शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

चोरेरै किने घर र गाडी, सम्पत्ति शुद्धीकरणमा मुद्दा

मङ्गलबार, १२ जेठ २०८३, १८ : २६
मङ्गलबार, १२ जेठ २०८३

सारांश

  • काठमाडौँका विभिन्न स्थानमा शृङ्खलाबद्ध रूपमा ठुलो परिमाणको धनमाल चोरी गर्ने अभियुक्त प्रेम थारूविरुद्ध जिल्ला अदालत काठमाडौँमा दुई वटा छुट्टाछुट्टै मुद्दा दर्ता गरिएको छ ।
  • थारूविरुद्ध प्रहरीले चोरीसँगै सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दर्ता गरेको हो ।
  • अभियुक्तले चोरीको धनमालबाट आय आर्जन गरी घर, जग्गा, गाडी लगायतको धनसम्पत्ति जोडी सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूर गरेकाले सोहीअनुसार कारबाही हुनुपर्ने ।

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा शृङ्खलाबद्ध रूपमा ठुलो परिमाणको धनमाल चोरी गर्ने अभियुक्त प्रेम थारूविरुद्ध जिल्ला अदालत काठमाडौँमा दुई वटा छुट्टाछुट्टै मुद्दा दर्ता गरिएको छ ।

काठमाडौँको बौद्ध र भोटबहालमा भएका दुई ठुला चोरीमा थारूको प्रत्यक्ष संलग्नता देखिएपछि जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध चोरी (नकबजनी मुद्दामा अभियोग पत्र दायर गरेको छ । साथै प्रहरीले सम्पत्ति शुद्धीकरणमा कसुरमा मुद्दा अघि बढाइएको छ । उनीविरुद्ध अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकील कार्यालय काठमाडौँमार्फत जिल्ला अदालतमा दर्ता भएको छ ।

थारूविरुद्ध प्रहरीले चोरीसँगै सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दर्ता गरेको हो ।

जिल्ला सरकारी वकील कार्यालयले दुवै मुद्दामा थारूलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २४३ (नकबजनी चोरी) अनुसार हदैसम्मको सजाय माग गरेको छ । साथै, उनी पेशेवर र शृङ्खलाबद्ध चोर भएको देखिएकाले दफा ४४ बमोजिम थप सजायको समेत मागदाबी गरिएको छ । थारूले प्रहरी र पीडितलाई झुक्याउन 'सुप्रिम विकास चौधरी' र 'सौरभ चौधरी'जस्ता नक्कली नाम र पहिचान प्रयोग गर्दै आएको समेत खुलासा भएको छ । 

थारूले काठमाडौँको बौद्धस्थित तेन्जिङ डोल्मा नेपालीको घरबाट ८० लाख र भोटबहालस्थित राम कुमार पण्डितको घरबाट ८० लाख गरी करिब १ करोड ६० लाख रुपैयाँ बराबरको चोरी गरेका थिए । उनले चोरी गरेका सुनका गहनाहरूलाई भारतका विभिन्न सहरमा पुर्‍याएर गाल्ने र बिक्री गर्ने गरेका थिए ।

यसरी अवैध चोरीबाट आर्जित रकमलाई घर, जग्गा, गाडी र बैंक खातामार्फत वैध बनाउन खोजेकाले उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा आकर्षित भएको हो । अभियोग पत्रमा भनिएको छ, 'अभियुक्तले चोरीको धनमालबाट आय आर्जन गरी घर, जग्गा, गाडी लगायतको धनसम्पत्ति जोडी सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूर गरेकाले सोहीअनुसार कारबाही हुनुपर्ने ।'

चोरीको रकमबाट अस्वाभाविक रूपमा घर, गाडी र जग्गा खरिद गरेको पाइएपछि उनीमाथि सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार कारबाही अघि बढाइएको हो । प्रहरी र सरकारी वकील कार्यालयको अनुसन्धानबाट खुलेअनुसार, विगत केही वर्षदेखि काठमाडौँलाई कार्यक्षेत्र बनाएर चोरी धन्दा चलाइरहेका थारूले चोरीकै पैसाबाट विलासी जीवन बिताउने गरेको पाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप