नै नेपाली भाषालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउन महत्त्वपूर्ण भूमिका खेलेको साहित्यकारहरूको ठम्याइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप